बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै

बुधबार, २८ फागुन २०८१, १४ : ३१
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको छ । विश्व छैटौँ पुस्ताको इन्टरनेट टेक्नोलोजीमा रमाइरहेको बेला दोस्रो पुस्ताको इन्टरनेट ‘टुजी’ बढ्दै गएको पाइएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ को वैशाखमा १४ लाख ७१ हजार टुजी’  प्रयोगकर्ता थिए । माघसम्म आइपुग्दा यो संख्या ३२ लाख ६५ हजार प्रयोगकर्ता पुगेका छन् । यो आधारमा १० महिनामा मात्रै ‘टुजी’ का प्रयोगकर्ता १७ लाख ९३ हजारले थपिए देखिन्छ । 

माघसम्मको तथ्यांक हेर्ने हो भने नेपालमा टुजी भन्दा थ्रीजी चलाउनेको संख्या कम छ । यो अवधिमा ९ लाख २० थ्री जीका प्रयोगकर्ता छन् भने फोर जीका प्रयोगकर्ता २ करोड ५१ लाख प्रयोगकर्ता पुगेका छन् । विश्वमा द्रुत गतिको मोबाइल इन्टरनेट ‘फाइभ जी’ को व्यावसायिक सेवा सुरु भएको पाँच वर्ष बितिसकेको छ । 

दूरसञ्चार प्राधिकरणका अधिकारीका अनुसार ‘टुजी’ प्रयोगकर्ता नेपालको ग्रामीण भेगमा धेरै रहेको बताएका छन् । प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले शहरी भेगमा भन्दा नेपालको ग्रामीण भेगमा टुजीका प्रयोगकर्ता रहेको बताए । उनले भने– ‘शहरी भेगमा टुजी प्रयोगकर्ता त्यति धेरै छैनन् । ग्रामीण भेगका मोबाइलमा टुजीको प्रयोग अझै  गर्ने गरेको पाइयो । टुजीपछिको प्रििवधका बारेमा आम सर्वसाधारण सचेत छन तरपनि भूगोलका कारण प्रविधिको पहुँच पुर्‍याउन केही प्राविधिक समस्या आएका हुनसक्छन् ।’

सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भइरहेको टुजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टुजी सेवा बन्द गर्ने टेलिकमको योजना छ । प्रविधिमा समुन्नत कतिपय मुलुक छैटौँ पुस्ताको (सिक्स जी) सेवाका लागि जुटिरहँदा नेपालमा फाइभजीकै व्यावसायिक सुरुवात कहिले हुन्छ भन्ने टुंगो छैन ।

अहिलेकै कानुनी तथा नीतिगत व्यवस्थामा फाइभ–जी सेवा अपग्रेड गर्दा भौतिक पूर्वाधार, फ्रिक्वेन्सी लगायतका विषयमा सेवा प्रदायकको लागत बढ्न जाने उनीहरू बताउँछन् । यद्यपि फाइभ–जी को सन्दर्भमा भने प्राधिकरणले नयाँ शुल्क तय गरिसकेको छैन । तर, प्रविधि अपग्रेड गर्दा लाग्ने लागत अनुपातमा आम्दानीमा वृद्धि हुने सम्भावना सेवा प्रदायकले कम देखेका छन् ।

फाइभ–जीमा जान राज्यको नीतिमै परिवर्तन हुनुपर्ने उनीहरूको माग छ । सरकार वा दूरसञ्चार प्राधिकरणले फाइभ–जी को विषयमा स्पष्ट नीति घोषणा गरिनसकेको कारण उनीहरू ‘पर्ख र हेर’को अवस्थामा समेत रहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । 

दूरसञ्चार प्राधिकरणले २०७७ चैतमै नेपाल टेलिकमलाई फाइभ जी परीक्षण गर्ने अनुमति दिएको थियो । परीक्षणका लागि प्राधिकरणले बढीमा एक वर्षसम्मका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी टेलिकमलाई निःशुल्क उपलब्ध गराएको थियो । 

परीक्षणमा प्रयोगकर्तालाई निःशुल्क फाइभ जी चलाउन दिनुपर्ने, परीक्षण अवधि सकिएपछि फ्रिक्वेन्सी फिर्ता लिने, परीक्षणका लागि स्वीकृति दिएको तीन महिनासम्म पनि उपकरण आयात र जडानको प्रगति नदेखिए प्राधिकरणले स्वीकृति फिर्ता लिन सक्ने जस्ता प्रावधानसहित फाइभ जी कार्यविधि बनाइएको थियो । 

नेपाल टेलिकमले दुई वर्षपछि पनि फाईभजीको अध्ययन जारी रहेको बताउँदै आएको छ । औपचारिक रूपमा यसबारे बोल्न नमाने पनि कम्पनीका अधिकारीहरू अनौपचारिक कुराकानीमा  कहिलेबाट फाइभ–जी सुरु हुन्छ यकिन नभएको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप