कोरम नपुगेको भन्दै सिन्धु विकास बैँकको साधारणसभा स्थगित

काठमाडौँ । प्रादेशिक स्तरको सिन्धु विकास बैँकको साधारण सभा स्थगित भएको छ । काभ्रेको बनेमा मुख्य कार्यालय भएको बैङ्कले बुधवारका लागि डाकेको साधारण सभा कोरम नपुगेको भन्दै स्थगित गरेको हो ।
धुलिखेलस्थित मिरावल रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजे बस्नेगरी बैंकको १४ औँ र १५ औँ साधारण सभा बोलाइएको थियो । सभाका लागि लागि ४४.५० प्रतिशत सेयर धनी हाजिरी पुस्तिकाले देखाउँछ । यो सङ्ख्या गणपूरक सङ्ख्याको लागि अपर्याप्त रहेको भन्दै साधारण सभा स्थगित गरिएको बैँक सञ्चालक समितिका अध्यक्ष दामोदर सुवेदी बताउँछन् ।
तर, बैंक सञ्चालक समितिले छलकपटपूर्ण ढङ्गबाट साधारण सभा स्थगित गराएको सेयर धनीको आरोप छ । साधारण सेयर धनीबाट प्रतिनिधित्व गर्ने रामहरि पौडेल साधारणसभा सुरु हुनुभन्दा अगाडि नै आफूहरुलाई खाना खान पठाएर आउन नभ्याउँदै साढे ११ बजे नै साधारण सभा स्थगित गरिएको बताउँछन् । कोरम पुग्ने डरले कतिपय उपस्थित सेयर धनीलाई हाजिर गर्न समेत नदिइएको उनको भनाइ छ ।
‘मैले त हाजिर गरेँ, सेयर धनी दुर्गाबहादुर श्रेष्ठलाई उपस्थित हुँदा पनि हाजिर गर्न दिइएन । अरू पनि चिनजानका ३४ जना साथीलाई हाजिर गर्न दिइएन । बरु साधारण सभा नै स्थगित गरिदिनुभएछ,’ पौडेल भन्छन्, ‘हामीले केही समय कुरौँ, कोरम पुग्छ, आजै साधारण सभा गरौँ भनेको उहाँहरूले मान्नुभएन, ११ः ३० नहुँदै सेयर धनी हाजिरी किताब बन्द गरिदिनुभयो, अनि कोरम पुगेन भन्दै साधारण सभा स्थगित गरिदिनुभयो ।’
बैंकका अध्यक्ष सुवेदी भने साढे १२ बजेसम्म सेयर धनीलाई कुरेर बसेको दाबी गर्छन् । ‘हामीले १२ः ३० बजेसम्म कुरेर बसेको हो । कोही आउनुभएन, आउने छाँटकाँट नै देखिएन, त्यसपछि स्थगित गरिएको हो,’ सुवेदी भन्छन्, ‘निहुँ खोज्न चाहने केहीले पुग्छ भन्नुभएको होला । आज कोरम पुग्ने अवस्था नै थिएन ।’
कम्पनी नियमावलीको व्यवस्था अनुसार साधारणसभामा पहिलोपटक ५० प्रतिशतभन्दा धेरै सेयर धनीलाई प्रतिनिधित्व गरेको सङ्ख्या भए मात्रै गणपूरक पुगेको मानिन्छ । दोस्रो पटक साधारण सभा आह्वान गर्दा भने २५ प्रतिशत सेयर धनीकै सहभागितामा गर्न सकिन्छ ।
पहिलो पटकको साधारण सभा स्थगित गराएर दोस्रो पटक एक चौथाइ सङ्ख्याले साधारण सभा गर्ने मनसाय अनुसार साधारण सभा स्थगित गरिएको सेयर धनीको आरोप छ । यसो गर्दा सर्वसाधारण सेयर धनीको आलोचना खेप्न नपर्ने र आफू अनुकूल निर्णय गर्ने निहित उद्देश्य रहेको उनीको आशंका छ ।
अध्यक्ष सुवेदी भने त्यस्तो विषय नभएको बताउँछन् । आफू कर्मचारी सञ्चय कोषको प्रतिनिधि भएकोले साधारण सभा रोक्नुपर्ने कुनै कारण नै नभएको उनको भनाइ छ ।
‘अघिल्लो पटक यस्तै कारणले अध्यक्षलाई ५ लाख तिराइयो । अहिले योबारे उहाँ अहिले पनि मुद्दा मामिलामा हुनुहुन्छ । म कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गरेको मान्छे हुँ । मलाई स्थगित गराएर के गर्नु छ र ? नभए पनि अहिले सेयर धनी निर्वाचन गर्ने एजेन्डा पनि थिएन, अरू त्यस्तो ठुलो केही पनि थिएन, मैले स्थगित गर्नुपर्ने कारण नै के छ र ?’ अध्यक्ष सुवेदी भन्छन्, ‘गणपूरक सङ्ख्या नै नपुगी साधारण सभा गर्ने कुरा त भएन नि । आज गणपूरक पुगेन अब चैत ८ मा अर्को साधारण सभा गर्नेगरी निर्णय भएको छ ।’
यो बैँकमा यसअघि पनि यस्तै यस्तै लफडा हुँदै आएको छ । यही समस्याका कारण अघिल्लो वर्षको साधारण सभा समेत अहिलेसम्म हुन सकेको छैन । साधारणसभामार्फत् २ः १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पास गर्नेसहितको बैंकको एजेन्डा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण