होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो, भनेका छन् । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरुप अमेरिकी टोली मस्को जाने
-
शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह
-
वसन्तपुरमा विदेशी पर्यटकको होली, तस्बिरमा हेर्नुहोस्
-
१० देशबाट भित्रियो ४० करोड बराबरको रङ
-
फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल