बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : होलीको परम्परा

होलीमा रङ खेल्न कहिलेदेखि थालियो ?

वराह पुराणकी पटवास–विलासिनी र होलीमा रङ खेल्ने परम्परा
बिहीबार, २९ फागुन २०८१, ०९ : ३६
बिहीबार, २९ फागुन २०८१

हिन्दु संस्कृतिका अधिकांश चाडपर्वका पिँधमा केही न केही कथा वा किंवदन्ती र कुनै न कुनै शास्त्रीय आधार भेटिन्छन् । 

यस पर्वमा रङ वा अबिर लगाएर उत्सव किन मनाइन्छ ? यसको सुरुवात कहिलेदेखि भयो ? यसको जवाफ खोज्न पुराणहरूसम्म पुग्नुपर्छ ।

फागु पूर्णिमा र यसमा रङ वा चूर्णको प्रयोगका सम्बन्धमा पुराणहरूमा सङ्केतात्मक ढङ्गले उल्लेख भएको पाइन्छ । लिङ्ग पुराणमा फागु पूर्णिमालाई ‘फाल्गुनिका’ भनिएको छ — ‘फाल्गुने पौर्णमासी च सदा बालविकासिनी । ज्ञेया फाल्गुनिका सा ज्ञेयालोक विभूतये ।’ अर्थात्, यो पर्व बालकको विकास वा क्रीडा र मानिसको विभूति (ऐश्वर्य)सँग सम्बन्धित छ । 

फागु पूर्णिमामा ‘पटवास–विलासिनी’ चूर्णको प्रयोग हुने वराह पुराणमा उल्लेख छ— ‘फाल्गुने पौर्णमास्यां तु पटवासविलासिनी । ज्ञेया सा फाल्गुनी लोके कार्यालोक समृद्धये ।’ 

आफ्नो पुस्तक (धर्मशास्त्रका इतिहास, भाग ४)मा पाण्डुरंग वामन काणेले ‘पटवास–विलासिनी’को शब्दार्थमा चूर्ण (कुन रङको भन्ने उल्लेख छैन)ले युक्त मनोरञ्जनात्मक खेलका लागि तयार व्यक्तिप्रति सङ्केत गरेका छन् । उनले पटवास–विलासिनीको अर्थमा लेखेका छन्, ‘चूर्ण से युक्त क्रीडाओं वाली ।’

चेतोनाथशर्मा आचार्यले आफ्नो पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’मा ‘पटवासक’ शब्द अबिरजस्तो चूर्णका लागि प्रसिद्ध भएको उल्लेख गरेका छन् । 

काणेले फागु पूर्णिमालाई प्राचीन उत्सव भनेका छन् । उनले जैमिनि सूत्रलाई उद्धृत गर्दै लेखेका छन्, ‘होली वा होलिकाको आरम्भिक शब्दरूप होलाका थियो । जैमिनि र शबरको भनाइ छ कि होलाका सबै आर्यले मनाउनुपर्छ ।’

काणेका अनुसार, काठकगुह्य सूत्रमा ‘राका होलाके’ भन्ने एक सूत्र छ— ‘होला कर्मविशेषः सौभाग्याय स्त्रीणां प्रातरनुष्ठीयते । तत्र होलाके राका देवता ।’ यसको व्याख्या टीकाकार देवपालले गरेका छन्— होला एक कर्म विशेष हो, जो नारीको सौभाग्यका लागि सम्पन्न गरिन्छ । यस कृत्यका देवता हुन् राका अर्थात् पूर्णचन्द्र । अन्य टीकाकारका अनुसार, होलाका प्रसिद्ध २० क्रीडामध्ये एक हो, जुन सम्पूर्ण भारतमा खेलिन्छ । 

फागु पूर्णिमामा ‘पटवास–विलासिनी’ चूर्णको प्रयोग हुने वराह पुराणमा उल्लेख छ— ‘फाल्गुने पौर्णमास्यां तु पटवासविलासिनी । ज्ञेया सा फाल्गुनी लोके कार्यालोक समृद्धये ।’ भारतीय लेखक पाण्डुरंग वामन काणेले ‘पटवास–विलासिनी’लाई अथ्र्याएका छन्, ‘चूर्ण से युक्त क्रीडाओं वाली ।’

लिङ्ग पुराणलाई हेर्दा यो बुझिन्छ— होली पर्व केटाकेटीलाई निडर भई खेल्न र रमाउन प्रेरित गर्ने पर्व हो, अर्थात् यसकै लागि यो पर्व मनाउन सुरु गरिएको हुनुपर्छ । वराह पुराणलाई हेर्दा— नरनारीलाई रमाउने बनाउन वा कोही यौनकुण्ठामा नबसोस्, मनोरोगी नबनोस् भन्ने उद्देश्यले यो पर्व मनाउन थालेको भन्ने बुझिन्छ ।

वराह पुराणमा जुन शब्द परेको छ ‘पटवास–विलासिनी’; प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ अनुसार ‘पट’ शब्दको अर्थ हुन्छ— वस्त्र, कपडा; मूर्ख आदि । ‘विलासिनी’ शब्दले ‘कामुक चरित्र भएकी; सुन्दरी (स्त्री); वेश्या; गणिका’लाई बुझाउँछ । ‘वास’ शब्दले ‘बसोबासका लागि बनाइएको ओत; घर; गृह; बसोबास गर्ने काम; निवास; बास्ना; सुगन्ध’को अर्थ दिन्छ । 

काणेले लगाएको अर्थ र शब्दकोशले दिने अर्थलाई केलाउँदा ‘पटवास–विलासिनी’ले सुगन्धित चूर्ण लागेको वस्त्र र स्त्रीतिर पनि सङ्केत गर्छ । ‘होलाका’को उल्लेख वात्सायनको कामसूत्रमा पनि छ । जेहोस्, होली उत्सवको पर्व हो, वसन्तको खुसियाली हो । यस पर्वलाई मदनोत्सव र वसन्तोत्सव पनि भनिन्छ । 

कामसूत्र एवं भविष्योत्तर पुराणले यस पर्वलाई वसन्तसँग जोड्छन् । पूर्णिमान्त गणनाका अनुसार यो पर्व वर्षको अन्त्यमा मनाइन्छ । अतः होलिका हेमन्त या पतझरको अन्त्यको सूचक हो र वसन्तको काम–प्रेममय लीलाहरूको द्योतक हो । मस्तीपूर्ण गीत, नृत्य एवं संगीत वसन्तागमनको उल्लासपूर्ण क्षणहरूको परिचायक हो ।

काणेले उपरोक्त पुस्तकमा लेखेका छन्, ‘कामसूत्र एवं भविष्योत्तर पुराणले यस पर्वलाई वसन्तसँग जोड्छन् । पूर्णिमान्त गणनाका अनुसार यो पर्व वर्षको अन्त्यमा मनाइन्छ । अतः होलिका हेमन्त या पतझरको अन्त्यको सूचक हो र वसन्तको काम–प्रेममय लीलाहरूको द्योतक हो । मस्तीपूर्ण गीत, नृत्य एवं संगीत वसन्तागमनको उल्लासपूर्ण क्षणहरूको परिचायक हो ।’ 

नेपालमा फागु पर्वको शुभारम्भ फागुन शुक्ल अष्टमीमा काठमाडौँको हनुमान ढोकाको वसन्तुपर दरबारअगाडि चीर गाडेर गरिन्छ । ऋषिप्रसाद शर्माको पुस्तक ‘नेपाल राष्ट्रिय चाडपर्व’ अनुसार, मल्लकालीन अभिलेखहरूबाट मल्ल राजाहरू आफ्नो दरबारको सामुन्ने मयलको रुख गाडी फागुनमा फागु पर्व मनाउने गर्थे भन्ने कुराको पुष्टि हुन्छ । 

  • किंवदन्ती

काणेले होलीसम्बन्धी एउटा कथा प्रस्तुत गरेका छन् । कथा अनुसार, ढोण्ढा नाम गरेकी राक्षसीले बालबालिकालाई सताएकी थिई । शिवबाट देवता र मानव कसैले मार्न नसक्ने, जाडो र गर्मीबाट पनि नमर्ने वर पाएकी त्यस राक्षसी उन्मुक्त वा क्रीडायुक्त बालबालिकासँग भने डराउँथी । त्यसैले उसले बालबालिकालाई सताउने गर्थी । फागुन शुक्ल पूर्णिमा अर्थात् जाडो जाने र गर्मी लाग्ने बेला केटाकेटीले अश्लील गीत–नृत्य तथा अट्टहास गरेमा राक्षसी मर्ने रहस्य राजा रघुका पुरोहितले बताए । पुरोहितले भने अनुसार गर्दा राक्षसीको मृत्यु भयो र सोही दिनलाई ‘अडाडा’ या होलिका भनियो । 

अर्को प्रचलित कथा भन्छ — हिरण्यकशिपुकी बहिनी होलिकाले देवताबाट आगोले नजल्ने वर पाएकी थिइन् । हिरण्यकशिपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्न होलिकासँगै प्रह्लादलाई अग्निमा हाल्छन् तर विष्णुभक्त भएकाले प्रह्लादलाई आगोले जलाउँदैन, होलिकालाई जलाउँछ । 

चेतोनाथशर्मा आचार्यका अनुसार, कतिपयले फागुपूर्णिमालाई बालक कृष्णलाई विषालु दुध पिलाउन आएकी ‘पूतना’ नाम गरेकी राक्षसीसँग पनि जोडेर हेरेका छन्  । पूतनालाई कृष्णले संहार गरिसकेपछि वज्र र गोकुलका नरनारीहरुले पूतनालाई जलाई खुसियाली मनाएका थिए 

आचार्यले होली सम्बन्धी केही कथा प्रस्तुत गरेका छन् । एकपल्ट युधिष्ठिरले कृष्णसँग सोधे, ‘भगवान् ! फाल्गुनी पूर्णिमाको दिन प्रत्येक गाउँ र नगरमा किन उत्सव हुन्छ ? यस दिन बालकहरू निकै रमाएर क्रीडारत भएका देखिन्छन् । बस्तीबस्तीमा होलिका जलाएको देखिन्छ । यो जलाउनुमा के कारण छ । यस दिन पूजिने देवताको नाम के हो ?’ 

कृष्णको जवाफ हुन्छ — सत्य युगमा रघुनाम गरेका धर्मात्मा र विद्वान् राजा थिए । उनीकहाँ एक दिन प्रजाजन आएर भने, हामीलाई ढुण्ढा नाम गरेकी राक्षसीले साह्रै दुःख दिएकी छ । उसले विभिन्न रूप धारण गरी हामी र हाम्रा बालबालिकालाई सताउने गर्छे । 

राजाले आफ्ना पुरोहितसँग त्यस राक्षसनीबारे बुझे । माली नाम गरेको राक्षसकी पुत्री ढुण्ढाले विगत कालमा उग्र तपस्या गरी शिवलाई प्रशन्न बनाई शस्त्र–अस्त्र, जाडो–गर्मी, वर्षा आदिबाट अवध्य र अप्रभावित हुने वर प्राप्त गरेकी थिई । उसलाई शिवले वर दिँदै भनेका थिए — तिमीलाई केवल उन्मत्त बालकहरूबाट मात्र भय हुनेछ । यही कारण यो राक्षसी खासगरी बालबच्चालाई बढी सताउँछे । 

पुरोहितको सुझाव रहन्छ — बालबालिकाको निर्भय क्रीडा र मनोरञ्जनले मात्र त्यस राक्षेसनीको विनाश सम्भव छ । 

पुरोहितको सल्लाह अनुसार राजाले फाल्गुनशुक्ल पूर्णिमाका दिनमा धुमधामसँग बालक्रीडा महोत्सव आयोजना गर्न लगाए । बच्चाहरूको हल्लीखल्ली, बेरोकतोक चिल्लाहट र ताली तथा गानाबजानाका बीच सुकेका दाउरापात र स्याउला बालेर सबैले बलेको अग्नि परिक्रमा गरे । जसको प्रभावमा परेर त्यो राक्षसी मरी । अनि समाज निर्भय बन्यो ।

यसले संकेत गर्छ — यो पर्व केटाकेटी वा युवायुवतीलाई खुसी हुन सिकाउने पर्व हो । हिउँदमा जाडोले कठ्यांग्रिएर कतिपयले खेल्ने–उफ्रने नगरेका हुन सक्छन् । कतिपय केटाकेटीले भूत हुन्छ भन्नेमा विश्वास गर्न पुगेका हुन सक्छन् । यसो हुँदा उनीहरूलाई शारीरिकसँगै मानसिक स्वास्थ्य खराब हुने खतरा हुन्थ्यो । त्यसैले हाम्रा पुर्खाले केटाकेटीलाई खुसी बनाउन, स्वस्थ बनाउन कथा जोडेर यस उत्सव परिकल्पना गरेका हुन सक्छन् ।

कुनै पनि पर्वमा कथा (मिथक वा किंवदन्ती) जोडिनुको अर्थ यही हो— मानिसहरूको ध्यान त्यसप्रति खिचियोस् । कथाका माध्यमबाट मानिसलाई कुनै कुरा सम्झाउन सहज हुन्छ, त्यसैले हाम्रा पुर्खाले अनेक कथा कल्पे । पर्वहरूमा आउने कतिपय कथामा त्यहाँको लोकले विश्वास गर्ने तर अवैज्ञानिक खालका घटनाक्रम आउँछन्; कतिपय कथाले कोहीप्रति विभेद पनि गरेका हुन्छन् । आगोले नजलाउने वर पाएकी होलिका जलेको तर कुनै वर नपाएका प्रह्लाद नजलेको जुन होलीको प्रचलित कथा छ, यसले स्त्रीले पाएको वर पनि झुटो हुने भन्ने अर्थ दिन्छ । अर्कोतिर कुनै निर्दोष स्त्री जलेकामा पर्व मनाउनुलाई पनि न्यायसङ्गत मान्न सकिँदैन । त्यसैले यस्ता कथालाई सही ढङ्गले अथ्र्याउन र अर्कोमाथि हिंसा वा विभेद नहुने गरी पर्वहरू मनाउनतिर हाम्रो ध्यान जानुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप