बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
वायु प्रदूषण

काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?

बुधबार, २८ फागुन २०८१, २० : ००
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका केही दिनयता विश्वकै प्रदूषित सहरमध्ये एक बनेको छ । आज काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थान देखिएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर बनेको छ । यहाँको वायु प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ । यो मापन साँझ ५ः३९ मिनेटको हो ।

यस्तै, फागुन २७ मा उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थानमै थियो । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार बिहान ११ः५० मिनेटमा यहाँको वायु प्रदूषण एक सय ८० एक्युआई पुगेको थियो ।

यस्तै, फागुन २६ गते काठमाडौँको वायु प्रदूषण विश्वमै तेस्रो स्थानमा थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १ सय ९७ थियो ।

उत्तरपश्चिम र दक्षिण पश्चिमबाट काठमाडौँ उपत्यकामा हावा प्रवेश गर्ने हावा उडेर पूर्वमा साँखुबाट बाहिरिन्छ । तर हावा नचल्ने, पानी नपर्ने भएकाले उपत्यकाको वायु गुणस्तर झनै खराब भएको हो । ‘एक पटक काठमाडौँ उपत्यकामा वायु प्रवेश गरेपछि यहाँबाट हावा निस्कन नसक्ने हुन्छ,’ वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले भने, ‘काठमाडौँ उपत्यकामा माथिल्लो तहमा हावाको वेग चल्ने तर तलको भागमा नचल्ने भएकाले हावा निस्कन सक्दैन । काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणमा आउन पानी नै पर्नुपर्ने हुन्छ ।’

काठमाडौँ उपत्यकामा मात्रै नभई देशभर नै वायु गुणस्तर खराब भएको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आज (फागुन २८ गते) साँझ ५ः४८ देशका १० वटा स्थानमा वायु गुणस्तर खराब देखिएको छ । यहाँका वायु गुणस्तर १२७ एक्युआई भन्दा बढी पाइएको छ । 

कैलालीको धनगढीको वायु गुणस्तर १२७ एक्युआई छ । यस्तै, दांगको देउखुरी १३० एक्युआई, चितवन भरतपुर ११७ एक्युआई, हेटौँडा एक्युआई ११८ रहेको छ । यस्तै, ललितपुरको खुमलटार १५८ एक्युआई, भैँसैपाटी एक्युआई १६२ रहेको छ । यस्तै, काठमाडौँको रत्नपार्क एक्युआई १५३ र शंखपार्कको एक्युआई १६२ रहेको छ । भक्तपुर एक्युआई १५१ र धनकुटा एक्युआई १५५ रहेको छ ।  

विश्व वायु गुणस्तर प्रतिवेदनले २०२४ मा नेपाल सातौँ अति प्रदूषित देश, काठमाडौँ उपत्यका आठौँ स्थानमा रहेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वास्थ्यकर’ हुन्छ ।  एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई  २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।  एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

केही दिन यता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसो हुनुमा कृषि अवशेष जलाउनु, वनमा डढेलो लाग्नु मुख्य कारण रहेको डा. दास बताउँछन् । ‘नेपालमा वायु प्रदूषण बढेको दुईदेखि तीन हप्ता भयो,’ डा. दासले भने, ‘यो सिजनमा कृषि अवशेष जलाउनु र वन डढेलो लाग्नु वायु प्रदूषणको मुख्य कारण हुन् ।’

डा. दासले उद्योग, सवारी साधनले वर्षभर नै वायु प्रदूषण हुने तर अहिलेको सिजनमा डढेलो र कृषि अवशेषका कारण वायुको गुणस्तर थप खस्किएको उल्लेख गरे । नेपालमा मुख्य गरी जाडो मौसम र हालको मौसम गरी दुई सिजनमा वायुको गुणस्तर घट्ने जोखिम हुन्छ । डा. दासले भने, ‘ड्राई सिजन भनेको चैत र वैशाख हो । यो दुई महिना वायु प्रदूषणको मुख्य खतराको सिजन मानिन्छ ।’

नेपालमा विशेष गरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ ।

  • के गर्ने ?

वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ । यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्नुपर्ने हुन्छ । विशेषतः काठमाडौँ उपत्यका लगायत देशभर नै वायु प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत सम्वद्ध अधिकारीहरूको सुझाव छ । वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुगेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गर्दछ । वायुको गुणस्तर खस्किएसँगै मास्को अनिवार्य प्रयोग गर्न चिकित्सकले सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप