बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन

बुधबार, २८ फागुन २०८१, १८ : ४८
बुधबार, २८ फागुन २०८१

बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ कांग्रेस र एमालेको नालायकीका कारण इतिहास भइरहेको सामन्ती राजतन्त्रले टाउको उठाउने जमर्को गरेको बताएका छन् । 

मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई मङ्गलवार रुपन्देहीमा सम्बोधन गर्दै पुनले काँग्रेस र एमालेको कुशासन, भ्रष्टाचार र बेथितिका कारण निरङ्कुश राजावादी शक्तिले इतिहास भइसकेको पुरानै स्वर्ग फर्काउन सकिन्छ कि भन्ने प्रयत्न गरेको बताए । 

‘दुई तिहाइ गठबन्धनको नाममा सरकार चलाएका दुई दलले बिचौलिया वर्ग, स्वार्थ समूह र आफ्नो पार्टीको पनि सीमित गुटको स्वार्थमा सत्ताको दुरुपयोग गरिरहेका छन्’, पुनले भने, ‘शासनमा रहेकाहरूको नालायकीको फाइदा उठाएर निरंकुशतावादी प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिराखेका छन्  । मुलुकका लागि यी दुवै प्रवृत्ति घातक छन् ।’ 

जनताको बलिदानीपूर्ण संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई दलाल तथा पुँजीपति र बिचौलिया वर्गले सत्ता स्वार्थमा प्रयोग गरेका कारण जनता र खा गरी युवा वर्गमा व्याप्त निराशालाई प्रतिगामी शक्तिले व्यवस्थाविरुद्ध उपयोग गर्न खोजेको टिप्पणी पुनको थियो ।

उनले आफूहरूले जनयुद्ध लडेर ल्याएको गणतन्त्र, सङ्घीयता, समावेशीता तथा उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्गका अधिकार रक्षाको दायित्व पनि आफूहरूकै भएको बताए । उनले परिवर्तनमाथि धावा बोल्ने दक्षिणवादी प्रवृत्ति र यथास्तिवादी शक्तिविरुद्ध एकैसाथ प्रहार गर्ने नीतिसहित आफूहरू अगाडि बढ्ने उल्लेख गरे ।

‘दलाल तथा बिचौलियाहरुलाई प्रोत्साहन गर्ने कांग्रेस र एमालेको सरकारले जनतामा र त्यसमा पनि युवाहरूमा निराशा बाँडेको छ’, उनले भने, ‘आन्दोलनमार्फत किसान, महिला, मजदुर, उत्पीडित, जाति, क्षेत्र र वर्गले प्राप्त गरेको अधिकार रक्षा गर्ने र थप सशक्त गर्दै अगाडि बढ्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

फरक प्रसङ्गमा पुनले प्रचण्डले उत्पीडितहरूको आवाज बोलेका कारण सामन्त, जमिनदार, दलाल, भ्रष्टाचारी र बिचौलियाहरूले आफ्ना अध्यक्ष प्रचण्डमाथि प्रहार केन्द्रित गरेको बताए । ‘प्रचण्ड उत्पीडितहरूको आवाज हो’, उनले भने, ‘प्रचण्डको रक्षा हामी सबै उत्पीडित, जाति, क्षेत्र र वर्गको जिम्मेवारी भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप