बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा

बुधबार, २८ फागुन २०८१, १९ : ३३
बुधबार, २८ फागुन २०८१

पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले यो वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार दिने भएको छ । कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले प्राप्त अंकका आधारमा पुरस्कार घोषणा गरेको हो ।

पालिका अध्यक्ष विष्णु भट्टका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही १ लाख प्रोत्साहन रकम दिइनेछ । यस्तै, ३.९ देखि ९.९९ ल्याउनेलाई ५० हजार, ३.८ देखि ३.८९ ल्याउनेलाई २५ हजार, ३.७ देखि ३.७९ ल्याउनेलाई २० हजार, ३.६ देखि ३.६९ ल्याउनेलाई १५ हजार पुरस्कार दिने भट्टले जानकारी दिए ।

पालिकाबाट यो वर्ष नियमिततर्फ २९८ जना र ग्रेड वृद्धिमा ७३ जना गरी ३७१ जना सहभागी हुँदैछन् । एसईईको नतिजालाई उत्कृष्ट बनाउन यस्तो निर्णय गरिएको भट्टले बताए । ‘हामीले विगत वर्षहरूदेखि नै शैक्षिक गुणस्तर बढाउन सक्दो प्रयास गरेका छौँ । रिजल्ट पनि राम्रो आइरहेको छ,’ उनले भने, ‘यो वर्ष प्रोत्साहन रकम नै दिने घोषणा गरेका छौँ । रिजल्ट अझै राम्रो आउने विश्वास छ ।’

पालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको छ भने अभिभावक विहीन विद्यार्थीलाई छात्रबासमा राखेर १२ कक्षासम्मको निःशुल्क शिक्षा दिइरहेको छ । यस्तै, एमबीबीएस अध्ययन र स्नातकोत्तर तहमा अध्ययनरत दलित तथा बराम समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । भट्टले एसइईमा सहभागी विद्यार्थीको मनोबल उच्च बनाउन र अध्ययनको वातावरण तयार गर्न आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप