बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास

बिहीबार, २९ फागुन २०८१, ०९ : ५५
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका प्रभावशाली अलराउण्डर महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाह बंगलादेशका लागि १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् । 

महमुदुल्लाहले हालै पाकिस्तानमा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पनि खेलेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी सार्वजनिक गरेका हुन् । 

महमुदुल्लाहले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिएसकेका थिए । उनले टेस्ट क्रिकेटबाट सन् २०२१ मा र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२४ मा सन्न्यासको घोषणा गरेका थिए । 

महमुदुल्लाह बंगलादेशका लागि चौथो सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । बंगलादेशका लागि उनीभन्दा बढी अन्तर्राष्ट्रिय रन मुशफिकुर रहिम, शाकि अल हसन र तमिम इक्वालले मात्र बनाएका छन् । 

उनले टेस्ट क्रिकेटमा ५० खेल खेल्दै कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । टेस्टमा उनले पाँच शतक र १६ अर्धशतक प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर भने अविजित एक सय ५० रन हो । 

यसैगरी, उनले दुई सय ३९ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार ६ सय ८९ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले चार शतक र ३२ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित एक सय २८ रन हो ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ४१ खेल खेल्दै कुल दुई हजार चार सय ४४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले आठवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित ६४ रन हो ।

यसका अतिरिक्त, महमुदुल्लाहले टेस्टमा ४३, एकदिवसीय अन्तर्राष्ट्रियमा ८२ र टी–२० अन्तर्राष्ट्रियमा ४१ विकेट पनि लिएका छन् । च्याम्पियन्स ट्रफी सकिएलगत्तै बंगलादेशका अर्का प्रभावशाली खेलाडी मुशफिकुर रहिमले पनि सन्न्यास लिएका थिए । 

महमुदुल्लाहले सोमबार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)सँग आफ्नो केन्द्रीय सम्झौता नविकरण नगर्न अनुरोध गरेका थिए । त्यतिबेला नै उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिने योजना बनाएको अनुमान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप