कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी

काठमाडौँ । काठमाडौँ उपत्यकामा भाडाका लागि कोठा खोज्न भौँतारिनु निकै पट्यारलाग्दो हुन्छ । सूचना–प्रविधिको युगमा गल्ली–गल्ली चहारेर कोठा खोज्नुभन्दा निश्चित कमिसन दिएर आफूले चाहेको एरियामा कोठा पाइन्छ भने जो पनि त्यस्तो प्रस्ताव स्वीकार गर्न तयार हुन्छ ।
कोठा खोज्नका लागि हुने झन्झट र दुई–चार हजार रुपैयाँ कमिसन दिएर भए पनि कोठा लिन चाहने त्यही जमातलाई लक्षित गर्दै सामाजिक सञ्जालमा ठगहरू उत्तिकै सक्रिय भेटिन्छन् ।
‘के तपाईंलाई कोठा चाहिएको छ ? हामी तपाईंको आवश्यकता अनुसार मिलाइदिन्छौँ..।’ यस्ता विवरण भएका विज्ञापन सामाजिक सञ्जालमा प्रशस्त पाइन्छ ।
चितवनकी सुनिता अर्याल (नाम परिवर्तन) यस्तै विज्ञापनमाथि भरोसा गर्दा ठगिन पुगिन् । उनले सामाजिक सञ्जालमा एउटा आकर्षक कोठाको तस्बिरसहित प्रकाशित विज्ञापन देखेर सम्पर्क गरिन् । उताबाट ‘यो कोठाका लागि धेरैले खोजीनिती गरेका छन्, जसले पहिला एडभान्स रकम तिरेर बुक गर्छ, उसैलाई दिइन्छ’ भनेर जवाफ आएको सुनिताको भनाइ छ ।
आफूलाई कोठा मन परेकाले बुकिङ गर्न तयार भएर भुक्तानीको प्रक्रियाबारे सोध्नासाथ उताबाट एउटा ‘क्यूआर कोड’ पठाएर त्यसमा पैसा जम्मा गर्न लगाइएको उनले बताइन् । पैसा तिरिसकेपछि आफूलाई फेसबुक र ह्वाट्सएपमा ब्लक गरिदिएको उनको भनाइ छ ।
‘मलाई कोठा हेर्न भनेर चाबहिल बोलाएको थियो । त्यहाँ पुगेर कल गर्दा नम्बर ब्लक लिस्टमा हाल्यो,’ उनले भनिन्, ‘फेसबुक, ह्वाट्सएपमा मलाई ब्लक गरिसकेको रहेछ ।’
आफ्नो कामको व्यस्तता र रकमसमेत धेरै रकम नभएकाले आफूले कतै पनि उजुरी नगरेको सुनिताले सुनाइन् । ‘२ हजार रुपैयाँका लागि कता उजुरी गर्न जानु ?’ उनले भनिन् ।
कैलालीका नवीन पाण्डे पनि यसरी ठगिनेमा पर्दछन् । १० महिना अगाडि काठमाडौँमा भाडाका लागि कोठा खोज्ने क्रममा आफूले त्यस्तै गिरोहलाई एक हजार रुपैयाँ तिरेका उनले पनि कतै उजुरी नगरेको बताए ।
‘विज्ञापन गरिएको कोठा मन परेर सम्पर्क गरेको थिएँ । कोठा हेर्न आउनुअघि एक हजार रुपैयाँ दिनुपर्छ भन्यो,’ पाण्डेले भने, ‘पैसा तिरेपछि उनीहरू सम्पर्कमै आएनन् । पछि मैले धेरैपटक फोन गरेँ तर रेस्पोन्स नै गरेनन् ।’
सुनिता र नवीनजस्ता कैयौँ व्यक्ति सामाजिक सञ्जालमार्फत भाडाका लागि कोठा खोज्दा ठगिने गरेका छन् । फेसबुक सामाजिक सञ्जालमा ‘रुम फाइन्डर’ भनेर सर्च गर्ने हो भने विभिन्न नामका आकर्षक कोठाका फोटोसहित विज्ञापन गरिएको भेटिन्छ ।
फेसबुकमा ‘रुम फाइन्डर’ भनेर सर्च गरेर रातोपाटीले कोठा खोजिदिने केहीसँग ‘च्याट’ मार्फत कुराकानी गर्दा एउटा कोठा खोजेको २ हजार रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्ने बताइयो ।
यो प्रक्रियामा जानुअघि पाँच सय रुपैयाँको फार्म अनिवार्य भर्न लगाउने गरिएको पनि पाइएको छ । सामाजिक सञ्जाल मार्फत कोठा खोजिदिनेहरूले नम्बर उपलब्ध गराउने, कुराकानीका क्रममा भ्वाइस च्याट गर्ने, कार्यालयको सही लोकेसन दिनुभन्दा लाइभ लोकेसन शेयर गरेको पाइएको छ ।
यही प्रयोजनका लागि प्रयोग भएको एक मोबाइल नम्बरमा रातोपाटीले फोन सम्पर्क गर्दा दैनिक २० देखि २५ जनालाई भाडाका लागि कोठा खोजिदिने गरेको भेटिएको छ । कोठा खोज्नका लागि ५ सय रुपैयाँको फार्म अनिवार्य भर्नुपर्ने भएकाले दैनिक २५ जनाले फार्म भर्दा पनि कम्तीमा १२ हजार ५ सय रुपैयाँ सम्बन्धित व्यक्तिले लिने गरेको देखिन्छ ।
यो त भयो कोठा खोज्नका लागि फार्मको मात्रै रकम । त्यसपछि कोठा खोजी गर्नका लागि ‘सिङ्गल रुम’को कम्तीमा २ हजार रुपैयाँ र फ्ल्याटको ४५ सय रुपैयाँसम्म दिनुपर्ने भेटिएको छ । यो कारोबारको कुनै हिसाब छैन ।
यस्ता गिरोहले न कुनै निकायमा कम्पनी दर्ता गरेका हुन्छन्, न त आयकर नै तिर्छन् । रातोपाटीको जिज्ञासामा एक महिला कर्मचारीले भनिन्, ‘हामीले भर्खर ६ महिना भयो यो काम सुरु गरेको, कम्पनी दर्ता गर्ने प्रक्रियामा छौँ, थप जानकारी चाहिएमा कोटेश्वरस्थित महादेवस्थानमा कार्यालयमा आएर बुझ्नु होला । म यहाँको कर्मचारीमात्रै हो ।’
भाडाको कोठा खोजिदिने भन्दै आफू ठगीमा परेको विषयलाई लिएर प्रशासन र सम्बन्धित निकायमा कोही पुगेका छैनन् । थोरै रकम ठगिएको र उजुरी लिएर जाँदा विभिन्न झन्झट आइलाग्ने, समय खर्चिनुपर्ने जस्ता कारणले पीडितहरू कतै उजुरी गर्न जानै नचाहेको अवस्था देखिन्छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार कोठा भाडामा खोजिदिने भन्दै ठगीमा परेको उजुरी आउने गरेका छैनन् । ‘सामाजिक सञ्जालमा समान खरिद गर्दा ठगी परेकोजस्ता उजुरी आउँछन्,’ उनले भने, ‘कोठा भाडामा खोजिदिने भनेर आफू ठगिएको भनेर अहिलेसम्म उजुरी आएको छैन ।’
आचार्यले यस्ता उजुरी आएमा आफूले अनुसन्धान गर्ने प्रस्ट पारे । तर त्यसका लागि रकम दिएको प्रमाण, ठग्नेको व्यक्तिको नाम, नम्बर लगायत प्रमाण हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ महानगरपािलका नगर कार्यपालिकाको कार्यालयका प्रवक्ता नवीन मानन्धरले पनि यस्ता विषय महानगरसम्म आइनपुगेको बताए । यस्ता विषय बाहिर आएमा आफूले निगरानी गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार