बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
बेथिति

विकासमा बेथिति, जस पाउने होड

आधा निर्माण भइसकेको अस्पताल फेरि शिलान्यास गर्न नदिएको झोकमा अध्यक्षद्वारा भुक्तानी रोक
बुधबार, २८ फागुन २०८१, १६ : ००
बुधबार, २८ फागुन २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले पूर्वअध्यक्षद्वारा शिलान्यास अस्पताल भवनलाई आफूले फेरि शिलान्यास गर्न नपाए रकम नदिने अडान लिएपछि निर्माण कार्य ठप्प भएको छ ।

धनपालथान गाउँपालिका–५, बबिया टोलमा १५ शय्याको अस्पताल भवन तीन वर्ष अघि निर्माण सुरु भएको थियो । तर, पालिका अध्यक्ष गच्छदारले आफूले शिलान्यास गर्ने भन्दै पुनः कार्यक्रमको तयारी गरेका छन् । त्यसपछि वडाका जनप्रतिनिधि र पालिका अध्यक्षबिच विवाद उत्पन्न हुँदा निर्माण कार्य एक महिनादेखि रोकिएको छ ।

संघीय सरकारको १३ करोड ५९ लाखभन्दा बढी रुपैयाँ लगानीमा धनपालथान–४ का कर्णबहादुर राजवंशीको परिवारले दान दिएको १५ कट्ठा जग्गामा यो अस्पताल निर्माणाधीन छ । अस्पतालको शिलान्यास भने तत्कालीन गाउँपालिका अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदारले २०७८ चैत १४ गते गरेका थिए ।

त्यसपछि २०८० फागुन २० गते सम्झौता भएर गत भदौदेखि अस्पतालको औपचारिक निर्माण सुरु भएको छ ।

निर्माण व्यवसायी कम्पनी बस्नेत पी एण्ड जेभीका अनुसार हालसम्म अस्पतालको ३० प्रतिशत निर्माण कार्य भइसकेको छ । कम्पाउण्ड वाल र साढे २ तले अस्पताल भवनको बेसमेन्ट समेत तयार भइसकेको अवस्थामा दोहोरो शिलान्यासको विवाद सुरु भएको हो ।

hospital

वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारले पुनः शिलान्यास गर्ने कार्यको विरोध गरेका छन् ।

२०७९ को स्थानीय निर्वाचनबाट उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदार पुनः उही पदमा निर्वाचित छन् भने गाउँपालिका अध्यक्षमा कांग्रेसका जिवछप्रसाद गच्छदार निर्वाचित भएका छन् । अहिलेका अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यासको तयारी गरेपछि वडाध्यक्ष सरदारले आपत्ति जनाएका छन् ।

अस्पताल निर्माणको श्रेय आफूले लिन दोहोरो शिलान्यास गर्न लागिएको स्थानीय बताउँछन् । ‘सरकारले एक पालिका एक अस्पतालको नीति ल्याएपछि आफ्नै वडामा अस्पताल निर्माण गराउन दातासँग निकै परिश्रम र अनुनयविनय गरेर जग्गा प्राप्त गरेको थिएँ,’ वडाध्यक्ष सरदारले भने, ‘मैले समेत सहभागी भएर शिलान्यास गरेको अस्पतालको पालिका प्रमुखले फेरि शिलान्यास गर्ने तयारी भएको छ, यो अनुचित हो  ।’

स्थानीय बासिन्दाले पनि गाउँपालिकाले दोहोरो शिलान्यास गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘एक पटक शिलान्यास भएपछि फेरि पालिका अध्यक्षले शिलान्यास गर्छु भन्नु जग हँसाउने मेलो हो । यसो गर्नु हुँदैन । बरु हस्पिटलको भवन बनाएर उद्घाटन आफैँ गरे भयो नि,’ वडाअध्यक्ष सरदारले भने ।

silanish garna thau

यस विषयमा प्रतिक्रिया दिँदै पालिका प्रमुख गच्छदारले दोहोरो शिलान्यास नगरिने बताएका छन् । ‘पालिकाकै ठुलो प्रोजेक्टको रूपमा अस्पताल निर्माण सुरु भएकाले सामान्य पूजापाठ गर्न लागिएको हो,’ उनले भने ।

तर असन्तुष्ट पक्षका अनुसार, गाउँपालिका प्रमुख गच्छदार र उपप्रमुख नसिमा बानुले निर्माण व्यवसायीलाई काम सम्पन्न गरे अनुसारको बिलको भुक्तानी दिनसमेत आलटाल गरेका छन् । अनुगमन गर्न बाँकी रहेको भन्दै भुक्तानी नदिएपछि एक महिना यता निर्माण व्यवसायीले निर्माण कार्य रोकेको जनाइएको छ ।

अस्पताल निर्माणमा उत्पन्न विवादले स्थानीय बासिन्दाहरूलाई चिन्तित तुल्याएको छ । धनपालथान क्षेत्रका बासिन्दाहरूले वर्षौंदेखि स्वास्थ्य सेवाको पहुँचका लागि संघर्ष गर्दै आएका छन् । ‘हामीले अस्पतालका लागि जग्गादान गर्‍यौँ, तर राजनीतिक स्वार्थका कारण अस्पताल निर्माण प्रभावित हुँदै गएको छ,’ स्थानीय बासिन्दा रामनारायण राजवंशीले भने  ।

अर्का स्थानीय राजेन्द्र मण्डलले भने, ‘राजनीतिक स्वार्थका लागि विकास रोकिनु हुँदैन । जनप्रतिनिधिहरू जनताको स्वास्थ्य सेवाभन्दा आफ्नो श्रेय लिने होडबाजीमा छन्, यो दुःखद् कुरा हो  ।’

धनपालथान गाउँपालिकाका अधिकांश बासिन्दा विराटनगरसम्म स्वास्थ्य सेवाका लागि जानुपर्ने बाध्यता छ । स्थानीय अस्पताल निर्माण भएपछि यहाँका हजारौँ बासिन्दाले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

hospital lagat

‘अस्पताल जनताको आवश्यकता हो, नेताहरूको राजनीतिक खेलौना होइन । निर्माणाधीन संरचनाको पुनः शिलान्यास गर्नुभन्दा यसलाई तत्काल सम्पन्न गर्ने तर्फ ध्यान दिनुपर्छ,’ मण्डलले भने ।

यहाँका स्थानीयले गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको विवाद मिलाएर अस्पताल निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन् । ‘जनप्रतिनिधिहरूले एकापसमा समन्वय गरी निर्माण कार्य सम्पन्न गर्नुपर्छ,’ स्थानीय दिनेश मण्डलले भने, ‘अस्पताल निर्माण जनताको हित र विकासको लागि हो, कुनै राजनीतिक दलको उपलब्धि हासिल गर्ने माध्यम होइन ।’

निर्माण कम्पनी बस्नेत पी एण्ड जेभीका प्रबन्ध निर्देशक विनोद बस्नेतले भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको बताए । ‘हामीले लगभग ३ करोड बराबरको काम सकेका छौँ, तर अहिलेसम्म १ करोडमात्रै भुक्तानी पाएका छौँ,’ उनले भने, ‘पालिकाले अनुगमनमा ढिलाइ गर्दा भुक्तानी प्रक्रिया अवरुद्ध भएको छ । यस्तै अवस्था रहे तोकिएको समयमा अस्पताल निर्माण सम्पन्न गर्न कठिन हुनेछ ।’

निर्माण कम्पनीलाई अस्पताल निर्माण २०८३ असार मसान्तसम्ममा सक्ने गरी ठेक्का दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप