बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
होली

होली पर्व : कुन रङको विशेषता के ?

बिहीबार, २९ फागुन २०८१, ०९ : ०३
बिहीबार, २९ फागुन २०८१

रङ्गियो आज दुनियाँ उत्साहको होलीले
मधुरवात फैलियो रङ्ग मिसाएर बोलीले ।

संसारका विभिन्न क्षेत्रहरू मध्ये केही क्षेत्र यस्ता छन् जहाँबाट धर्म, संस्कृति र परम्पराहरूको विकास भएको पाइन्छ । सृष्टिको अनुपम उपहार मानव जातिलाई सभ्य,संस्कृत र सत्मार्गी बनाउन विधिले विभिन्न लीला रचना गरेर मानव सभ्यताको अविच्छिन्न विकास गर्दै आएको छ ।

पृथ्वीको जबमुद्वीप, आर्यावर्त क्षेत्र धर्म,संस्कृति र परम्पराको विकास भएको अनुपम क्षेत्र हो । पश्चिमोत्तर एसियाबाट पूर्वतर्फ लागेका आर्यहरूले शास्त्रोचित सभ्यता र संस्कृतिको विकास गर्दै मानवीय सभ्यतालाई अग्रगति दिँदै बर्बर, पाशविक प्रवृत्तिमाथि सर गर्दै मानव जातिलाई एकता र मैत्रीको सूत्रमा आबद्ध गराएका हुन् । धर्मको अंशको रूपमा संस्कृति, संस्कृतिको शाखाको रूपमा परम्पराको उद्भव भएको पाइन्छ । 

होलीको प्रारम्भ 

  • वैदिक आधार

होली परम्पराको रूपमा विकसित हुँदै आएको पर्व हो । हाली पर्वलाई यो जम्बुद्वीप आर्यावर्त क्षेत्रमा धूमधामले मनाइन्छ । वसन्त ऋतुको फागुन महिनामा यो पर्व मनाइन्छ । फागुन महिनामा मनाइने हुनाले फागु भनिएको हो । नेपाली भाषिक प्रबलताको समयमा फागु खेल्ने भनिन्थ्यो । अर्को अर्थले बुझ्ने हो भने फागुलाई अबीर पनि भनिन्छ ।

फागु अर्थात् होलीको प्रारम्भ कसरी भयो भन्ने सम्बन्धमा चर्चा गर्नु पर्दा विभिन्न आधारहरू पाइन्छन् । यस सन्दर्भमा पौराणिक पक्षले विशेष प्रबलता दिएको छ । होलीको आधार खोजी गर्दा वैदिक काल जोडिन आउँछ । त्यस समयमा कृषकहरू आफ्नो खेतीको अधकल्चो अन्नलाई आहुतिको रूपमा यज्ञमा होम गर्दथे सो अन्नलाई होलका भनिने गर्दथ्यो । यसलाई पछि होलिका भनिन थालिएको भन्ने भनाई पनि छ । प्राचीनकाल देखि नै कृषकले पाकेको बाली देवतालाई अर्पण गर्ने चलन थियो । 

  • शास्त्रीय आधार

होलीलाई शास्त्रीय पर्वको रूपमा पनि लिने गरिन्छ । रामायण र महाभारत जस्ता महाकाव्यहरूमा पनि होलीको सम्बन्ध छ भन्ने आधारहरू भेटिन्छन् । हिन्दुशास्त्रका विभिन्न पुराणहरूमा होलीको चर्चा पाइन्छ । लिङ्ग पुराणमा फागुनलाई फाल्गुनिका भनिएको छ । फागुन महिनाको पूर्णिमामा बालबालिकाले खेल्ने र मानिसलाई ऐश्वर्य प्रदान गराउने गर्दछ भन्ने भाव पाइन्छ ।

होलीको सम्बन्धमा बराह पुराणमा ‘पट्वास—विलासिनी ’भनिएको छ । यसको अर्थ धुलोयुक्त क्रीडा भएको पर्व हो । जैमिनि ऋषिद्वारा रचित मीमांशा दर्शनको पूर्व मीमांशा सूत्रमा होलीबारे उल्लेख पाइन्छ ।

 फागुपूर्णिमा अर्थात् होलीको परम्परा चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती पाइन्छ । जसअनुसार दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माजीसँग आगोमा नजल्ने वरदान पाएकी थिइन् तर दाजु हिरण्यकश्यपुको आदेशमा भक्त प्रह्लादलाई लिएर आगोमा पस्न लगाएका थिए । अधर्मको मार्गतर्फ लागेकीले होलिका जलेर नष्ट भइन् भने प्रह्लाद सकुशल रहे । त्यसै बेला देखि शक्तिको दुरुपयोग गरी अधर्मको पथमा चलेकी होलिका मारिएको खुसीयालीमा फागु अर्थात् होली खेल्ने परम्परा चलेको हो भन्ने विश्वास गरिन्छ ।

अर्को तर्फ शास्त्रीय परम्परा अनुसार— द्वापर युगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले बालक कृष्णलाई विष दलिएको स्तन चुसाउन लाग्दा कृष्णले विष चुसेर फाली पुतनालाई मारिदिए पछि व्रजवासीले रङ सहित हाली खेलेको प्रसङ्ग आउँछ । 

  • धर्म र संस्कृतिको तादात्म्य

धर्मका अनेक परिभाषा र अर्थ लगाइएला सोझो अर्थमा बुझ्ने हो भने धर्म भन्नाले असल कुरालाई धारण गर्नु हो । असल कुराको धारण हेतु साधु संसारमा दस्यु प्रवृत्ति विनाशको हर्षोल्लास स्मृतिमा पर्व र संस्कृतिको प्रादुर्भाव भएको पाइन्छ ।

हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार हरेक पाशविक प्रवृत्तिको  अन्त्यपछि एउटा नयाँ संस्कृतिको विकास भएको देखिन्छ । धर्मले संस्कृतिको उद्भव गराउँछ, संस्कृतिले सभ्यताको परिचय दिन्छ भने सभ्यताले मानव विकासको गतिलाई दृष्टिगोचर गराउँदछ । हाम्रा पर्व र संस्कृतिहरू यसै आधारमा विकसित हुँदै आएको साक्ष्य प्रमाण पाइन्छ ।

  • विश्वमा होली मनाइने देशहरू

पृथ्वीको एक भूखण्डबाट प्रादुर्भाव भई विकसित भएर जनजनमा फैलिएको संस्कृति जातीय,वर्गीय सीमा नाघेर आज भूमण्डलीकरण हुँदै गएको छ । जुन सीमा नाघेर ती वर्ग,जाति संसारका कुना कुनामा पुगे त्यहाँ उनीहरूले आफ्नो पर्व र संस्कृतिलाई निरन्तरता दिए जसले गर्दा आज नेपाल, भारत, बंगलादेश, पाकिस्तान, मौरिसस, फिजी, दक्षिण अफ्रिका, बेलायत, गुयना, सुरिनाम, अमेरिका लगायत युरोपका छिटपुट केही देशहरूमा होलीले व्यापकता पाउँदै गएको छ । पर्व विशेष भएकोले वर्गीय,जातीय सीमाको तगारो भाँचेर भूमण्डलीकरण भएको छ । 

  • रङहरूका विशेषता

होलीमा रङको प्रयोग र साङ्केतिक पक्ष,होली खेल्ने प्रसङ्गको विषयको उठान हुँदा रङका दृश्यहरू आँखामा आउँछन् । रङका विविध पक्षहरू रहेका हुन्छन् । यसको प्रयोगलाई आध्यात्मिक,मनोवैज्ञानिक र आयुर्वेदिक दृष्टिकोणबाट हेर्ने गरेको पाइन्छ ।

रातो रङ

रातो सबैलाई मन पर्ने रङ हो । यसलाई पवित्रा र शुद्धताको प्रतीक मानिन्छ । यो रङ साहस, शक्ति र सौभाग्यको प्रतीक पनि हो । रातो रङ (अबीर) रङ होलीको समयमा छालामा पर्दा यसले छालाजन्य रोगलाई विनाश गर्दछ र कफको विनाश गर्दछ भन्ने आयुर्वेदिक महत्त्व रहेको छ ।

हरियो रङ

यो रङलाई जीवन शक्तिको मर्म बुझ्ने जीवन्त रङ मानिन्छ । यो रङ मन पराउने मानिसहरू प्रकृति प्रेमी र रागरहित हुन्छन् । यो रङ प्रेमीमा आत्मविश्वासको कमी हुन्छ भन्ने भन्ने मनोवैज्ञानिकहरूको धारणा छ । 

पहेँलो रङ

यो रङलाई धर्म र भक्तिको पर्यायको रूपमा लिइन्छ । यो रङ प्रेमीहरू धर्ममा बढी विश्वास गर्दछन् । यो रङ खुसी र हर्षको प्रतीक भएकोले यस रङलाई मन पराउनेहरू रमाइलो मन पराउने र आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् भन्ने धारणा पाइन्छ । 

नीलो(नीर) रङ

यो रङलाई शान्तिको प्रतीक मानिन्छ । यो रङ मन पराउने मानिसहरू सन्तुलित विचारका हुन्छन् । यो रङलाई धर्मयुद्धको प्रतीक पनि मानिन्छ । बढी चिन्तित हुने स्वभाव यो रङ मन पराउने मानिसहरूमा हुन्छ भन्ने मनोविद्हरूको धारणा पाइन्छ । 

कालो रङ

होलीमा कालो रङ पनि व्यापकरुपमा प्रयोग हुन्छ । यो रङलाई खासै शुभ मानिँदैन । यो रङलाई ईर्ष्या र स्वार्थको प्रतीक मानिन्छ । यो रङ मन पराउने मानिसहरू अन्तरमुखी स्वभावका हुन्छन् । तुरुन्तै रोष प्रकट गर्ने प्रवृत्तिका हुन्छन् भन्ने मनोविद्हरूको धारणा पाइन्छ । 

सेतो रङ

यो सर्वप्रिय रङ हो । यो रङलाई शुद्धताको प्रतीक मानिन्छ । कर्मवीरहरू यस रङमा विश्वास गर्दछन् । यो रङ आकर्षणको प्रतीक पनि हो ।

  • रङको महत्त्व

होलीमा मात्र नभई रङको प्रयोग अवसर र उपलक्ष्य अनुसार प्रयोग गरिन्छ । पहिरनमा समेत यसको विशेष उपादेयता रहेको छ । देवताहरू विशेष गरी रातो रङ पहिरन्छन् । ब्रह्माजी श्वेत वस्त्र धारण गर्दछन् भने नारायण पहेँलो वस्त्रमा सजिन्छन् । देवहरूमा महादेव र नारायणको तन नीलो छ भन्ने लोक विश्वास छ । महाभारत  कालमा परशुराम,भीष्म,युधिष्ठिर,अर्जुन,द्रोणाचार्य,कृपाचार्य श्वेत वस्त्र धारण गर्दथे भने भीमसेन प्रायः रातो वस्त्रमा सजिन्थे । कर्णको गुलाबी वस्त्र थियो भने सकुनी कालो वस्त्र धारण गर्दथे । यी वस्त्रका रङले पनि व्यक्ति र प्रवृत्तिको संकेत गरेको पाइन्छ ।

  • नेपालमा मनाइने होली

भनिन्छ नेपाल यस्तो देश हो जहाँ हरेक दिन कुनै न कुनै चाड,पर्व परेको हुन्छ । संस्कृति र परम्पराले शृङ्गारित यस देशमा होलीको ठुलो महिमा रहेको छ । होली वसन्त ऋतुको आगमनसँगै फाल्गुण शुक्ल पूर्णिमाको अवसर पारेर  नेपालमा हर्षोल्लासका साथ मनाइने पर्व हो । यस पर्वको पछाडि अनेकौँ पौराणिक पक्ष जोडिए पनि विशेषतः यसलाई रङको पर्वको रूपमा लिइन्छ । यस पर्वमा मानिसहरू प्रेमका साथ आपसमा रङ दलेर स्नेह, सद्भाव र भाइचाराको सम्बन्धलाई कसिलो बनाउँछन् । नेपालमा फागु(होली) दुई दिन मनाइन्छ । पहाडी क्षेत्रमा होली पूर्णिमाको दिन मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट मनाइने चलन छ । 

  • काठमाडौँमा होली

काठमाडौँको वसन्तपुरमा विधि विधान पूर्वक चिर ठड्याएपछि फागु पर्व प्रारम्भ भएको मानिन्छ । फाल्गुण शुक्ल दशमीको तिथिको दिनमा हनुमान ढोका दरबार गद्दी बैठकको दक्षिणतर्फ तीनतले चिरोत्थान गरेपछि होली आरम्भ हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याएको बाँस तथा गुह्येश्वरीको वनबाट ल्याएको मयलको हाँगालाई विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी ध्वजाहरू झुन्डाइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको बाँसको चीर ठड्याइन्छ । यसपछि चीरलाई घुमाएर एक आपसमा अबीर छ्यापेर हर्ष,उमङ्ग र उल्लासका साथ फागु(होली) खेल्न सुरु हुन्छ । यस अवसरमा स्थानीयवासीको सहभागितामा नेपाली सेनाको गुर्जुको पल्टनले सलामी दिने चलन छ । फागु सकिएपछि साँझ उक्त चीरलाई विधिपूर्वक ढालेर बाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ । चीरमा राखिएका ध्वजाहरू औषधोपचारका लागि उत्तम हुन्छ भन्ने विश्वास भएकोले लुटालुट गरेर लिने चलन छ । अर्कोतर्फ जलाएको चीरको खरानीको टीका लगाएमा अनिष्ट टर्छ भन्ने लोक विश्वास छ । यसै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई  इटुम्बहालदेखि कहीँ नबिसाई ल्याएको दशपाथी चामलको भात एउटा राँगोको मासु ख्वाएर महांकाल स्थान अगाडिको त्रिचन्द्र मिलिटरी अस्पताल भित्र रहेको “जधु” धारामा चुठाउने भन्ने चलन छ ।

  •  वर्तमानमा होली पर्वको सार्थकता र सन्देश

असत्य माथि सत्यको विजयकोरुपमा युग युगान्तरदेखि हालसम्म होली पर्वको महिमा अक्षुण्णरुपमा सञ्चारित हुँदै आएको छ । धर्म,सत्य,न्यायको त्रिवेणी यो पर्व आपसी प्रेम,सद्भाव,भाइचारा र मैत्रीको पर्यायकोरुपमा विख्यात छ । यहाँ एउटा प्रश्न खडा भइरहन्छ– के विश्वमा होलीले दिएको सन्देश लागु भएको छ त ? मानव जाति होलीले दिएको सन्देश अनुरूप चलेको छ त ? यस्ता गम्भीर प्रश्नहरू आज आम जनमानसमा छ । आर्थिक विपन्नताको पासोमा जेलिएकाहरू आँसु र पसिनाको होली खेलिरहेका छन् भने दुःख र बिस्मातका रोटी चपाइरहेका छन् । वचन र विश्वासका प्रसङ्गहरू उठान गर्ने हो भने घात प्रतिघातको होली निरन्तर खेलिएको देखिन्छ । विश्वतर्फ नजर लगाउने हो भने विधिले एउटा बगैँचा(उद्यान)को रूपमा विकास गरेको फुलै फूलको संसारमा आज बम,बारुदले होली खेलिरहेको छ । आजको घडीमा होलीले यो वितण्डा र विकृतिमाथि सद्भाव र भ्रातृत्वको सन्देश दिँदै यो संसार एउटा गुलजार बनोस् भन्ने कामना मानव जातिले गर्नु पर्दछ ।

आज हामी नेपालीहरूले अहमता त्यागेर होलीको सन्देश जनजनमा पुर्‍याउनु पर्दछ । सम्पूर्ण मानवलाई एकताको सूत्रमा जोडेर संस्कृति र सभ्यताको अविच्छिन्न पथमा मार्गी बनाएर सृष्टिको अनुपम उपहारको रूपमा रहेको मानव जातिलाई भ्रातृत्व,एकता,मैत्री र प्रेमको साङ्लोमा जकडाएर अनुपम उदाहरण प्रस्तुत गर्नु होली पर्वको सार्थकता र सन्देश हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजनाथ दंगाल
तेजनाथ दंगाल

author

लेखकबाट थप