क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण : चारवटा प्याकेजमा ठेक्का, एउटा प्याकेज जाइकालाई दिइने

काठमाडौँ । सरकारले बाढीले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि ४ वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ । फागुन मसान्तभित्र चार वटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले चार वटा प्याकेजमा ठेक्का आह्वान गरिने र त्यसमध्ये एउटा प्याकेज जाइकालाई निर्माण गर्न दिने तयारी भएको जानकारी दिए । ‘स्टिमेट फाइनल हुनु पर्यो । अब छिटोभन्दा छिटो ठेक्का खुलाउँदै छौँ । पहिला स्टिमेट क्लियर रूपमा हेरेर प्याकेज छुट्याउँदैछौँ । प्याकेज छुट्ट्याइ अझै तिन वटा प्याकेज छुट्ट्याउने तयारी भइरहेको छ । तर कहाँदेखि कहाँसम्म भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन,’ उनले भने, ‘स्ट्रक्चरको हिसाबमा प्याकेज छुट्ट्याउँछौँ । अहिलेसम्म चारवटा भन्ने छ । अझै बढ्न पनि सक्छ । अस्ति नै पेस गरेको डिजाइन रिभ्यु गर्नुपर्छ ।’
यसमध्ये पहिलो प्याकेज नेपालथोक–बर्खे खोला सडक खण्ड को ठेक्का आह्वान गरेको छ । बुधबार सडक डिभिजन खाल्टे सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडक खण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनर्निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
अब बाँकी तीनवटा प्याकेजमध्ये एउटा प्याकेज पुनर्निर्माणका लागि जाइकालाई दिने बताउँदै जापानलाई पर्खिँदा एउटा प्याकेजको ठेक्का आह्वान गर्न ढिलो हुनसक्ने महानिर्देशक पोखरेलको भनाइ छ ।
‘जापानी आए भने एउटा प्याकेज पर्खिनु पर्ने हुन्छ । जाइकासँग तीन-चार चरणमा छलफल पनि भएको छ । तर जाइकाले लगानी गर्ने/नगर्ने अहिलेसम्म फाइनल भएको छैन,’ महानिर्देशक पोखरेलले भने,‘उसले गर्ने भए ७/१० दिनसम्म कुर्छौँ ।’
- साढे आठ अर्ब लागतमा स्थायी पुनर्निर्माण गरिने
बीपी राजमार्ग स्थायी पुनर्निर्माणमा ४ वटा प्याकेजमध्ये एउटा प्याकेज जाइकालाई पुनर्निर्माणका लागि दिने तयारी भएको छ । एउटा प्याकेज जाइकाले पुनर्निर्माण गरेर बाँकी सरकार आफ्नै लागतमा गर्ने भएको छ ।
यसअघि यो राजमार्ग जाइकाले आफ्नै आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरेको थियो । धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको सन् २००५ मा निर्माण सुरु गरेको थियो । करिब १० वर्षपछि २६ अर्ब येन लागतमा २०१५ मा यसको निर्माण सम्पन्न भएको थियो । यसपछि २०७२ सालको भूकम्पमा यो सडक क्षति पुगेको थियो । करिब ५ स्थानमा भासिएको यो सडक जाइकाले आफ्नै लागतमा पुनर्निर्माण गरिदिएको थियो । जाइकाले निर्माण गरिदिएको हुनाले पुनर्निर्माणका लागि पनि एउटा प्याकेज जाइकालाई दिने तयारी छ ।
यो सडक कुल साढे आठ अर्ब रुपैयाँ लागतमा स्थायी पुनर्निर्माण गर्ने तयारी छ । सरकारले यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि साढे आठ अर्ब बजेटको स्रोत सुनिश्चितता दिएको छ । प्रारम्भिक अध्ययनअनुसार ९ अर्ब ६६ करोड लागत लाग्ने देखिएको थियो । तर, एक अर्ब बजेट घटेर ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको हो ।
- नेपालथोक–बर्खे खोला खण्डलाई १ करोड ८२ लाखको ठेक्का
सडक डिभिजन खाल्टे सिन्धुलीले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत पहिलो प्याकेज नेपालथोक–बर्खे खोला खण्डको ठेक्का आह्वान गरेको छ । बुधबार सडक डिभिजन सिन्धुलीले नेपालथोक देखि बर्खे खोला सडक खण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनर्निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
सडक डिभिजन खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का आह्वान गरेको जानकारी दिए । ‘यो खण्ड स्थायी पुनर्निर्माण गर्दा आरसीसी वाल लगाई माइक्रो पाइलिङ प्रविधिबाट सडक निर्माण गरिने छ,’ उप्रेतीले भने,‘मेजर खण्डमा आरसीसी वाल लगाउनु पर्ने देखिएको छ ।’
उनकाअनुसार यो सडक खण्ड निर्माणका लागि ठेक्का आह्वान गरेको मितिले एक महिनाभित्र आवेदन दिनु पर्नेछ । आवेदन पछि निर्माण कम्पनी छनोट गरी निर्माणको सम्झौता गरिने छ । साथै निर्माण कम्पनीले सम्झौता गरेको दुई वर्षसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग करिब भकुण्डेबेशीदेखि नेपालथोकसम्म ३२ किलोमिटर सडकमा क्षति पुगेको छ । जसमध्ये करिब ८.७ किलोमिटर सडक खण्ड नदीले कटान गरी पूर्ण रूपमा क्षति पुगेको छ । हाल अस्थायी ट्रयाक र्निमाण गरि सञ्चालनमा ल्याइएको छ । साथै यो सडक वर्षामा समेत सहज रूपमा सवारी सञ्चालनका लागि दोस्रो चरणको अस्थायी पुनर्निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार