बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?

बुधबार, २८ फागुन २०८१, २१ : ००
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनले विद्यार्थी संगठनहरूलाई छोपेको छ । देशभर त्रिविका आंगिक, सामुदायिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचनको गतिविधि उत्कर्षमा पुगेको छ ।

८५ वटा कलेजमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आफ्नो हकहितका लागि आवाज उठाउने नेतृत्व चयनका लागि मतदान गर्न विद्यार्थीहरू व्यग्र प्रतीक्षामा छन् ।

कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचनको गतिविधि नै अगाडि बढ्न सकेको छैन । आफ्नै नेता चुन्नका लागि हुन लागिरहेको निर्वाचनमा विद्यार्थीहरू नै तोडफोड तथा आगजानीमा उत्रिएका छन् ।

काठमाडौँ उपत्यकाका त्रिविका ६ वटा आंगिक क्याम्पसमा मनोनयन दर्ताको प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । त्यस्तै उपत्यका बाहिरका विभिन्न क्याम्पसमा समेत विद्यार्थीहरू तालाबन्दी, तोडफोड तथा आगजनीमा उत्रिएका छन् ।

उपत्यकाभित्रका शंकरदेव क्याम्पस, सरस्वती क्याम्पस, विश्वभाषा, नेपाल ल क्याम्पस, आयुर्वेद क्याम्पस र पब्लिक युथ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो ।

शंकरदेव क्याम्पसमा भर्नाको विषयलाई लिएर नेविसंघको असन्तुष्ट पक्षले तोडफोड गरेको थियो । जसले गर्दा मनोनयनको प्रक्रिया नै अगाडि बढ्न नसकेको हो ।

निर्वाचन समितिले फागुन २८ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य परिस्थिति उत्पन्न भएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको स्ववियु निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले बताए ।

त्यस्तै सरस्वती बहुमुखी क्याम्पसमा समेत उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले विवाद सिर्जना गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

निर्वाचन अधिकृत गोपाल प्रसाद सेढाईंले हाल असामान्य परिस्थिति उत्पन्न भएकाले निर्वाचनका बाँकी प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

कोटेश्वर बहुमुखी क्याम्पसमा भर्नाको विषयलाई लिएर लफडा भएपछि मनोनयन दर्ताको प्रक्रिया नै अगाडि बढ्न सकेन । निर्वाचन गराउन गठित निर्वाचन समितिका संयोजक सुरेश पोखरेलले नै पदबाट राजीनामा दिएका छन् । निर्वाचन समितिका प्रमुखले नै राजीनामा दिएपछि चुनाव अनिश्चित बनेको छ ।

विद्यार्थी भर्नाको विषयलाई लिएर विद्यार्थी संगठनबिच विवाद भएको थियो । नेविसंघले कलेजले भर्ना गर्दा विद्यार्थी संगठनको अनुहार हेरेर विभेद गरेको भन्दै आपत्ति जनाएको छ । क्याम्पसमा नेविसंघले प्रदर्शन पनि गरेको थियो ।

त्यस्तै पब्लिक युथ क्याम्पसमा समेत नोमिनेशन भएन । अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरिएको आरोप लगाउँदै तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया नै स्थगित भएको हो । त्यस्तै विश्वभाषामा समेत तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेन ।

तीबाहेक थापाथली इन्जिनियरिङ कलेजमा मनोनयनको विषयलाई लिएर लफडा भएको थियो । त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा समेत नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलासहितको टोलीले तालाबन्दी गरेको छ । आफ्नो लेटरहेडमार्फत आधिकारिक उम्मेदवार अनुज कार्कीको उम्मेदवारी खारेज गरिएको भन्दै तालाबन्दी गरेको हो ।

नेविसंघको केन्द्रीय कार्यालयले भने दिपक जोशी आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आएको छ । सोही आधारमा निर्वाचन समितिले जोशीको उम्मेदवारीलाई नेविसंघको आधिकारिक उम्मेदवार मानेको छ ।

त्यसपछि त्रिवि सभापति बडैलासहितका नेता–कार्यकर्ताले प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेका हुन् । केन्द्रीय क्याम्पसमा नेविसंघकै ६ जनाले बागी उम्मेदवारी दिएका छन् । जसमा नरेन्द्र साउद, पद्मा भुसाल, सनम ओली, पदम दाहाल लगायतले बागी उम्मेदवारी दिएका हुन् ।

त्यस्तै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा समेत तालाबन्दी गरिएको छ । स्ववियु निर्वाचन समितिको कार्यालयमा नेविसंघको असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै आगजानी गरेको छ । आगजनी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले बुधबार दिउँसो क्याम्पसभित्रको निर्वाचन कार्यालयमा आगजानी गर्नुका साथै निर्वाचन अधिकृत डाक्टर सुशील कुमार अधिकारीलाई कार्यकक्षमै थुनेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको छ ।

त्यस्तै गुल्मीको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । उम्मेदवारी दर्ताका फाइलहरू अनाधिकृत ढंगले जफत भएपछि स्वयिवु निर्वाचन स्थगित भएको हो ।

उपत्यकाबाहिर त्रिविका आंगिक क्याम्पसहरूमध्ये सुर्खेत बहुमुखी क्याम्पसमा समेत मनोनयन दर्ता हुन सकेन । त्यस्तै पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै  अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले तालाबन्दी गरेका हुन् । स्ववियु निर्वाचन प्रक्रिया अपारदर्शी भएको उनीहरूको आरोप छ । उनीहरूको तालाबन्दीपछि निर्वाचन प्रक्रिया नै स्थगित भएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् ।

मनोनयन प्रक्रियामा तोकिएको समयभन्दा ढिलो गरेको, चुनावी मर्यादा उल्लङ्घन भएकोजस्ता कारण लगाउँदै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा गमा गरेका हुन् । नयाँ निर्वाचन समिति गठन गर्नसमेत माग गरेका छन् ।

तालाबन्दीपछि दुवै संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन समिति गठन नहुँदासम्म तालाबन्दी नखुल्ने दुवै संगठनले प्रस्ट पारेका छन् ।

त्यस्तै रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा समेत निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थीहरूले तोडफोड गरेपछि निर्वाचन समितिले चुनाव प्रक्रिया स्थगित गरेको थियो ।

स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ताका लागि एमालेनिकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरू क्याम्पस प्रवेश गरेपछि फागुन १९ गते समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेका थिए ।

विभिन्न माग राखेर ती विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यकक्षमा गत आइतबार तालाबन्दी गरेका थिए । उनीहरूले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गरे पनि त्यसलाई बेवास्ता गर्दै निर्वाचनको प्रक्रियामा गएपछि असन्तुष्टि जनाउँदै आएका थिए । जसले गर्दा त्यहाँ अहिलेसम्म निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसकेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप