राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक प्रगति ३० प्रतिशतभन्दा धेरै

काठमाडौँ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक प्रगति ३० प्रतिशत भन्दा धेरै बनेको नेपाली सेनाले जनाएको छ । काभ्रेको बनेपा नगरपालिका स्थित पेरुङ्गे डाँडा क्षेत्रमा विश्वविद्यालयको भौतिक संरचना बनिरहेको छ । अहिलेसम्म ३० दशमलव ५२ प्रतिशत भौतिक प्रगति पुरा भएको सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले जानकारी दिए ।
बनेपा नगरपालिकाको वडा नम्बर–१३ र १४ मा अवस्थित पेरुङ्गेडाँडा, काक्रेबारी र साँगा क्षेत्रमा ८ अर्ब ५० करोड लगानीमा भौतिक संरचना निर्माण भइरहेको छ । विश्वविद्यालय पूर्वाधार निर्माण आयोजनाले त्यसबारे काम गरिरहेको छ । अर्थ मन्त्रालयले भौतिक संरचना निर्माणको लागी २ अर्ब स्रोत सुनिश्चितता गरेको थियो ।
३ वर्षमा भौतिक संरचना निर्माण गर्ने लक्ष्य अनुसार काम भइरहेको सहायकरथी केसीले बताए । उनले भने, ‘२०८३ सालको अन्तिम सम्ममा भौतिक निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक पनि मन्त्रिपरिषद्ले पारित भएको छ । रक्षा मन्त्रालयमार्फत विधेयक संसद्मा दर्ता गर्ने अवस्थामा रहेको सहायक रथी केसीले बताए । प्रतिरक्षा विश्वविद्यालयको पाठ्यक्रम निर्माणको काम पनि अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ ।
पेरुङ्गे डाँडा क्षेत्रको ३७ दशमलव ५ हेक्टर जग्गामा शैक्षिक तथा प्रशासनिक भवन, विद्यार्थी आवासीय भवन, संकाय आवासीय भवन, बहुउद्देश्यिय खेल परिसर, सुरक्षाकर्मी भवन र हेलिप्याड सहितका संरचना बन्दैछन् ।