नेताको कुकर्मले गणतन्त्र बदनाम भयो : प्रभु साह

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरूको कुकर्मका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन् । तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले भ्रष्ट एवं दलाल दल तन्त्रको विरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज एक भिडियो अपिल जारी गर्दै उनले आउँदो २४ चैतमा दलाल दल तन्त्रको अन्त्य हुने घोषणा गरेका छन् । आजापाले २४ चैतमा काठमाडौँको भृकुटी मण्डपमा खबरदारी सभा एवम् काठमाडौँमा प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा साहले जारी गरेको भिडियो अपिलमार्फत दल तन्त्रको अन्त्य नै वर्तमान सङ्कटको समाधान भएको जनाएका छन् ।
‘आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरूको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरू मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लाचार छन्’, आजपा अध्यक्ष साहले भने– ‘कसैको अगाडी कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिँदैछ । नेपाली जनताको सपना खोसिएको छ ।’
केही गर्न विदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरूले निर्माण गरेको आरोप उनले लगाए । पढ्नेदेखि रोजगारका लागि बिदेसिने क्रम बढेको बताउँदै यो सबै अवस्थाको सृजना शासनमा रहेका नेताहरूले निर्माण गरेको उनले बताए ।
‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरु आज लास बनेर फर्किरहेका छन् । यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरूको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनशास छ, विकास बिलाएको छ, कर आतङ्क छ, महँगी आतङ्क छ । हाम्रो प्राकृतिक सम्पदाहरूको खुलेआम विक्री र दोहन भइरहेको छ । जनता दिनदिनै वैदेशिक ऋणमा थिचिँदैछन् । यी तमाम सङ्कटको अन्त्यका लागि तपाईं हामी अगाडी आउनैपर्छ’, साहले भने ।
नागरिकलाई दास बनाउने र युवालाई लास बनाउने यी पार्टी र नेताहरूबाट आस गर्नु भनेको ठुलो धोखा हुने उनले जनाएका छन् । जस्तो फ्याक्ट्री हुन्छ उत्पादन पनि त्यस्तै हुने बताउँदै अहिलेको व्यवस्था नै लुटकारी भएको बताए । लुटकारी व्यवस्था रहेसम्म जनताको कल्याण नहुने र जनताको भविष्य पनि उज्ज्वल नहुने बताउँदै उनले दलाल लुटकारी दलतन्त्रको बिरुद्धमा जनता सडकमा आउनुको विकल्प नभएको बताए ।
‘इतिहास साक्षी छ, हिजो पञ्चायती व्यवस्थामा पञ्चहरू मोटाए, आज दल तन्त्रमा दलका नेताहरू मोटाइरहेका छन् । त्यसैले जनता मोटाउन जनताको शासन चाहिन्छ । जनताको शासनका लागि दल तन्त्रको अन्त्य हुन आवश्यक छ । त्यसैले आजपाले आह्वान गरेको जनताको शासनका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन चैत २४ गते काठमाडौँको भृकुटी मण्डप जाऔँ’ आजपा अध्यक्ष साहले भने ।
२४ चैतमा जनआन्दोलन दिवसकै दिन भ्रष्टाचार विरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतङ्क, भ्रष्टाचार, अनियमितता विरुद्ध संघर्ष गर्दै आएको छ । गत वर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौँको भृकुटी मण्डपबाट दलाल दल तन्त्रको विरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन