बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पूर्वराजाको समर्थनमा र्‍याली

पूर्वराजाको स्वागत र्‍यालीमा योगी आदित्यनाथको फोटो बोक्ने राणा भागेर पुगे गोरखपुर

बुधबार, २८ फागुन २०८१, १७ : ००
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेका छन् ।

उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको भनाइ छ ।

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको नवभारत टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।

राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’

आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन् । उनले भनेका छन्, ‘यस क्रममा मैले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ । मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हो । धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु ।’

आदित्यनाथसँग भेटघाट भएको छैन

राणाले योगी आदित्यनाथसँग आफ्नो भेट कहिल्यै नभएको बताएका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनलाइन संस्करणमा राणालाई उद्धृत गर्दै भनिएको छ, ‘मैले कुनै भारतीय राजनेतासँग भेट गरेको छैन, पैसा लिनु त परको कुरा । म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीको सम्मान गर्दछु । मेरो गल्ती यत्ति हो ।’

आफू नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने पक्षमा संघर्षरत रहेको राणाले बताएका छन् ।

‘म निकै मुस्किलले लुक्दै–भाग्दै त्यहाँबाट निस्किएँ । नेपालमा राजतन्त्र पुनर्वहाली गर्ने र फेरि नेपाललाई हिन्दु राष्ट्र बनाउने आफ्नो लडाइँ मेरो सास रहुन्जेलसम्म जारी राख्छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप