बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
कूटनीति

रायसिना डायलग : भ्रमण एक, उद्देश्य अनेक

मङ्गलबार, २७ फागुन २०८१, २० : ००
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । सन् २०१६ देखि भारतले आयोजना गर्दै आएको रायसिना संवादमा नेपालको तर्फबाट सभागिता जनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यसतर्फ लागिसकिन् । उनी हिजो सोमबार त्यसतर्फ लागेकी हुन् । 

उक्त डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीको सहभागिता रहनेछ । तर उक्त डायलगमा भाग लिन भारत पुगेकी परराष्ट्रमन्त्री राणाको नाम भने ओआरएफ (अब्जर्भर रिसर्च फाउन्डेसन) ले आफ्नो वेबसाइटमा राखेको छैन । नेपालबाट मन्त्री राणाले उक्त डायलगमा सहभागिता जनाउने भनिए पनि उनको नाम न वक्ता, न अतिथि । कतै पनि उल्लेख छैन । अर्थात् उनको नाम सूचीमै छैन । 

तर यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त डायलगमा परराष्ट्रमन्त्री राणा एकसाता अघि नै भारत पुगिसकिन् । उक्त डायलगमा उनले सम्बोधन गर्ने मन्त्रालयले भने जनाएको छ । 

मन्त्री राणाले उक्त डायलगमा कार्यक्रममा भाग लिनुका साथै भारतलगायत अन्य देशका उच्च अधिकारीसँग द्विपक्षीय भेट तथा बैठक गरी आपसी हितका विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । भूराजनीति र भू–अर्थशास्त्रमा उक्त डायलग केन्द्रित हुनेगर्छ । 

नेपालमा राजनीतिक अस्थिरता भइरहेका वेला एक साताभन्दा बढी समयका लागि परराष्ट्रमन्त्री आरजु भारत गएकी हुन् । यस क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरलगायतसँग विशेष भेटघाट तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच गत हप्ता भएको भेटघाटपछि परराष्ट्रमन्त्री राणाको भ्रमण तय भएको बुझिएको छ । राजदूत शर्माले भने राणाको भेटघाटको भ्रमण कार्यतालिका परराष्ट्र मन्त्रालयलाई मात्र थाहा भएको बताए । उनले भने, ‘कोसँग भेटघाट हुने त्यसको जानकारी हामीलाई छैन ।’

तर सबै भेटघाट तय भइसकेपछि मात्र परराष्ट्रमन्त्री राणाको भारत प्रस्थान भएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न चाहेकी छन् । तर त्यो निश्चित भइसकेको छैन । वातावरण मिल्यो भने नेपालमा हुने सगरमाथा संवादमा प्रमुख अतिथिका रूपमा मोदीलाई राणाले निमन्त्रणा दिने सक्ने जनाइएको छ । तर समय मिलेन भने त्यो निमन्त्रणा प्रधानमन्त्री केपी शर्मा ओलीले नै थाइल्यान्डमा आयोजना हुने बिमस्टेक सम्मेलनमा भेटेर दिने तयारी रहेको बुझिएको छ । 

परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, जर्मनीको भ्रमण गरेर गत पुस ४ गते भारतको दिल्ली पुगेकी थिइन् । तर भदौमा भएको भ्रमणमा रातोकार्पेट ओछ्याएको भारतले पुसमा भएका भ्रमणमा कुनै महत्व दिएको थिएन । तर यसपटक भने विदेश मन्त्रालयले विशेष निमन्त्रणा गरेर उनलाई बोलाएको दाबी गरिएको छ । 

  • सहभागिताको अवस्था पनि छैन सन्तोषजनक

जबकि रायसिना डायलगमा नेपालको सहभागिता सन्तोषजनक छैन । यसअघि भएका तीन वटा रायसिना डायलगमा नेपालले सहभागिता नै जनाएको थिएन । 

२०७९ सालमा भएको उक्त कार्यक्रममा भारतले नेपाललाई निम्ता नै दिएको थिएन । २०७८ मा भएको कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई निमन्त्रणा दिएको थियो । तर कार्यक्रमको एक दिनअघि उनले भ्रमण रद्द गरेका थिए । सो कार्यक्रममा योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्व पौडेललाई पठाइएको थियो । 

गत वर्ष भने तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद उक्त डायलगमा सहभागी भएका थिए । 

२०७६ सालमा पनि तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र तत्कालीन पररराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डायलगमा बोलाइएको थियो । तर उनीहरू सहभागी भएनन् । त्यतिवेला चुच्चे नक्सा विवाद उत्कर्षमा थियो । २०७५ सालमा भने तत्कालीन परराष्ट्र ज्ञवाली सहभागी भएका थिए । २०७४ सालमा पनि तत्कालीन परराष्ट्रमन्त्री सहभागी नभएपछि परराष्ट्र सचिव शंकरदास वैरागीले सहभागिता जनाएका थिए । 

संविधान जारी भएपछि नेपाल–भारत बिचको सम्बन्धमा उतार–चढाव हुँदै आएको छ । संविधान निर्माणपछि प्रधानमन्त्री बनेका ओलीका कारण चुच्चे नक्सालगायत विषयमा भारतले नेपाललाई बेवास्ता गर्दै आएको छ । पछिल्लो फेरि ओली नै प्रधानमन्त्री बनेपछि नेपालसँग भारतको दूरी झनै बढेको छ । 

भारतसँग सम्बन्ध सुधार्न परराष्ट्रमन्त्री राणाको दौडधुप बाक्लै छ, तर भारतको कन्भिन्स भएको देखिएको भने छैन । नेपालसँग राम्रो सम्बन्ध नभएको कारण यसपटकको रायसिना डायलगमा नेपाललाई निमन्त्रणा नआउने सम्भावना थियो । तर परराष्ट्रमन्त्रालय र भारतस्थित नेपाली दूतावासले गरेको पहलमा यो सम्भव भएको बताइएको छ । 

तर उक्त डायलगमा भाग लिन भारत पुगेकी परराष्ट्रमन्त्री राणाको नाम भने ओआरएफले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छैन । त्यहाँ नेपालबाट सहभागिता हुने भनेर उनको नाम न वक्ता न अतिथि, कतै उल्लेख छैन । अर्थात् उनको नाम सूचीमै छैन । तर यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त डायलगमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने मन्त्रालयले नै जनाएको छ । 

कार्यक्रममा भाग लिनुका साथै मन्त्री आरजुले भारतलगायत अन्य देशका उच्च अधिकारीहरुसँग द्विपक्षीय भेट तथा बैठक गरी आपसी हितका विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । 

झारखण्ड राज्यस्थित प्रसिद्ध धार्मिकस्थल बाबा वैद्यनाथ धाममा उनले पूजाआजा गर्नुका साथै स्वास्थ्य जाँच पनि गराउने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयअनुसार मन्त्री राणाको यो निजी भ्रमण भएकाले भेटघाटका कुनै पनि कार्यतालिका तय गरिएको छैन । 

रायसिन डायलग सन् २०१६ देखि नियमित रूपमा आयोजना भइरहेको छ । सो कार्यक्रममा विश्वका विभिन्न देशका राजनीतिक व्यक्तित्व, कूटनीतिज्ञ, नीति निर्माता तथा विश्लेषकबिच अन्तर्राष्ट्रिय सम्बन्ध, वैश्विक चुनौती र रणनीतिक विषयमा छलफल तथा विचार विमर्श हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप