पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा

काठमाडौँ । सोमबार मध्यरात ११ बजेतिर गोकर्णेश्वरमा प्रहरी पुग्दा सुदन जोशी भर्खर डेरामा पुगेका थिए । स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वमा गएका प्रहरीले उनको डेरा खानतलासी गरे ।
काठमाडौँ–२० घर भएर गोकर्णेश्वर नगरपालिका–२ स्थित भाड गाउँमा डेरामा बस्ने जोशीको डेरामा पेस्तोल भेटियो । पेस्तोलसँगै १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
फागुन २६ मा प्रहरीले पक्राउ गरेर जोशीमाथी अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध हातहतियार तथा लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएको छ । उनी अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
३३ वर्षीय जोशी अपराधको दुनियाँका पुराना पात्र हुन् । उनलाई यसअघि पनि प्रहरीले धेरै पटक पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनलाई यसअघि ५ वटा आरोपमा पक्राउ गरिएको एसपी बोहराले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँले २०६८ असारमा अभद्र व्यवहार, २०६८ वैशाखमा लागुऔषध, २०६१ भदौमा अभद्र व्यवहार र २०६७ भदौमा अभद्र व्यवहार मुद्दा चलाएको थियो । २०७४ चैतमा प्रहरी वृत्त कालिमाटीले उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको अपराध रेकर्ड अभिलेखमा भेटाएको छ ।
आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ । उनले लागुऔषधको कारोबार समेत गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँमा पेस्तोल देखाएर जोशीले ‘असुली धन्दा’ चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पेस्तोल देखाएर उनले लागुऔषध कारोबार गर्नेहरूलाई धम्की दिने गरेको पाइएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘उसले लागुऔषध प्रयोगकर्तालाई धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ ।’
लागुऔषध कारोबार गर्नेहरूलाई डर देखाएर उनले आर्थिक फाइदा लिने गरेका थिए । एसपी बोहरा भन्छन्, ‘पेस्तोल कहाँबाट ल्याए र क–कसलाई धम्क्याए भन्नेबारे विस्तृत अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई