बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल

बुधबार, २८ फागुन २०८१, १६ : ०९
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । नेपाल खेलकुद विश्वविद्यालयका सचिवालय सदस्य डा. ओमकृष्ण प्रसाईँ र अस्ट्रेलियाको सिड्नीस्थित नेपालका वाणिज्य दूत सञ्जीव शर्माबिच सिड्नीमा खेलकुद साझेदारीको विषयमा छलफल भएको छ ।

सिड्नीस्थित नेपाल वाणिज्य दूतावासमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–अस्ट्रेलिया खेलकुद साझेदारीका सम्भावनाहरू, प्रशिक्षण कार्यक्रम, छात्रवृत्तिको अवसर र खेलकुद विकासका विभिन्न आयामको विषयमा छलफल भएको जानकारी प्रसाईँले दिए । उनले छलफल सकारात्मक रहेको बताए ।

वाणिज्य दूत शर्माले प्रवासी नेपाली खेलाडीलाई समेट्ने नीतिगत अवधारणा आवश्यक रहेको उल्लेख गर्दै यसबारे राज्यका जिम्मेवार निकायलाई जानकारी गराएको बताए । अस्ट्रेलियाको व्यावसायिक खेल प्रणाली तथा आधुनिक खेल प्रविधिलाई अनुकरण गर्दै नेपालसँग सहकार्य गर्ने विषयमा पनि प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । 

अस्ट्रेलिया सरकारले खेलकुदतर्फ छात्रवृत्तिलाई प्राथमिकता राखेको वाणिज्य दूत शर्माले बताए । प्रसाईँले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको महत्वबारे प्रकाश पार्दै खेलकुदलाई बौद्धिक विशिष्टता प्रदान गर्न नेपाल सरकारले उपलब्ध गराएको शैक्षिक संरचनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । 

राष्ट्रिय खेलकुद परिषद्को पहलमा गठित खेलकुद विश्वविद्यालय कार्यदललाई थप अधिकार सम्पन्न बनाइएको जानकारी समेत उनले दिएका थिए । भेटका क्रममा वाणिज्य दूत शर्माले नेपाल खेलकुद विश्वविद्यालय र समग्र खेलकुद विकासका लागि प्रवासी नेपाली समुदायसँग सहकार्य गर्दै थप पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । प्रसाईँले मेलबर्नमा सम्पन्न मेलबर्न शिखर सम्मेलन–२०२५ मा पनि नेपाल खेलकुद विश्वविद्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप