भारतमा छिर्यो मस्कको स्पेसएक्स, हाई स्पीड इन्टरनेटका लागि एयरटेलसँग सम्झौता

नयाँ दिल्ली । खर्बपति अमेरिकी उद्योगपति एलन मस्कको स्पेसएक्स कम्पनी अन्ततः भारतमा छिरेको छ । कम्पनीले घरेलु दूरसञ्चार कम्पनी एयरटेलसँग मिलेर भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौतामा हस्ताक्षर गरेको छ । एयरटेलले आफ्नो सामाजिक सञ्जाल खाता एक्समामा एक पोस्ट मार्फत यो जानकारी दिएको हो ।
एयरटेलको विज्ञप्ति अनुसार, ‘एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंकको हाई–स्पिड इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ ।’ यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता भएको तर स्पेसएक्सले भारतमा स्टारलिङ्कका सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र सेवा प्रवाह सुरु हुने बताइएको छ ।
सम्झौता अन्तर्गत एयरटेल र स्पेसएक्स मिलेर स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्ने पनि बताइएको छ । यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ । यसको घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा मस्कलाई भेट्दा भएको थियो ।