भन्सार जाँच पासपछि अनुसन्धानको नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरूको जोड

काठमाडौँ । नाकाहरूमा भन्सार जाँचपासपछि पनि अनुसन्धान विभिन्न नाममा मालसामान ल्याउन व्यवसायीहरूलाई दुःख दिने गरिएको भन्दै यसलाई रोक्न सांसदहरूले माग गरेका छन् ।
बुधवारको अर्थ समिति बैठकमा भन्सार विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूले अनुसन्धानका नाममा मालबाहक गाडीहरूलाई गन्तव्यसम्म जान नदिने पद्धतिको अन्त्य हुनुपर्ने बताएका हुन् । अर्थ समिति सभापति सन्तोष चालिसेले सरकारी संयन्त्रहरूले बाटोमै दुःख दिने पद्धति ठिक नभएको बताए ।
उनले भने–‘भन्सार ऐनमा गलत गर्नेलाई नियन्त्रणमा लिने व्यवस्था हुन्छ नै । तर धेरै व्यापारीहरूले बाटोमै तीन दिनसम्म अनुसन्धानका लागि रोकिएको बताएका छन् । २०० किलोमिटर फर्काएर लगेर पनि अनुसन्धान गरेको पाइयो । नियन्त्रणमा लिएपछि कारबाहीमा पर्ने तर बाटोमा रोक्नु हुँदैन ।’
एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी संयन्त्रहरू अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी भन्सार विभागलाई दिनुपर्ने हालको प्रस्तावित व्यवस्थामा असहमति राखे । उनले भने, ‘अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी गराउने होइन, जानकारी दिएर मात्रै नियन्त्रणमा लिनुपर्छ ।’
उनले भन्सार जाँचपासपछि मालवाहक गाडीहरूलाई निर्बाध रूपमा गन्तव्य ठाउँसम्म पुग्न दिनुपर्ने बताए । बाटोघाटोमा दुःख दिने काम दिनु नहुने भन्दै यसका लागि कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाई छ ।
राजश्व सचिव दिनेश घिमिरेले राजस्व नोक्सानी समेत नहुने गरी व्यावसायिक वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘व्यावसायिक वातावरण कसरी बनाउने र सरकारी राजस्व नोक्सानी कसरी हुन नदिने धार यहाँ छ । भारतसहितका देशमा अभ्यास भइसकेको छ, भन्सारमा जाँचपास भइसकेपछि अरू कसैले हेर्न नमिल्ने, यदि सूचना आयो भने पनि बिचमा दुःख दिन पाइँदैन भन्ने अभ्यास भयो । डब्लूटिओले पनि गैर करजन्य अवरोध आइलाग्छ, त्यसले बिजनेसको लागत बढाउने भएकाले त्यसले व्यापारमा सहजीकरण गर्दैन र गन्तव्यमै गएर अनुसन्धान गर्ने भन्ने उसको सिद्धान्त छ ।’
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय भन्सार कार्यालय वा राजस्व अनुसन्धानले पक्राउ गरेमा २४ घण्टाभित्र महानिर्देशकलाई जानकारी दिने व्यवस्था राखिएको बताउनु भयो ।
उनले भने, ‘राजश्व चुहावट सम्बन्धी सूचना आयो र तत्काल पक्राउ गर्नुपर्ने स्थिति आयो भने भन्सार विभागको महानिर्देशकको स्वीकृत लिएर गर्नुपर्ने व्यवस्था राखिएको हो । जरुरी परे तत्काल पक्राउ गरेर २४ घण्टा भित्र विभागमा जानकारी दिनुपर्ने प्रावधान समेत राख्न सकिन्छ ।’
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले जाँचपासका नाममा समेत विभिन्न दुःख दिने काम भएको बताए । जाँचपास गर्दा जुनसुकै सिलबन्दी गरिएका वस्तुलाई पनि कब्जा गरेर नियन्त्रण लिनेबारे ख्याल गरिनुपर्ने उनको भनाई थियो ।
बुधवारको अर्थ समिति बैठकले भन्सार विधेयकमा रहेको अस्थायी निकासी गर्न दिइने बारेका व्यवस्थालाई अनुमोदन गरेको छ । यससँगै कुनै वस्तुको कच्चा पदार्थ प्रशोधन वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्नको लागि वा कुनै वस्तु मर्मतको लागि वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैंक जमानत लिई अस्थायी निकासी गर्न कानुन अनुसार भन्सार अधिकृतले अनुमति दिन सक्नेछन् ।
भन्सार विधेयकमा रहेको पैठारी गरिएको वस्तुमा खराबी देखिएको, जुन उद्देश्यका लागि पैठारी गरिएको हो परिपूर्ति हुन नसकेमा त्यस्तो वस्तु भन्सार अधिकृतले फिर्ता पठाउन सक्ने प्रावधानलाई समेत समितिले पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?