बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

पुलिस क्लबको लगातार दोस्रो जित, कोशी प्रदेशको लगातार तेस्रो हार

बुधबार, २८ फागुन २०८१, १६ : १८
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई एक सय ५४ रनको फराकिलो अन्तरले हराएको हो । 

पुलिस क्लबले दुई खेलबाट चार अंक बटुलेको छ । पुलिस क्लबले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको थियो । हालसम्म तीन खेल खेलेको कोशी प्रदेशको भने यो लगातार तेस्रो पराजय हो । 

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । कोशी प्रदेशले भने ३६.२ ओभरमै अलआउट हुनुअघि एक सय ३४ रनमात्र बनाउन सक्यो । 

पुलिस क्लबको जितमा दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान गरे । ओपनर कुशल भुर्तेलले ६५ रनको योगदान गरे । उनले ७८ बलको सामना गरी दुई छक्का र दुईवटा चौका पनि हिर्काए । कुशल भुर्तेल र अर्जुन साउदले ओपनिङ विकेटका लागि ६९ रनको साझेदारी गरे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुनले पनि टोलीको खातामा ३८ रन थपे । उनले ४८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । मध्यक्रमका ब्याट्सम्यान दिलिप नाथले पनि टोलीका लागि ६१ रनको योगदान गरे । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका दिलिपले ६४ बलमा एक छक्का र चार चौका प्रहार गरे । रासिद खानले पनि टोलीको खातामा ३८ रन थपे । उनले केवल २५ बलमा एक छक्का र पाँचवटा चौका प्रहार गरेका थिए । 

कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ३९ बलमा ३२ रन बनाए । गुलसन झाले २४ बलमा एक छक्का र एक चौकाको मद्दतले २१ रन बटुले । पुलिस क्लबले अतिरिक्त रूपमा पनि १७ रन पायो । कोशी प्रदेशका बलर भूपाल लुइँटेलले तीन र प्रकाश कार्कीले दुई विकेट लिए । 

ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान अंकित सुवेदीले २१ रन बनाए । अर्का ओपनर चिराग साह केवल चार रनमा पेभेलियन फर्किए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका सकिब हकले १६ रन बटुले । फिरदोष अन्सारी पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । सुजन थपलियाले ३३ रनमा अविजित रहे । उनले ५२ बलमा दुई छक्का र दुईवटा चौका पनि हिर्काए ।

कोशी प्रदेशले अतिरिक्त रूपमा पनि २२ रन पायो । पुलिस क्लबका बलर करण केसी एक्लैले तीन विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिए । ललित राजवंशी र कुशल भुर्तेलले पनि दुई–दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप