बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
महिला प्रिमियर लिग क्रिकेट

अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा

बुधबार, २८ फागुन २०८१, ०९ : ५७
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । लिग चरणको अन्तिम खेलमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोलीमध्येको एक रोयल च्यालेन्जर्स बेंगलुरुसँग अप्रत्यासित हार व्यहोरेपछि मुम्बई इन्डियन्स महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्न बाध्य भएको छ । 

लिग चरणको अन्तिम खेलमा सोमबार राति साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले बलियो प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई ११ रनले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मुम्बई इन्डियन्सले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८८ रनमात्र बनाउन सक्यो । उक्त नतिजापछि दिल्ली क्यापिटल्स सिधै फाइनलमा पुग्न सफल भयो । दिल्ली क्यापिटल्स आठ खेलबाट १० अंक बटुल्दै तालिकाको पहिलो स्थानमा रह्यो ।

समान खेलबाट समान अंक बटुले पनि मुम्बई इन्डियन्स नेट रन रेटमा दिल्लीसँग पछाडि पर्‍यो । गुजरात जायन्ट्स आठ अंकसहित तेस्रो, बेंगलुरु ६ अंकसहित चौथो र यूपी वारियर्स ६ अंकसहित पाँचौं स्थानमा रहे । 

मुम्बईले अब फाइनल प्रवेशका लागि गुजरातसँग एलिमिनेटर चरणमा भिडन्त गर्नेछ । एलिमिनेटर खेल बिहीबार खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले दिल्ली क्यापिटल्ससँग उपाधिका लागि भिडन्त गर्नेछ । फाइनल खेल भने शनिबार खेलिने छ । 

मंगलबार रातिको खेलमा पहिले ब्याटिङ गरेको बेंगलुरुका लागि कप्तान स्मृति मन्धनाले सर्वाधिक ५३ रन बनाइन् । आक्रामक रुपमा प्रस्तुत भएकी ओपनर स्मृतिले केवल ३७ बलको सामना गरी तीन छक्का र ६ वटा चौका हिर्काइन् । 

एलिस पेरीले पनि टोलीका लागि अविजित ४९ रनको योगदान गरिन् । उनले ३८ बलको सामना गरी एक छक्का र पाँचवटा चौका हिर्काइन् । रिचा घोषले पनि टोलीको खातामा ३६ रन थपिन् । उनले केवल २२ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन् । 

जर्जिया वारेहमले अविजित ३१ रन बनाइन् । उनले केवल १० बलमा एक छक्का र पाँच चौका प्रहार गरिन् । मुम्बईकी बलर हेली म्याथ्यूजले दुई विकेट लिइन् । जवाफी ब्याटिङ गरको मुम्बईका लागि नट सिभर ब्रन्टले ६९ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । 

उनले केवल ३५ बलमा दुई छक्का र नौवटा चौका पनि प्रहार गरिन् । सजिवन सजनाले २३ रन बनाइन् । मुम्बईका अन्य ब्याट्रले भने गतिलो प्रदर्शन गर्न सकेनन् । बेंगलुरुका बलर स्नेह राणाले तीन तथा किम गार्थ र एलिस पेरीले दुई–दुई विकेट हात पारे । स्नेह राणा प्लेयर अफ दि म्याच बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप