मिर्गौला रोगमा डायलासिस गर्नैपर्छ ?

मिर्गौला शरीरको महत्त्वपूर्ण अंग हो जसले युरिया, क्रियटिनिनजस्ता खराब चिजलाई शरीरबाट फिल्टर गरेर बाहिर फ्याँक्ने काम गर्छ । यस्तै, पानी तथा रक्तचापलाई सन्तुलनमा राख्छ भने भिटामिन डीलाई सक्रिय बनाउँछ ।
मधुमेह, उच्च रक्तचाप, दुवै मिर्गौलामा हुने पत्थरी लगायत कारणले र वंशाणुगत कारणले समेत मिर्गौलामा समस्या देखापर्छन् ।
यस्तै शरीरकै एन्टिबडीका कारणले समेत ‘क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस’, ‘भास्कुलाइटिस’, ‘फोकल सेग्मेन्टल ग्लोमेरुलोस्केलोरोसिस’, ‘मेम्ब्रेनस नेफ्रोप्याथी’ जस्ता समस्या हुन्छन् ।
लक्षण
मिर्गौलामा समस्या देखिँदा खुट्टा तथा आँखाको डिल सुन्निने, रक्तचाप बढ्नेजस्ता लक्षण देखिन्छन् । मिर्गौला बिग्रँदै गयो भने वाकवाक हुने, श्वास खराब हुने तथा रगतको कमीका कारण थकान महसुस हुने हुन्छ ।
कारण
उच्च रक्तचाप समयमै नियन्त्रण नगर्दा, जथाभावी पेनकिलरका औषधी खाँदा, चिकित्सकको सल्लाहविना मनलागी रूपमा एन्टिबायोटिक खाने गर्नाले र पिसाबको संक्रमणलाई राम्रोसँग उपचार गरिएन भने मिर्गौलामा समस्या देखिन सक्छ । यस्तै मधुमेहका बिरामीले समय–समयमा जाँच गरेर लामो समयसम्म सन्तुलनमा राखेनौँ भने पनि मिर्गौलामा असर पर्न सक्छ । शरीरबाट उत्पन्न हुने बिमारीहरू (जस्तै ः लुपस तथा पत्थरी आदि) लाई राम्रोसँग उपचार गरिएन र दुवै मिर्गौला अवरुद्ध गर्यो भने त्यसले मिर्गौलामा समस्या निम्त्याउन सक्छ ।
उच्च रक्तचापको असर
उच्च रक्तचापका कारण मिर्गौला खराब हुने र मिर्गौला खराब भएर उच्च रक्तचाप दुवै हुने सम्भावना हुन्छ । उमेर भएपछि बुबाआमालाई उच्च रक्तचाप छ भने सन्तानमा पनि इसेन्सियल हाइपरटेन्सन हुन सक्छ, जुन आनुवंशिक कारणले हुन्छ ।
अर्को सेकेन्डरी हाइपरटेन्सन हो । ९० प्रतिशत उच्च रक्तचाप मिर्गौला र आसपासका अंगहरू (जस्तो ः एड्रिनल ग्लान्ड लगायत) का कारण बढ्ने हुन्छ । २० देखि ३० उमेर समूहका युवामा उच्च रक्तचापको समस्या देखियो भने मिर्गौला परीक्षण गर्नुपर्छ ।
डायलासिस
मिर्गौलामा समस्या भएपछि ‘रेनल रिप्लेसमेन्ट थेरापी’ गरिन्छ । त्यो भनेको डायलासिस र प्रत्यारोपण हो । मानिसलाई बचाइराख्न सहयोग गरे पनि प्राकृतिक मिर्गौलाले जस्तोचाहिँ डायलासिसले गर्दैन ।
डायलासिस भनेको मिर्गौलाले जस्तै शरीरको रगतलाई फिल्टर गर्ने प्रक्रिया हो । जुन दुई प्रकारका हुन्छन् — हेमोडायलासिस र पेरिटोरिनल डायलासिस ।
पेरिटोरिनल डायलासिस भनेको पेटमा पानी हालेर त्यसको माध्यमबाट शरीरमा भएको खराब चिज बाहिर निकाल्ने प्रक्रिया हो ।
मिर्गौलाका समस्या दुई प्रकारका हुन्छन् — एक्युट इन्जुरी र क्रोनिक इन्जुरी अर्थात् एक्कासि मिर्गौला खराब हुने र दीर्घकालीन रूपमा खराब हुने । एक्कासि हुँदा जुन कारणले मिर्गौला खराब भएको छ, त्यसलाई उपचार गरियो भने डायलासिस गर्नुपर्दैन ।
डायलासिसले गर्ने काम प्राकृतिक मिर्गौलाको जस्तो त हुँदैन तर मानिसलाई जीवितै राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसमार्फत शरीरका खराब चिज निकाल्न मद्दत त हुन्छ नै, हर्मोनका लागि सप्लिमेन्टमा इन्जेक्सन, औषधिहरू दिने, क्याल्सियम, फस्फोरसको सन्तुलन गराउन बाहिरबाट औषधि दिने काम गरिन्छ ।
डायलासिस गर्दा घाँटी या खुट्टाको नलीमार्फत गरिन्छ, त्यो बेला पाइप हाल्दा थोरै दुख्छ । त्यही पनि नदुख्ने औषधि दिएर गरिन्छ ।
कुनै बिरामीलाई चाहिँ मिर्गौला बिग्रँदै छ भन्ने अनुमान गरिन्छ । त्यस्तो अवस्थामा बिरामीलाई फिस्टुला बनाउन आग्रह गरिन्छ । फिस्टुला भनेको दुईवटा नसा (शिरा र धमनी) जोडेर बनाइन्छ । जसबाट रगत निकाल्न सजिलो हुन्छ । पहिले नै फिस्टुला बनाएर राखियो भने दुखाइ हुँदैन ।
हेमोडायलासिसको प्रक्रिया दुईदेखि चार घण्टासम्मको हुन्छ र बिरामी सुत्नुपर्छ । पेरिटोनियल डायलासिसमा पेटमा सानो पाइप हालिन्छ, जसबाट दुई लिटरजति फ्लुड हालिन्छ, जसलाई ८–८ घण्टाको फरकमा परिवर्तन गरिन्छ । डायलासिस गर्दा बिरामीलाई कुनै पीडा हुँदैन ।
हेमोडायलासिस हप्ताको दुईदेखि तीनपटक गरिन्छ, जुन प्रत्यारोपण नगरुन्जेल जारी रहन्छ । पेरिटोरियनल डायलासिस गर्दाचाहिँ ६ या ८ घण्टाको अन्तरालमा फ्लुड चारपटक परिवर्तन गरिन्छ, जुन नियमित हुन्छ ।
डायलासिस गर्नैपर्छ ?
मिर्गौला रोग लाग्दैमा डायलासिसमा जानैपर्छ भन्ने हुँदैन । मिर्गौलाका समस्या दुई प्रकारका हुन्छन् — एक्युट इन्जुरी र क्रोनिक इन्जुरी अर्थात् एक्कासि मिर्गौला खराब हुने र दीर्घकालीन रूपमा खराब हुने ।
एक्कासि हुँदा जुन कारणले मिर्गौला खराब भएको छ, त्यसलाई उपचार गरियो भने डायलासिस गर्नुपर्दैन । कहिलेकाहीँ दुई–चार हप्ता डायलासिसले पनि हुन सक्छ । यस्तो अवस्थामा मिर्गौला बचाउन सकिन्छ ।
दीर्घकालीन समस्या भएकाहरूमा मिर्गौलाको क्षमता १५ प्रतिशत मात्रै छ र समस्या भइरहेको छ भने डायलासिस गरिन्छ ।
त्यसैले मिर्गौला स्वस्थ राख्न मधुमेह तथा रक्तचाप नियन्त्रणमा राख्ने, अनावश्यक औषधिको प्रयोग नगर्ने, वर्षमा कम्तीमा एकपटक मिर्गौला परीक्षण गर्ने, पिसाबमा प्रोटिन र रगतमा क्रियटिनिन परीक्षण गर्नुपर्छ । मिर्गौलाको अवस्था अल्टासाउन्डमार्फत् थाहा हुन्छ ।
मिर्गौला रोग लाग्दैमा आत्तिनुपर्दैन, औषधि गरेर स्वस्थ राख्न सकिन्छ ।
(डा. आचार्य नर्भिक इन्टरनेसनल अस्पतालका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाई कोर्टले दियो कैलाश खेरलाई राहत
-
जो अन्तिम समयमा अभागी बने, जो उपाधि यात्रामा कायमै छन्
-
क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम
-
कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन
-
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी