बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?

बुधबार, २८ फागुन २०८१, १६ : ५१
बुधबार, २८ फागुन २०८१

ओट्टावा । सोमबार लिबरल पार्टीको अधिवेशनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो बिदाइ भाषण दिएका थिए । भाषण सकिए लगत्तै उनले आफ्नो कुर्सी उठाएर संसद्बाट बाहिर निस्किए । सामाजिक सञ्जालमा उनको एउटा तस्बिर भाइरल भइरहेको छ । यसमा उनी दुवै हातले कुर्सी उठाएर क्यामेरातिर आफ्नो जिब्रो देखाएर हिँडिरहेको जस्तो मुद्रामा देखिएका छन् । 

‘परम्परागत रूपमा, क्यानाडाली सांसदहरूलाई संसद्बाट बाहिर निस्कँदा आफ्नो कुर्सी पनि सँगै लैजान अनुमति दिइन्छ । मलाई यो परम्परा मन पर्छ । तर ट्रुडोको यो तस्बिर अनौठो छ । सायद यो चाँडै नै चुनाव हुने संकेत हो ।’ क्यानाडाली अखबार टोरन्टो सनका राजनीतिक हेर्ने एक पत्रकारले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट लेखेका छन् । 

  • ट्रुडोले भनेका थिए– आफूले गरेको काममाथि गर्व छ

आफ्नो बिदाइ भाषणको क्रममा ट्रुडो निकै भावुक भएका थिए । प्रधानमन्त्रीको रूपमा उनले अन्तिम पटक पार्टी र आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए । ‘मलाई गलत नसम्झिनु, विगत १० वर्षमा हामीले गरेको काममा मलाई धेरै गर्व छ, तर आजको राती हाम्रो पार्टीको रूपमा, एक देशको रूपमा हाम्रो भविष्यबारे हो ।’ भाषणमा उनले भनेका थिए । 

यस क्रममा ट्रुडोले समर्थकहरूलाई सक्रिय रहन आग्रह पनि गरेका थिए । ‘देशलाई पहिलेभन्दा बढी तपाईँहरूको आवश्यकता छ । लिबरल्सहरू यस पलको सामना गर्नेछन् । यो समय राष्ट्रलाई परिभाषित गर्ने क्षण हो । लोकतन्त्र र स्वतन्त्रताका लागि निरन्तर प्रयास आवश्यक हुन्छ । यसको लागि साहस, त्याग, आशा र कडा परिश्रम चाहिन्छ ।’ उनले भने । विगत १० वर्षमा हासिल गरेका सबै महान् कामहरूलाई आफूहरूले बिर्सनु नहुने अनि आगामी १० वर्ष र दशकहरूमा अझ धेरै हासिल गर्न प्रेरित हुनुपर्ने पनि उनले बताए । 

  • मार्क कार्नी निर्वाचित भए क्यानडाको नयाँ प्रधानमन्त्री

बैंक अफ क्यानडा र बैंक अफ इंग्ल्यान्डका पूर्व गर्भनर मार्क कार्नी क्यानडाको भावी प्रधानमन्त्री हुनेछन् । उनी जस्टिन ट्रुडोको ठाउँमा लिबरल पार्टीको प्रधानमन्त्री बन्नेछन् । आइतबार राति लिबरल पार्टीले भारी मतका साथमा कार्नीलाई आफ्नो नेतामा चयन गरेको थियो । कार्नीले ८५ दशमलव ९५ प्रतिशत मत पाएका थिए । 

प्रधानमन्त्री पदको दौडमा कार्नीले पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड, पूर्व सरकारी सदन नेता करिना गोल्ड र पूर्व संसद् सदस्य फ्र्याङ्क बेलिसलाई हराएका छन्। उनी कुनै पनि विधायिकी वा मन्त्रिपरिषद्को अनुभव बिना पहिलो क्यानाडाली प्रधानमन्त्री हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप