मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

तानसेन । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो ।
फागु खेलन हो.....हुरी खेलन...राजाको आँगनमा हुरी खेलन.....
लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि यी गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरु यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् ।
छेर्लुङ्गमा आज बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाइरहेको दृश्य देखिएको छ । उनीहरु ट्याम्को, ढोलक, मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै, गाउँदै होलीको रङ्सँग रमाएका छन् ।
आधुनिकता र प्रविधिको विकाससँगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका बेला छेर्लुङ्गवासी भने परम्परा सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताए । उनले भने, ‘दुई/ तीन दिनदेखि यहाँका युवा र पाका स्वतःस्फूर्त रूपमा सबै टोलमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन् ।’
फागु खेलेर सङ्कलित केही रकम साथीभाइ मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिने उनले बताए । यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गीत गाउने प्रचलन छ ।
फागु गीत भाका र ठाउँअनुसार फरक–फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजाएर गीतअनुसार नाचिने स्थानीय धनबहादुर भट्टराई बताउँछन् । दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरुमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ ।
यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा, बराङदीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले युवा पुस्तालाई सिकाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
एनआरएनएको ‘विवादास्पद’ कार्यक्रममा माओवादी सांसद सापकोटा थाइल्यान्ड र कम्बोडिया जाने
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम