रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरुप अमेरिकी टोली मस्को जाने

वासिङ्टन । रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरुप छलफलका लागि अमेरिकी टोली मस्को जाने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि छलफल गर्न एउटा टोलीलाई रुसतर्फ पठाउन लागिएको जानकारी दिएका छन् । यद्यपि, उनले उक्त टोलीमा को–को सामेल छन् भन्ने खुलाएनन् ।
साउदी अरबमा अमेरिकी अधिकारीसँगको छलफलमा युक्रेनले तत्कालका लागि ३० दिनसम्म युद्धविराम गर्न र युद्ध अन्त्य गर्नेबारे थप छलफल गर्ने अमेरिकाको प्रस्ताव स्वीकार गरेको थियो । सोही सहमतिपछि अमेरिकी टोली यही विषयमा छलफल गर्न रुस जान लागेको हो ।
युक्रेनको यस्तो सहमतिलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्वागत गर्दै ‘अब रुसको कोर्टमा बल पुगेको’ प्रतिक्रिया जनाएका थिए । साउदी अरबमा भएको छलफलपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई यस सम्बन्धमा कसरी मनाउने भन्ने कुरा अमेरिकामा भर पर्ने बताएका थिए ।
यसैबिच रुसी राष्ट्रपति कार्यालयले युद्धविराम प्रस्तावबारे अध्ययन गरिरहेको जनाएको छ । साथै उसले अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच यसबारे टेलिफोन वार्ता हुने सम्भावना पनि औंल्याएको थियो ।