बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
त्रिवि स्ववियु निर्वाचन

गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध

बिहीबार, २९ फागुन २०८१, ०७ : १८
बिहीबार, २९ फागुन २०८१

पोखरा । गण्डकी प्रदेशका विभिन्न ४१ क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । निर्वाचन हुने क्याम्पसमध्ये अधिकांशमा मनोनयन दर्ता भैसकेको छ भने केही क्याम्पसहरूमा तालाबन्दीका कारण निर्वाचन कार्यतालिका स्थगित भएको छ । केही क्याम्पसमा भने निर्विरोध निर्वाचित भएका छन् । 

हालसम्म प्राप्त जानकारी अनुसार यहाँका ४ वटा क्याम्पसमा निर्विरोध रूपमा कार्यसमिति चयन भैसकेको छ । २३ वटा क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ भने ४ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

बिहीबारदेखि नै प्रक्रिया सुरु हुने बताइएको छ । एउटा क्याम्पसमा निर्विरोध निर्वाचित भएपनि निर्वाचन समितिले घोषणा नगरेको भन्दै विवाद सिर्जना भएको छ । ९ वटा क्याम्पसमा तालाबन्दी गरेका कारण निर्वाचन तालिका अघि बढेन । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुका एल्डिस पुन निर्विरोध भएका छन् । स्याङ्जाको मिर्मि बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुकै मुना न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् ।

स्याङजाकै मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका गोविन्द भण्डारी र मुस्ताङको तेज निरला जनहित क्याम्पसमा अनेरास्ववियुकै अन्जु परियार अध्यक्षमा निर्विरोध भइन् । नवलपुरका ९ क्याम्पसमा विवादका कारण तालाबन्दी गरिएको छ । एसपिएम कलेज, जनक कलेज, देवचुली कलेज, जनमुखी आदर्श क्याम्पस, जनज्योति क्याम्पस, कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यबिन्दु, नवजागरण र अरुण खोला क्याम्पसमा ताला लागेको हो । कालिका विद्यापिठमा भने प्रक्रिया अघि बढेको छ ।

गोरखाको भवानी मावि र भीमोदय क्याम्पसमा निर्वाचन तालिका स्थगित गरिएको छ । गोरखा क्याम्पस र द्रव्यशाह क्याम्पसमा उम्मेदवारी दर्ता भैसकेको छ । स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, वालिङ, गल्याङ र त्रिभुवन आदर्श क्याम्पसमा मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएका छन् । तनहुँको भानुभक्त क्याम्पसमा बिहीबार मनोनयन हुँदै छ । आँबुखैरेनी र सरस्वतीमा मनोनयन दर्ता भैसकेको छ भने आदिकवि भानुभक्तमा निर्धारित समयभित्र अनेरास्ववियुको मात्रै मनोनयन परेपनि परिणाम घोषणा नगरेपछि विवाद सिर्जना भएको छ ।

म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पस, बाग्लुङको गलकोट र धवलागिरी क्याम्पसमा पनि उम्मेदवारी दर्ता गरिएको छ । यता लमजुङका पनि ६ वटै क्याम्पसमा उम्मेदवारी दर्ता सकिएको छ । मर्स्याङ्दी, लमजुङ कृषि क्याम्पस, भक्ति आदर्श, मातृभूमि, पुस्पलता र इशानेश्वर क्याम्पसमा शान्त वातावरणमै मनोनयन भएको हो । कास्कीका पनि ६ वटा क्याम्पसमा मनोनयन भएको छ । देशकै ठुलो कलेज पृथ्वीनारायण क्याम्पस, जनप्रिय, इन्जिनियरिङ अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, पोखरा नर्सिङ र संस्कृत क्याम्पसमा सहज रूपमा निर्वाचन तालिका अघि बढेको बताइएको छ । यद्यपि इन्जिनियरिङ क्याम्पसमा मनोनयन दर्ता भएका उम्मेदवारको नाम सूचीमा नआएपछि विवाद उत्पन्न भएको छ ।

स्ववियु निर्वाचन अन्तर्गत छुट्टाछुट्टै गठबन्धन बनाएर विद्यार्थीहरू चुनावी मैदानमा छन् । कतै नेविसंघ विरुद्ध सबै विद्यार्थी सङ्गठन एकातिर उभिएका छन् भने कतै अनेरास्ववियु विरुद्ध अरू भेला भएका छन् । कहीँ चाहिँ अखिल क्रान्तिकारीको विरुद्धमा अन्य सङ्गठन एकीकृत भएका छन् । जे होस्, सबै क्याम्पसहरूमा मनोनयन दर्ता गरेका उम्मेद्वारहरु मतदाता फकाउन तल्लीन छन् । आफ्ना एजेन्डा सुनाएर भोट माग्न व्यस्त छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप