सिरहाको कर्जन्हा नगरपालिकामा जनप्रतिनिधिकै तालाबन्दी
_31GJ2I3yyN.jpg)
सिरहा । सिरहा कर्जन्हा नगरपालिकाका जनप्रतिनिधिले नै कार्यालयमा तालाबन्दी गरेका छन् । कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेल र प्रशासकीय अधिकृत मनहरि बरालमाथि बेथितिको आरोप लगाउँदै वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन् ।
कार्यपालिकाको नियमित बैठक नबस्ने, कार्यपालिकाले गरेका निर्णयहरू कार्यान्वयनमा आनाकानी गर्ने गरेकाले तालाबन्दीमा उत्रिनु परेको ८ नम्बर वडाका अध्यक्ष शम्भु कुमार व्यार सुडीले बताए । ‘नगरपालिकामा समयमा बैठक बस्दैन, बसिहाले पनि बैठकमा भएका निर्णयहरू निर्णय हुँदैन,’ उनले भने, ‘बैठक नबस्ने, बैठकका निर्णयहरू लागु नहुने कारण हामी आजित भइसक्यौँ ।’
कार्यपालिका बैठक प्रत्येक महिनाको १०, २० र ३० गते नियमित बस्ने भनेर निर्णय गरेको भए पनि महिनौँ दिनदेखि बैठक बस्न नसकेको वडाध्यक्ष सुडीले बताए ।
उनले भने, ‘कतिपय पालिकाहरूमा बैठक बस्न दिएन भन्छन् । हामी बैठक बसौँ, हिउँदे अधिवेशन गरौँ भनिरहेका छौँ । तर, मेयर र प्रशासकीय अधिकृत बैठक राख्नै मानिरहनु भएको छैन ।’
कार्यालय सञ्चालन नहुँदा सेवाग्राहीले दुःख पाएको ११ नम्बर वडाका वडाध्यक्ष किस्मत राईले दुखेसो पोखे । उनले भने, ‘हामी यहाँ जनताको काम गर्न आएका हौँ । हामीसँग बजेट हुँदाहुँदै पनि जनता सेवाबाट वञ्चित भएका छौँ । स्वास्थ्य चौकीहरूमा सिटामोल छैन । शैक्षिक सत्र समाप्त हुने बेला सेनेटरी प्याड खरिद भएको छ । यस्तो स–साना काम पनि समयमा हुन नसक्दा हामी बाध्य भएर तालाबन्दीमा उत्रियौँ ।’
जनताको सामान्य कामको लागि दुःख झेल्नु परिरहेको ६ नम्बर वडाका अध्यक्ष प्रकाशमान श्रेष्ठले बताए । कार्यालयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नबस्दा जनताले दुःख पाउने गरेको उनको जिकिर छ ।
उनले भने, ‘प्रशासकीय अधिकृत महिनाको २० दिन काठमाडौँमा हुन्छन् । मेयरलाई कार्यालय आउने फुर्सद हुँदैन । यसरी नगरपालिका चल्छ ?,’ राईले भने, ‘अब मेयर एकातिर, उपमेयर अर्कातिर प्रमुख प्रशासकीय अधिकृत आफ्नै पाराले हिँडेर नगर चल्दै । यो बेथिति नरोकी ताला खुल्दैन ।’
कार्यालयमा उपस्थित नभए पनि बाहिरबाटै कार्यालयको काम गर्ने प्रवृत्तिको पनि उनीहरूले विरोध गरेका छन् । कार्यालयमा नआउने तर आफ्नो र आफन्तहरूको काम सबै कार्यालय बाहिरै बसेर गर्ने प्रवृत्तिले उपभोक्ता मारमा परेको ६ नम्बर वडा अध्यक्ष प्रकाशमान श्रेष्ठले बताउँछन् ।
पालिकाका आधा दर्जनभन्दा बढी वडाध्यक्षहरू तालाबन्दीमा उत्रिएका छन् । यता नगरप्रमुख भोला प्रसाद पोखरेल भने सामान्य असमझदारीका कारण समस्या भएको बताउँछन् । उनले जनप्रतिनिधि बिचको समस्या तत्काल छलफलमा बसेर समाधान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन
-
प्रदेशले गर्दै आएको गुनासोप्रति मौन रहे प्रधानमन्त्री
-
छिचिमिराहरू निस्केर उड्दैमा देवल ढल्न सक्दैन