बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

रुसलाई मनाउने जिम्मा अब अमेरिकाको

बुधबार, २८ फागुन २०८१, १४ : ४९
बुधबार, २८ फागुन २०८१

किभ ।  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराम सम्झौतालाई समर्थन गरेका छन् । तर रुसलाई यो सम्झौताका लागि राजी गराउने जिम्मा उनले अमेरिकालाई दिएका छन् । युक्रेनले युद्धविराम सम्झौतामा सहमति जनाएपछि जेलेन्स्कीको यो बयान आएको हो । 

‘युक्रेन युद्धविराम सम्झौताको स्वागत गर्दछ । हामी यसलाई सकारात्मक रूपमा लिइरहेका छौँ । हामी यस्ता कदम चाल्न तयार छौँ । अब अमेरिकाले यसका लागि रुसलाई पनि मनाउनुपर्छ । हामी तयार छौँ र यदि रुस पनि सहमत भयो भने युद्धविरामले काम गर्नेछ’ युद्धविराम प्रस्तावको स्वागत गर्दै युक्रेनी जेलेन्स्कीले भने । 

साउदी अरबको जेद्दा शहरमा युक्रेन र अमेरिकाका प्रतिनिधिमण्डलबिच वार्ता भएको थियो । मङ्गलवार भएको वार्तामा युक्रेनको तर्फबाट राष्ट्रपतिका सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सहभागी भएका थिए । युक्रेनले युद्धविराम सम्झौतामा युरोपेली सङ्घलाई पनि समावेश गर्न माग गरेको छ । अमेरिकाको तर्फबाट विदेशमन्त्री मार्काे रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज बैठकमा उपस्थित थिए । 

केही दिनअघि ह्वाइट हाउसको ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबिचको बैठकमा चर्काचर्की भएपछि रिसाउँदै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर जानकारी बन्द गरेको थियो । ३० दिने युद्धविराम सम्झौता अन्तर्गत अमेरिकाले फेरि युक्रेनलाई गुप्तचर जानकारी उपलब्ध गराउनेछ । अमेरिकाले पनि रुसलाई यो युद्धविराम सम्झौतामा सहमत गराउने प्रयास गर्नेछ । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेद्दामा अमेरिका र युक्रेनी प्रतिनिधिहरूबिच भएको वार्ता र त्यसमा भएको युद्धविराम सहमतिप्रति खुसी व्यक्त गरेका छन् । ‘अब बल स्पष्ट रूपमा रुसको कोर्टमा छ ।’ सामाजिक सञ्जालमा शेयर गरिएको एक पोस्टमा म्याक्रोँले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप