ह्वाइट हाउसमा एलन मस्कको उदय

एलन मस्क आफ्नो भर्भराउँदो युवा उमेरमै अमेरिका छिरेका हुन् । उनी सुरुमा आजको जस्तो विचारको पक्षमा आफूलाई उभ्याउँदैनथे । सिलिकन भ्यालीमा आफ्ना दौतरीहरूमाझ उनी आफूलाई अरुजस्तै उदारवादीका रूपमा प्रस्तुत गर्थे ।
उनले विगतमा ओबामालाई भोट हाले । त्यसपछि पनि हिलारी क्लिन्टन र जो बाइडेनलाई भोट हाले । उनी आफूलाई ‘मध्यपन्थी’ भन्ने गर्थे । कुनै बेला आपसी जमघट हुँदा उनका दक्षिण अफ्रिकी पिताले डोनाल्ड ट्रम्पको पक्ष लिएर बोलेको सुन्दा उनलाई लज्जाबोध हुन्थ्यो ।
तर, एकाएक उनी फेरिए । उनले रिपब्लिकन पार्टीको समर्थनमात्रै गरेनन् । उनी त ट्रम्पको निर्वाचन अभियानमै होमिए । राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेको पहिलो दिन उनी ट्रम्पको काँधमा आफ्नो दाहिने हात राख्ने हैसियतमा आइपुगे । हामी यसलाई उनको दक्षिणपन्थी राजनीतिको भङ्गिमाका रूपमा पनि हेर्न सक्छौँ ।
यसरी उदारवादको बाटो बिचमै छोडेर हिँड्ने मस्क एक्ला व्यक्ति होइनन् । तर, यसरी छोडेर गएपछि उनको जस्तो व्यापक शक्ति भने थोरैले मात्र हात पारेका छन् ।
मस्कलाई सरकारी खर्च कटौती गर्ने उद्देश्यसाथ बनेको ‘सरकारी दक्षता विभाग’ को जिम्मा दिइएको छ । यस्तो जिम्मा दिएर ट्रम्पले आजको दिनमा मस्कलाई अमेरिकामा मात्रै होइन, विश्वभरि नै अमेरिकी नीतिलाई हेरेफेर गर्न सक्ने अधिकार दिएका छन् ।
उनले आफ्नो अधिकार प्रयोग गर्न सुरु गरिसकेका छन् । संघीय सरकारको दुई ट्रिलियन अमेरिकी डलर खर्च घटाउने नाममा उनले हजारौँ कामदारलाई बिदा गरिसकेका छन् । केही सरकारी विभागहरू पूर्ण रूपमै बन्द हुन थालेका छन् ।
गत हप्ता मस्कको निसानामा परेको युएसएआईडी अहिले बन्द भइसकेको छ । यससँगै संसारभर हङ्गामा मच्चिएको छ । अमेरिकाले ६० वर्ष लगाएर खडा गरेको सौम्य कूटनीति एकै झट्कामा भुइँमा असरल्ल छरिन पुगेको छ ।
अमेरिकी राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मस्कले उनको ध्येय ‘लोकतन्त्रको पुनर्स्थापना’ भएको बताएका छन् । तर, उनका विरोधीहरू यस्तो कुरा मान्न तयार छैनन् । उनीहरूका अनुसार उनको गतिविधि नै गैरकानुनी छ ।
यी तमाम परिस्थितिमाझ के चाहिँ पक्का हो भने उनको महत्त्वाकाङ्क्षा अमेरिकामा मात्रै सीमित छैन । उनी बेलायत र जर्मनीको राजनीतिमा पनि हस्तक्षेप गरिरहेका छन् । त्यहाँका लोकप्रियतावादी तथा आप्रवासी–विरोधी पार्टीहरूको समर्थनमा खुलेर सक्रियता देखाइरहेका छन् ।
उनको मनसायलाई ध्यान दिएर नियाल्ने हो भने आगामी दिनमा के हुँदैछ भन्ने भेउ पाउन सकिन्छ । यसका लागि ‘द टेलिग्राफ’ ले मस्कलाई व्यक्तिगत रूपमा चिन्ने वा उनलाई अलि राम्रोसँग बुझ्ने आधा दर्जन जति मान्छेसँग कुराकानी गरेको छ ।
उनीहरू मस्कलाई एउटा कल्पनाशील, अथक परिश्रमी साथै संवेदनशील र सहजै बुझ्न नसकिने मान्छेका रूपमा चित्रण गर्छन् । उनीहरूका अनुसार मस्क लामो समयदेखि वाक स्वतन्त्रतामा दृढ विश्वास गर्ने व्यक्ति हुन् । उनलाई ब्रह्माण्डको खोजमा गहिरो चासो छ । उनी ब्रह्माण्डीय भविष्यको सन्दर्भमा आफूलाई विशेष र निर्णायक भूमिकामा राख्न खोज्छन् ।
मस्कको जीवनका घुम्तीहरूबारे उनका सहयोगीहरू अनेक तर्कना गर्छन् तर, पछिल्लो दक्षिणपन्थी छनोटबारे भने उनीहरू झण्डै उस्तै तर्क गर्छन् । उनीहरूका अनुसार यस्तो घुम्तीका पछाडि मस्कका विविध व्यक्तिगत सरोकार जिम्मेवार छन् ।
- अफ्रिकाबाट बाहिर
एलन मस्क सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका हुन् । उनको प्रारम्भिक बाल्यकाल तत्कालीन समयमा रंगभेदको चपेटामा रहेको दक्षिण अफ्रिकाको अंग्रेजी भाषी मध्यम वर्गीय परिवारमा बित्यो ।
उनको हुर्काइ मूलतः जातीय रूपमा विभाजित मुलुकमा भएको हो । उनका विरोधीहरू उनले सचेत वा अचेत रूपमा रंगभेदको पूर्वाग्रह आज पर्यन्त बोकेको दाबी गर्छन् ।
स्टिभ वेनन दक्षिणपन्थी विचारक हुन् । उनले ट्रम्पको अघिल्लो कार्यकालमा केही समय ट्रम्पको रणनीतिकार तथा सहयोगीको भूमिका समेत निभाएका थिए । वेननले गएको महिना मस्कको आलोचना गर्ने क्रममा दक्षिण अफ्रिकाका गोराहरूलाई ‘धर्तीकै सबैभन्दा नश्लवादी मान्छे’ भएको बताएका थिए ।
केही व्यक्तिहरू यसलाई अझ मसिनो गरी बताउँछन् । एलन मस्कका पिता एरोल मस्क कुनै समय रंगभेद विरोधी ‘प्रोग्रेसिभ पार्टी’ मा पनि आबद्ध थिए तर, उनी धेरै समय त्यहाँ रहेनन् । उनका अनुसार एलन आफ्ना अन्य भाइ–बहिनीसहित उदार विश्वदृष्टिकोणमै हुर्के ।
उनका अनुसार अमेरिका पुगेपछि उनीहरूले आफूलाई राजनीतिबाट टाढै राखे । उनीहरूको यस्तो सोचका पछाडि गोरा दक्षिण अफ्रिकी हुनुको कलंकको भावको पनि भूमिका थियो ।
मस्कले आफ्नो आधारभूत दर्शनबारे भनेका छन्– ‘१२–१३ वर्षको हुँदा मैले जीवनको मूल्यबारे अस्तित्व संकटको अनुभव गरेको थिएँ । त्यसबेला मैले धेरै किताब पढेँ, जसमा धार्मिक तथा दार्शनिक पुस्तक पनि थिए । मैले केमात्रै पढिनँ होला ! सोपेनहावर र नित्से पनि पढेँ ।’
उनले यो कुरा जर्मनीको अति दक्षिणपन्थी एएफडीका नेता एलिस वेइडेलसँग भएको अनलाइन कुराकानीमा भनेका हुन् । ‘मैले त्यसबेला द हिचिकर्स गाइड टु द ग्यालेक्सी पनि पढेँ’, उनले थपे ।
डगकस आडम्सले लेखेको उक्त अनुपम आख्यानमा कुनै अति–मेधावी चेतनाले ‘सुपरकम्युटर’ बनाउँछ । त्यसको काम जीवन, जगत र सबैकुरासँग जोडिएका ठुला प्रश्नको जवाफ खोज्नुमा हुन्छ ।
उसले बनाएको कम्प्युटरले जवाफ पनि दिन्छ । जवाफमा केवल ‘४२’ भन्ने आउँछ । साथै यसले अझ बलियो कम्प्युटर बनाएर मात्र यसलाई ठम्याउन सकिने बताउँछ ।
एलन मस्कका अनुसार त्यही सन्दर्भले उनको जीवनमा ठुलो मोड ल्यायो । उनी भन्छन्, ‘त्यसले मलाई चेतनाको स्तर र दायरा फराकिलो पार्ने काम गर्न प्रेरित गर्यो । त्यसो गर्दा हामी प्रकृतिबारे अझ गहन प्रश्न गर्न सक्ने अवस्थामा पुग्छौँ । यसले हामीलाई ब्रह्माण्डबारेका जवाफ दिन्छ ।’
उनी थप्छन्, ‘यसै गरी हामी ब्रह्माण्डलाई अझ गहिरो बुझ्नेतिर जानुपर्छ ।’ डगलस आडम्स प्रेरित चेतना विस्तारदेखि अमेरिकी सरकारको खर्च घटाउने हुँदै जर्मनीको अति दक्षिणपन्थी राजनीतिको समर्थन गर्नेसम्म आइपुगे उनी । बाटो सरल र सहज रूपमा बोधगम्य छैन ।
एकाएक ट्रम्पतर्फ ढल्केपछि, युएसएआइडीमाथि हमला गरेपछि तथा अमेरिका, बेलायत र जर्मनीका अति–दक्षिणपन्थीको समर्थनमा उभिएपछि पनि मस्कलाई नजिकबाट चिन्नेहरू उनमा डगलस आडम्स प्रेरित हुटहुटी अझै कायमै रहेको ठान्छन् ।
‘त्यो उनको प्रिय पुस्तक हो । त्यसले उनलाई धेरै प्रेरित गरेको छ,’ जर्मनीका दक्षिणपन्थी पत्रकारले मस्कलाई एएफडीमा परिचय गराउने क्रममा भनेकी थिइन्, ‘यदि तपाईंले एक्सको एआई ग्रोक एलन मस्क के कुराबाट प्रेरित छन् भनेर सोध्नुभयो भने त्यसले पनि द हिचहाइकर्स गाइड टु द ग्यालेक्सीकै नाम लिन्छ ।’
- अमेरिका
सन् १९८९ को बर्खामा मस्क क्यानडाको दुर्गममा रहेको सहर स्विफ्ट करेन्ट नजिकैको कृषि क्षेत्रमा आइपुगेका थिए । त्यसबेलाको मस्कलाई सम्झिँदा उनका एक जना नातेदार भाइ परिश्रमी र नम्र युवकको रूपमा सम्झन्छन् ।
मस्क त्यहाँ खेती गर्न गएका थिएनन् । उनी नामिबिया र अंगोलासँग दक्षिण अफ्रिकाले लडिरहेको युद्धमा पठाइने डरले एक किसिमले भागेर त्यहाँ पुगेका थिए ।
त्यसपछि उनले उत्तर अमेरिका छोडेनन् । सन् १९९२ मा मस्क विद्यार्थी आदान–प्रदान कार्यक्रम अन्तर्गत ओन्टारियो विश्वविद्यालयबाट पेएन्सिल्भानिया पुगे । त्यसको दुई वर्षपछि उनी क्यालिफोर्नियाको सिलिकन भ्यालीमा दुई वटा कम्पनीमा एकैसाथ ‘इन्टर्नसिप’ गर्न थाले ।
उनी दिउँसो ऊर्जा भन्डारण सम्बन्धी कम्पनीमा काम गर्थे भने राति भिडियो गेम बनाउने कम्पनीमा काम गर्थे । सन् १९९५ सम्म आइपुग्दा उनी क्यालिफोर्नियामा आफ्नो भाग्य चम्काउने क्षेत्रमा जोडिइसकेका थिए । उनले आफ्ना भाइ किम्बल मस्कसँग मिलेर ‘जिप–२’ नामको अनलाइन डाइरेक्टरी सुरु गरिसकेका थिए ।
उनीहरूले यो कम्पनी बेचेलगत्तै मस्कले भुक्तानी समबन्धी काम गर्ने ‘पेपाल’ सुरु गरे । त्यसपछि यो कम्पनी ‘इबे’ नामको व्यापारिक संस्थालाई बेचेर उनी १ सय ७६ मिलियन डलर कमाउन सफल भए ।
- मंगल ग्रह
यस दौरान मस्कले राजनीतिमा आफ्नो रुचि खासै देखाएनन् । यद्यपि उनीसँग काम गरेका केही मानिस भने सन् २०२० ताका उनको राजनीतिक रुपान्तरणको केही उतार–चढाव देखिएको बताउँछन् । यी उतार–चढावहरूमा पहिलो थियो रातो ग्रह अर्थात मंगल ग्रह ।
पेपाल बेचेर जम्मा भएको ठुलो धनराशीले मस्कलाई अझ नयाँ कामबारे सोच्न प्रेरित गर्यो । विभिन्न विकल्प खोज्दै जाँदा अन्तरिक्ष खोज तथा विद्युतीय कारमा पुगेर रोकिएका उनले एकदिन फ्रान्सको अन्तरिक्ष एजेन्सीका लागि मंगल ग्रह सम्बन्धी परियोजनामा काम गरेका अमेरिकी रकेट विज्ञ जिम कान्ट्रेललाई फोन गरे ।
‘शुक्रबारको दिन दिउँसोको समय थियो । म कामबाट घर जाँदै थिएँ । उनले मलाई फोन गरे । मेरो नाम साथीबाट पाएको तथा आफूले गर्न चाहेको मंगल ग्रह अभियानका निम्ति रूसी रकेटहरू किन्न आवश्यक भएको बताउन थाले । हाम्रो कुरा त्यसरी सुरु भएको थियो,’ क्यान्ट्रेल सम्झिन्छिन् ।
‘उनी सुरुदेखि नै मंगल ग्रहका बारेमा कुरा गरिरहेका थिए । यहाँ सबै मंगल ग्रहको कुरा छ । उनी जे गर्छन्, सबै मंगल ग्रहसँग जोडिएको हुन्छ । मैले बुझेको कुरा यही हो । एलनले गर्ने सबै कुरा मंगल ग्रहको बारेमा हुन्थ्यो । वर्षौंसम्म मान्छेहरू यस्तो कुरा गर्दा मलाई पागल ठान्थे । अहिले उनी यसबारे खुलेआम भन्दैछन् ।’
रूससँगको रकेट सम्झौता सफल हुन सकेन । तर, कान्ट्रेल मस्कको कम्पनी बन्न पुगे । कान्ट्रेल त यतिसम्म विश्वस्त छन् कि मस्कले ट्रम्पसँग अँगालो हाल्नुको पछाडि मंगल ग्रहमा पुग्नेमात्र नभएर त्यहाँ बसोबास गर्ने र आत्मनिर्भर सहर निर्माण गर्ने सपनातर्फको एउटा पाइला पनि हो ।
कान्ट्रेल थप्छन्, ‘मस्क अमेरिकी सरकारलाई पनि यही उद्देश्यमा उपयोग गर्छन् जस्तो लाग्छ ।’
- जिद्दी
मंगल ग्रहमा जाने कुरामा अविराम प्रयत्न गरेको उदाहरणले उनको लक्ष्यप्रतिको एकनिष्ठ केन्द्रीकरण देखाउँछ । उनलाई नजिकबाट चिन्नेहरू उनी आफ्नो लक्ष्यमा पुग्न व्यसनकै स्तरमा लाग्ने उनको स्वभाव अन्य क्षेत्रमा पनि लागु हुने बताउँछन् ।
‘उनी असाध्यै दत्तचित्त भएर लाग्छन् । प्राविधिक रूपमा सक्षम छन् । व्यावसायिक सम्भावनाबारे पनि असाध्यै सजग छन्,’ सुर्रे सेटलाइट टेक्नोलोजी कम्पनीका संस्थापक तथा कार्यकारी अध्यक्ष प्रा.मार्टिन स्विटिङ भन्छन्, ‘उनी सार्है एकाग्र छन् । उसलाई यसक्रममा के कुरा गुमाउनु पर्छ भन्ने चिन्ता पनि छैन ।’
मस्कले लगानी गरेको कम्पनीमा केही समय काम गरेका स्विटिङका अनुसार मस्क आफ्नो विचारमा प्रस्ट मान्छे हुन् । मस्कको कुरासँग सहमत हुँदा उनी असाध्यै गज्जब मान्छे हुन् तर, कुरा बाझिँदा भने उनलाई सम्झाउन धेरै नै अप्ठ्यारो हुन्छ । विरलैमात्रै उनी प्राविधिक सन्दर्भमा गलत साबित भएका छन् ।
यस्तै स्वभावका कारण स्पेस एक्समा कर्मचारीहरू भित्रिने र बिदा हुने दर उच्च भयो । कोहीले मस्कको काम गर्ने दैनिक कार्यसूचीबाट दिक्दार भएर छोडे । कसैले चाहिँ मस्कले आफूलाई ठिक लागेको कुरामा गर्ने जिद्दी सहन नसकेर पनि छाडे ।
‘तपाईं या त एलनको कुरामा सहमत हुनुहुन्छ नत्र उनको काममै रहनुहुन्न,’ एक जना पूर्वकर्मचारीले आफ्नो पहिचान नखुलाउने सर्तमा भने ।
‘मस्क आफूलाई ट्विटरमा मान्छेहरू के भन्छन् भन्ने कुरामा असाध्यै ध्यान दिन्छन्’ टेस्लाका अर्का पूर्वकर्मचारी भन्छन्, ‘कहिलेकाहीँ त कस्तोसम्म हुन्थ्यो भने हामी केही विषयमा छलफल गरिरहेका हुन्थ्यौँ । उनी ट्विटरमा केही फरक कुरा भेट्थे अनि आफूले हफ्तौँ लगाएर बनाएको योजना यत्तिकै छोडिदिन्थे ।’
सन् २०१८ मा एउटा गज्जबको घटना भयो । भर्मन अनस्वर्थ नामका बेलायती थाइल्यान्डमा ओडारमा फसेका केटाकेटीको उद्धारमा गएका थिए । त्यतिबेला उनले मस्कलाई बालबच्चाप्रति अनावश्यक आकर्षण देखाएको अर्थमा ‘पेडो गाइ’ भनेको भनेर मुद्दा नै दर्ता भयो ।
यो मुद्दामा मस्कका वकिलले जितेको दाबी गरे । यसक्रममा उनले माफ मागेको भनियो साथै आपत्तिजनक ट्विट मेटियो । यही घटनाले पनि उनलाई आफ्नो आवेग र तीव्र ट्विट गर्ने आदतले कसरी समस्यामा पार्छ भन्ने देखाउँछ ।
‘हो मस्क साँच्चै प्रतिभावान छन् । सम्भवतः मैले भेटेकामध्ये सबैभन्दा प्रतिभावान उनै होलान् तर, उनी अधैर्य छन् । उनी सिल्लीहरूलाई हल्का रूपमा भने लिँदैनन् । उनको विचारमा आइक्यु स्तर १२० भन्दा तल भएका सबै सिल्ली नै हुन् । उनी चाँडै निष्कर्षमा पुगिहाल्छन्’, कान्ट्रेल भन्छन् ।
- सीमाहीन स्वतन्त्रता
चरित्रमा भएको उल्लेखित खोट उनको चरित्रको अर्को समस्यासँग जुध्छ । मस्क आफूलाई ‘निरपेक्ष वाक स्वतन्त्रता’ को हिमायती ठान्छन् । उनी ‘स्टार ट्रेक’ चलचित्रमा देखाइएको ‘कोबायासी मारु समस्या’ सँग लगेर जोड्छन् । जहाँ सफलता हात पार्न असम्भवजस्तो लाग्ने परीक्षण पार गर्नुपर्ने हुन्छ । उनी आफूलाई त्यस्तै अवस्थामा देखाउन खोज्छन् ।
आजभोलि मस्कका आलोचकहरू उनको वाक स्वतन्त्रताप्रतिको अधिक पक्षधरतालाई अरुले के बोल्ने भनेर तोक्ने स्वतन्त्रतासँग लगेर जोड्ने गर्छन् । मस्कले आफ्नो स्वामित्वमा रहेको एक्समा विभिन्नखाले आलोचनात्मक विचार राख्ने पत्रकारलाई प्रतिबन्ध लगाएका छन् ।
भलै वाक स्वतन्त्रताप्रतिको उनको चासो हेर्दा राम्रो देखिन्छ तर वास्तविक जीवनमा आइपुग्दा यसको स्वरुप अर्कै देखिएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा जब उनीहरूको एक जना साथी वर्ल्ड ट्रेड सेन्टरमा भेटिएनन्, उनीहरू असाध्यै चिन्तित भएर दिनभर खोजिरहे ।
अन्ततः उनीहरूको साथी जिउँदै फेला परे । उनी टावर ढल्नु अघिनै निस्किन सफल भएका रहेछन् । साँझमा त्यो घटनाको समीक्षा गर्दै ट्रम्पले एउटा भविष्यवाणी गरेका थिए ।
‘यो देश संसारको महान देश थियो तर अब रहँदैन । किनभने आजको आक्रमणजस्ता खतराबाट जोगाउनका लागि सरकारले केही नागरिक स्वतन्त्रता हनन् गर्नैपर्ने हुन्छ । यसो गर्दा यो देशको आत्मा मर्छ र त्यसमा त्यसमा वाक स्वतन्त्रता पनि पर्छ’, मस्क भन्छन् ।
यी तिनै एलन मस्क थिए, जो झण्डै २० वर्षपछि संसारको सबैभन्दा धनी व्यक्ति भए । सिलिकन भ्यालीका अत्यन्तै सफल सीईओ भए । जसमा सामाजिक सञ्जालको लत, आलोचकप्रतिको असंवेदनशीलता र वाक स्वतन्त्रता भन्दा पर केही राजनीतिक धारणा र मंगल ग्रहलाई उपनिवेश बनाउने आकांक्षा छन् ।
- बाइडेनको अपमान
मस्कसँग कुनै समय राम्रो सम्बन्ध नरहेका उनका पिता एर्रोलका अनुसार एलनको जीवनमा सन् २०२१ मा ठुलो मोड आयो, जब तत्कालीन राष्ट्रपति बाइडेनले अमेरिकाका सबै अग्रणी कार निर्माता कम्पनीका सीईओलाई राष्ट्रपति निवासमा बोलाए । त्यो छलफल कसरी विद्युतीय सवारी उत्पादनबाट धेरै रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेबारे थियो ।
यो छलफलमा एउटा अनुपस्थिति उल्लेखनीय थियो । तिनताका मस्कको कम्पनी टेस्ला बिक्रीका हिसाबले सबैभन्दा ठुलो कार उत्पादक कम्पनी थियो तर, मस्कलाई ह्वाइट हाउसमा बोलाइएन । मस्कले यसलाई अपमानका रूपमा लिए । कारण जे सुकै हुन सक्थ्यो । भन्दाखेरी भने त्यहाँ कार्यरत मजदुरको युनियन नभएको भनिएको थियो ।
पछि पनि बाइडेनले आफ्नो मन्तव्यको क्रममा टेस्ला र मस्कलाई उल्लेख गर्न मानेनन् । बरु उनले अर्को अमेरिकी कम्पनी जेनेरल मोटर्सको प्रशंसा गर्न भ्याए । लगत्तै सन् २०२२ को जनवरीमा मस्कले बाइडेनलाई ‘मान्छेका रूपमा भिजेको मोजाको कठपुतली’ भनिदिए । साथै बाइडेनले ‘अमेरिकी जनतालाई मुर्ख ठानेको’ आरोप लगाए ।
दशकौँसम्म डेमोक्र्याटिक पार्टीलाई मत दिएका उनी त्यसै वर्षको मार्चमा सार्वजनिक रूपमै रिपब्लिकन पार्टीको समर्थनमा उभिए ।
- संस्कृति युद्ध
सामान्य अवस्थामा अर्बपतिहरूले न्यून करको समर्थन गर्नु कुनै आश्चर्यजनक विषय हुने थिए तर, परिस्थिती अर्कै हुँदै थियो । अमेरिकाको राजनीतिक लडाइँको स्वरुप नै फेरिएको थियो ।
जब बाइडेनले विद्युतीय सवारी साधनबारेको शिखर सम्मेलनमा मस्कलाई बेवास्ता गरे । यसले अमेरिकी राजनीतिमा विद्यमान गहन मुद्दाहरू प्रतिबिम्बित गर्यो । डेमोक्र्याटहरूसँग मस्कको झगडाले गर्दा मस्कप्रति वामपन्थीहरूबाट आक्रमण हुन थाल्यो । त्यसले उनलाई स्तब्ध बनायो ।
उनलाई अभिव्यक्ति स्वतन्त्रतामा उनको विश्वाससँग जुध्दै वामपन्थीहरूले उनीसँगको असहमतिलाई थप नराम्रो बनाउँदै लगेको महसुस भयो । उनका बुवाका अनुसार यही द्वन्द्वले मस्कलाई आलोचकहरूसँग प्रत्यक्ष लड्नकै लागि ट्विटर किन्न बाध्य बनायो ।
यसबिच मस्कले व्यक्तिगत जीवनमा पनि प्रतिकूलता भोग्नु पर्यो । सन् २०२२ मा उनका छोरा जेभियर ट्रान्सजेन्डरको रूपमा खुले । उनी भिभियन जेना विल्सन बने र, मस्कसँग सम्बन्ध तोडिदिए । मस्कले आफ्नो छोराको उपचारमा संलग्न डाक्टरहरूले उनको शरीरमा हेरफेर गर्ने कागजातमा आफूलाई झुक्याएर हस्ताक्षर गराएको भन्दै उनीहरूलाई ‘दुष्ट’ भने ।
उनका छोराले मस्कका यी आरोप अस्वीकार गरे । उनले मस्कले आफूलाई राम्रोसँग चिन्नसमेत नसकेको आरोप लगाएका थिए । यस्तो पारिवारिक अप्ठ्यारोले मस्कलाई ठुलै प्रहार महसुस भयो । उनी ‘वोक दिमाग भाइरस’ भनिने परम्परावादीहरूले नयाँ चेतनालाई लगाउने आरोपको पक्षमा उभिए । अब उनी नयाँ उदार विचारविरुद्धको धर्मयुद्धमा सामेल भए ।
उनले डाक्टर पिटरसनसँग कुरा गर्दै भने, ‘मैले अब यसलाई ध्वस्त पार्ने संकल्प गरेको छु ।’
- बेलायत
हामी यो अवधिमा मस्कको राजनीतिक विश्वासमा आएको व्यापक परिवर्तनलाई उनका एक्सका पोष्टहरू हेरेर पनि बुझ्न सक्छौँ । सन् २०२२ देखि २०२३ सम्म आइपुग्दा उनले आफ्ना कम्पनीहरू टेस्ला र स्पेस एक्सबारे गर्ने पोष्ट घटे भने राजनीतिबारे गर्ने टिप्पणी चार गुणाले बढे ।
ती धेरैजसो पोष्ट अमेरिकी राजनीति र डोनाल्ड ट्रम्पबारे थिए । उनका पोष्टमा ‘वोक माइन्ड भाइरस’, ‘स्नोफ्लेक’, ‘पिसी पोलिस’, ‘रेड पिल’ तथा ‘सामाजिक न्याय योद्धा’ जस्ता सन्दर्भ अत्यधिक देखा पर्न थाले ।
ट्विटरमा उनको सक्रियता अझै बढ्दै गयो । सन् २०२२ मा पाँच हजार तीन सय ३० पोष्ट गरेका उनले सन् २०२३ मा १३ हजार तीन सय १३ वटा पोष्ट गरे । सन् २०२४ मा यो अझै बढ्यो । उनी सार्वजनिक छलफलमा तानिँदै गए ।
जब सन् २०२४ मा बेलायतको साउथपोर्टमा भएको हत्याको विषयलाई लिएर दङ्गा हुन थाल्यो । मस्कले यस्तो हिंसालाई अनियन्त्रित आप्रवासनसँग लगेर जोडे । उनले एक्सको एउटा पोष्टमा लेखे, ‘गृहयुद्ध अवश्यंभावी छ ।’
बेलायती सरकारले उनलाई अराजकताको आगोमा घिउ थपेको आरोप लगायो । साथै त्यसै वर्षको अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा निम्तो गर्न पनि मानेन । मस्कले यसबारे नकारात्मक प्रतिक्रिया दिए । सर, किएर स्टार्मरको प्रधानमन्त्री कालबारे मस्क असाध्यै असहिष्णु हुँदै गए ।
बेलायतको लोकप्रियतावादी दक्षिणपन्थीसँगको सहकार्यको प्रयास पनि अपेक्षित रूपमा सफल भएन । डिसेम्बरमा बेलायतको रिफर्म पार्टीका प्रमुख निग्ले फराजसँग उनको संक्षिप्त भेट भयो । यो भेट मार–आ–लागोस्थित ट्रम्पको निवासमा भएको थियो ।
यो भेटमा उक्त पार्टीलाई एक करोड अमेरिकी डलर बराबर सहयोग गर्नेबारे केही सल्लाह भएको थियो । यो सम्बन्ध पनि सहज रहन सकेन । लगत्तै फराजले टमी रबिन्सनलाई मस्कले गरेको समर्थनमाथि प्रश्न उठाए । मस्कले तुरुन्तै लेखे ‘रिफर्म पार्टीलाई नयाँ नेता चाहिन्छ । फराजसँग चाहिने कुरा छैन ।’
फराजले यसलाई हाँसेर उडाउने प्रयास गरे । फराजले मस्कको टिप्पणीलाई अमेरिकी समाजमा सामान्य मानिने वाक स्वतन्त्रताका रूपमा हेरेका थिए तर, तनाव बढ्दै गयो । फराजले हालै एक्समा आएको एक भिडियो हटाउन अनुरोध गरे । उक्त भिडियोमा तीन जना बालबालिकालाई मार्नु अघि आक्रमणकारीले हेर्दै गरेको आतंकवादी दृश्य थियो ।
तर, मस्कले अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै उक्त भिडियो हटाएनन् ।
- जर्मनी
मस्कले एक्समार्फत गर्ने राजनीति जर्मनीमा राम्रै हुँदै थियो । सन् २०२४ को वर्षायामको समयमा मस्कले एक्समा कुनै पोष्टमा श्रीमती सेबिटलाई जवाफ दिँदै लेखे, ‘जब–जब म जर्मनीमा एएफडी पार्टीबारे लेख्छु वा बोल्छु यत्ति धेरै नकारात्मक प्रतिक्रिया किन आउँछन् ? मैले बुझ्नै सकेको छैन ।’
श्रीमती सेबिटलाई उनले व्यक्तिगत रूपमै ‘म्यासेज’ पठाएर यो प्रश्न सोधेका थिए । पछि सेबिट एएफडीको समर्थक भइन् । मस्क खुसी भए । उनले एक्समा उक्त पार्टीको समर्थनमा लेख्न थाले ।
त्यसै वर्ष डिसेम्बरमा मस्कले ‘वेल्ट आम सोन्टाग’ मा एउटा लेख लेखे । उक्त लेखमा एएफडी पार्टीलाई जर्मनीको ‘आशाको अन्तिम झिल्को’ भनेका थिए । उनका अनुसार त्यस पार्टीले मात्रै ‘आर्थिक र सांस्कृतिक रूपमा भिरको डिलमा पुगेको’ जर्मनीलाई जोगाउन सक्थ्यो ।
लगत्तै अर्को महिना सेबिटकै आग्रहमा मस्कले श्रीमती वेइडेललाई एक्सको संवादमा निम्तो गरे । जहाँ उनले ‘द हिचिकर्स गाइड टु द ग्यालेक्सी’ प्रतिको आफ्नो लगाबबारे व्याख्या गरेका थिए ।
करिब एक घन्टा चलेको संवादमा उनले जर्मनीका नागरिकहरू एएफडीको समर्थनमा लाग्नुपर्ने अन्यथा जर्मनीको अवस्था अझै खराब हुँदै जाने घोषणा गरेका थिए । त्यही संवादमा श्रीमती वेइडेलले हिटलर दक्षिणपन्थी नभएको दाबी गरेकी थिइन् ।
त्यसको दुई हफ्तापछि जर्मनीमा एएफडीले गरेको एउटा सभामा भिडियोमार्फत बोल्दै उनले जर्मनीलाई ‘विगतको हिनता’बाट बाहिर निस्कन सुझाव दिएका थिए । उनले ‘बहुसंस्कृतिको नाममा जर्मनीले आफ्नो संस्कृति र मूल्य गुमाउनु नहुने’ बरु ‘गर्व गर्नुपर्ने’ बताएका थिए ।
उनले एएफडीको घोषणापत्रलाई पनि जातीवादी वा फाँसीवादी नभएको बताएका थिए । जर्मनीको आन्तरिक खुफिया एजेन्सीका अनुसार एएफडीको युवा संगठन उग्रवादी संगठन हो । गत नोभेम्बरमा उक्त पार्टीले आफ्ना तीन जना कार्यकर्तालाई सशस्त्र विद्रोहको योजना बनाएको आरोपमा निष्काशित गरेको थियो ।
गत वर्ष नै उक्त पार्टीका वरिष्ठ नेताहरूले हिटलरको नाजी पार्टीको सशस्त्र संगठन वाफेन एसएसको पक्षपोषण गरेकोमा लज्जास्पद अवस्था भोग्नु परेको थियो । जर्मनीका चान्सलर ओलाफ स्कल्जले मस्कको हस्तक्षेपलाई नरसंहारको इतिहासमा घिनलाग्दो गतिविधि भनेका थिए ।
मस्कले वेल्ट आम सोन्टागमा लेखेको लेख प्रकाशन गरेको भन्दै उक्त प्रकाशनका विचार खण्डका सम्पादकले राजीनामा गरेका थिए । जर्मनीमा कन्सेन्ट्रेसन क्याम्पको स्मारक चलाइरहेका इतिहासकार क्रिश्चियन वाग्नर मस्कको विश्वासलाई ‘पागलपन र अतिदक्षिणपन्थी उग्रवादको मिश्रण’ मान्छन् ।
- स्वास्थ्य
केही मानिस एलन मस्कको अनियमित व्यवहार पागलपन पनि हुन सक्ने दाबी गर्छन् । सन् २०२४ मा केही प्रतिवेदनहरूले दाबी गरे अनुसार मस्कले ‘एलएसडी’, ‘कोकेन’ र ‘केटामाइन’ जस्ता लागुपदार्थको प्रयोगले टेस्ला र स्पेसएक्सका हाकिमहरू चिन्तित भएको देखाएको थियो ।
मस्कले भने यस्ता आरोप अस्वीकार गरेका छन् । उनका अनुसार उनले नासाको औषधि परीक्षणमा भाग लिएका थिए । उनको व्यवहार लागु पदार्थको कारणले नभएर उनको पृथक शैलीकै कारणले त्यस्तो देखिन गएको हुन सक्छ । उनी लगातार ट्विट गर्छन् । दिनमा औसत एक सय ३४ ट्वीट हुन्छ उनको ।
प्रायः छोटो टिप्पणी वा इमोजीसहित जवाफ दिइरहेका हुन्छन् । राति अबेरसम्म पनि ट्विटरमा सक्रिय रहन्छन् । मस्ककी समर्थक सेबिट भने मस्क साँच्चै मानवता बचाउन चाहन्छन् भन्ने कुरामा विश्वास गर्छिन् । उनका अनुसार न्यूरालिङ्क र मंगल ग्रह उपनिवेशीकरण जस्ता मस्कका परियोजनाहरूले मानव चेतना विस्तार गर्ने उद्देश्य बोक्छन् ।
उनी मस्कको दृष्टिकोणलाई ‘द हिचिकर्स गाइड टु द ग्यालेक्सी’ प्रतिको लगावसँग पनि जोडछिन् । चर्चित जीवनकथा लेखक वाल्टर आइज्याकसन जस्ता मस्क नजिकका मानिसहरू उनी शक्ति वा पैसाले नभएर साहसी अभियानले प्रेरित छन् भन्छन् ।
तिनीहरू मस्कलाई स्वच्छ ऊर्जा र सुरक्षित एआईजस्ता ठुला मानवीय समस्या समाधान गर्न चाहने व्यक्तिको रूपमा समेत हेर्छन् । धेरै मानिसहरू यस्ता तर्कसँग असहमत छन् । उद्यमी फिलिप लो भन्छन्, ‘मस्कले अरू सबैभन्दा आफू श्रेष्ठ छु भन्ने ठान्छन् ।’
उनका अनुसार मस्कले मानिसहरूलाई झुक्याउन र सामर्थ्य हासिल गर्नकै लागि ‘वाक स्वतन्त्रता’ र अन्तरिक्ष यात्रा जस्ता विचारहरू उपयोग गर्छन् । सिनेटर क्रिस मर्फीजस्ता मस्कका आलोचकहरू उनले बदलाको लागि पनि आफ्नो प्रभाव प्रयोग गर्ने तर्क गर्छन् ।
उनीहरूका अनुसार दक्षिण अफ्रिकामा उनको आक्रमण स्टारलिङ्कलाई त्यहाँ लाइसेन्स अस्वीकार गरेपछि सुरु भएको हो । मस्कले यस्ता दाबीबारे टिप्पणी गरेका छैनन् तर, उनीबारे विचारहरू विभाजित छन् । उनलाई दूरदर्शी वा शक्तिको भोको जेसुकै भनौँ , एउटा कुराचाहिँ पक्का हो– उनी नाटकीय तरिकाले संसार हल्लाउन सक्छन् । उनी धेरै कुरा गर्न सक्छन् र, उनी गर्छन् पनि ।
- ‘प्याक्स मस्कियाना’
गत साता नै मस्कले आफ्ना धेरै राजनीतिक लक्ष्य हासिल गरिसके । बाइडेनले ह्वाइट हाउसमा गरेको अपमानको शानदार बदला लिने क्रममा उनले ह्वाइट हाउसमा खुला पहुँच हासिल गरिसकेका छन् । उनी आफूले चाहेको जुनकुनै कर्मचारीलाई हटाउन सक्ने भइसकेका छन् ।
लैंगिक संक्रमणमा उनको लडाइँ उनले सोचेजस्तै चल्दैछ । जनवरी २९ मा राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमार्फत कुनै पनि बच्चाको शरीरमा गरिने रासायनिक वा शल्यक्रियाजन्य हेरेफेर निषेध गराइसकेका छन् । मस्कलाई सबैभन्दा खुसीको कुरा त ट्रम्पले आफ्नो उदघाटन भाषणमै अमेरिकाले मंगल ग्रहमा मान्छे पठाउने उल्लेख गरिदिए ।
यही मेसोमा मस्क आफैँले पनि अत्यधिक राजनीतिक शक्ति हासिल गरेका छन् । उनले आफ्ना ‘प्रोग्रामरहरू’ अमेरिकी सरकारका सबै कुनामा पुर्याइसकेका छन् । टाइम म्यगेजिनले आफ्नो कभरमा मस्कलाई ह्वाइट हाउसको राष्ट्रपतिको कुर्सीमा बसेको तस्बिर राखेको छ । यसले प्रस्ट रूपमा ह्वाइट हाउसमा खास शक्ति कोसँग छ भन्ने कुरा संकेत गर्छ ।
(यो रिपोर्ट ‘द टेलिग्राफ’ का लागि रोल्यान्ड ओलिफ्यान्ट, जेम्स टिट्कम्ब र किएर्न केल्लीले तयार पारेका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली