बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मनाइयो

बुधबार, २८ फागुन २०८१, ११ : २०
बुधबार, २८ फागुन २०८१

दाङ । देउखुरीको गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मङ्गलवार विविध कार्यक्रमका साथ मनाइएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तीमगरले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले स्थानीय तह २२ वटा एकल अधिकार सम्पन्न स्वायत्त निकाय भएको र ५ वर्षको स्थिर सरकार सञ्चालन गर्ने अख्तियारी प्राप्त निकाय भएकोले बलियो सरकार भएको बताए ।  देशको विकास र समृद्धिमा स्थानीय सरकारको निकै महत्त्वपूर्ण हात रहने उनले बताए । आफ्नो कानुन आफै बनाएर ५ वर्ष नहल्लिएरै काम गर्न सक्ने निकाय स्थानीय सरकार भएकोले सङ्घीय प्रणालीको महत्त्वपूर्ण अङ्ग भएको उनले बताए ।

सङ्घीयता नेपालका लागि पहिलो अभ्यास हो, यसलाई आर्थिक व्ययभारका रूपमा मात्र होइन राजनीतिक रूपमा बुझ्नु पर्छ, कतिपय पश्चगामी शक्तिहरूले यसलाई गलत ढङ्गले प्रचारबाजी गरिरहेका छन् यसको कार्यान्वयन र लोकतन्त्रबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नु सबै राजनीतिक दलहरूको कर्तव्य भएको उनले औँल्याए ।

प्रदेश र सङ्घमा स्थायी सरकार नहुने अवस्थाले सत्ता सञ्चालनमा अस्थिरता पैदा हुने गरेकाले पनि काम गर्न असहज हुने गरेको र केही जमातहरूबाट लोकतन्त्र र सङ्घीयता टिप्पणीको विषय भएको उनले बताए । स्थानीय तह निजामती ऐन बन्दै गरेको र केही जटिलताहरू फुकाउने गृहकार्य भइरहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारुले लोकतन्त्रको आगमन भएपश्चात् देशमा विकास र समृद्धिले फड्को मारेको बताउँदै सङ्घीयता र गणतन्त्रको विरुद्धमा गलत अफवाह फैलाउने गणतन्त्र विरोधी शक्ति भएको टिप्पणी गरे ।

स्थानीय सरकार स्थायित्वको स्वायत्त सरकार भएकोले यसको माध्यमबाट स्थानीय लेभलमा कृषि, स्वास्थ्य, शिक्षा लगायत मानव संसाधनको विकास र उत्पादनमुखी प्रणाली अघि बढाउन धेरै सम्भावना छ–उनले भने ।

स्थानीय सरकार गाउँपालिकाको अवधारणबाट नगरपालिकामा रूपान्तरण गर्ने सबै खालका संरचनाको विकास नहुँदै उपमहानगरपालिकामा रूपान्तरण गर्ने बहस र सपना देख्नु चिया पसलमा राजनीतिक बेराेजगारहरुले गर्ने गफ भएको उनले टिप्पणी गरे । स्थानीय सरकारलाई नै जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी व्यवस्थित ढङ्गले चलाऔँ, अहिले नगरपालिकाको संरचना विकास नहुँदै गाउँपालिकाहरूलाई उपमहानगर बनाउने सपना देखेर आम  जनताहरूलाई राजश्व तिर्ने व्ययभार नथपौँ–उनले आम नागरिकको पक्षमा बोले ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रकाश विष्ट, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादव र गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहज राम यादव लगायतले बोलेका थिए । सो अवसरमा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र पालिका स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद कार्यक्रमका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप