राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजा आउँदैमा देश नबन्ने दाबी गर्दछन् । अहिले राजावादीले गरेको प्रदर्शनलाई उनी दलहरूकै कमजोरीका रूपमा चित्रण गर्दछन् ।
प्रमुख राजनीतिक दलका नेताहरूका कारण पनि जनतामा वितृष्णा बढेको आचार्यको तर्क छ । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको सक्रियता, उनको समर्थनमा उत्रिएका समूह र मुलुकको राजनीतिक अवस्थाका बारेमा रातोपाटीले विश्लेषक आचार्यसँग कुराकानी गरेको छ ।
प्रस्तुत छ, विश्लेषक आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश–
रातजन्त्रवादीहरू सबै नेपालमा सिद्धिए भन्ने कुरा गलत हो । तिनीहरूको अस्तित्व यहाँ राम्रै छ । अहिले पनि संसदमा उनीहरूको पनि प्रतिनिधित्व छ ।
संसारमा राजतन्त्र सिद्धियो, यहाँ पनि सिद्धियो भनेर भन्न सकिन्छ । यो सजिलो न्यारेटिभ हो । संसारमा कम्युनिस्ट पनि सिद्धिए भनिन्थ्यो नि एकताका । नेपालमा पनि सकिन्छन् अब कम्युनिस्ट भनिन्थ्यो । तर नेपालमा झन् धेरै बहुमत ल्याएर कम्युनिस्टहरूले सरकार बनाए ।
यद्यपि एउटा के सन्देश छ भने देशमा अहिलेको राजनीतिक पार्टीहरूको विकल्प विभिन्न ढंगले खोजिँदैछ । त्यसमध्ये पछाडि फर्किने बाटो अगाडि आएको राजावादीहरूको भिडले देखियो । यसको मतलब अहिले सत्तासीन पार्टीहरूको चाल, चरित्र र चेहरा जनतालाई सेवा दिने भएन । यिनीहरूको चरित्र सफा भएन । मान्छेले यिनीहरूलाई भ्रष्ट भन्छन् । ३०/३५ वर्षसम्म एउटै अनुहार देख्दा मान्छे आजित भएका छन् । अनि यिनीहरूबाट कहिले मुक्ति मिल्छ भन्ने छ । त्यो मुक्तिदाता भएर को आउने त ? त्यो विकल्प यिनीहरूबाटै आएको भए हुन्थ्यो ।
तर शेरबहादुरको विकल्प शेरबहादुरको पार्टीमा नहुने, ओलीको विकल्प ओलीको पार्टीमा नहुने अनि प्रचण्डको विकल्प प्रचण्डको पार्टीमा नहुने । यी तीन वटालाई देख्दा यी बासी अनुहार भयो । बासी खाना कसलाई मन पर्छ र ?
राजाले देश बचाउन सक्दैनन् । संसारमा कतै पनि राजाले देश बचाएका छैनन् । देश जनताले बचाउँछन् । राजाले देश निर्माण र एकीकरण गरेका छन् । नेपालमा पृथ्वीनारायण शाहले देश एकीकरण गरेका छन् तर देश एकीकरणमा पनि जनताकै योगदान छ ।
यो जनताको राज्य र देश हो । राजालाई पनि देश बचाउन इच्छा लाग्यो भने उनी पनि जनता भएरै देश बचाउन आउनुपर्छ ।
राजाको शासन कस्तो थियो भनेर तपाईंहरूको पुस्ताले भोगेको छैन । राजाको शासन यस्तो थियो कि बोल्न पाइँदैन थियो । राजाको शासनमा राजाले नचाहेको मान्छे विदेश जान पाउँदैनथ्यो, बोल्न स्वतन्त्रता थिएन । महिलाहरूलाई अहिले जस्तो निर्णय प्रक्रियामा सहभागिता थिएन । संगठन गर्ने स्वतन्त्रता थिएन । राजाको शासनमा राज्यलाई प्रश्न गर्न सकिँदैन थियो । यो कुरा बुझ्नु पर्यो ।
अहिलेका नेताहरूले यो कुरा बुझाउन सक्दैनन् । राजाको शासन राम्रो हुने भए त संसारभरि राजाकै शासन हुन्थ्यो नि ।
राजनीतिक दलले आफ्नो दल बचाउने हो भने मेरो अनुरोध छ– यिनीहरूले आफ्नो अनुहार लुकाएर राखे हुन्छ । यो अनुहार अगाडि लिएर हामी राजनीतिक दलको सभापति हौँ, हामी प्रधानमन्त्री हौँ भन्दाखेरि यिनीहरूले राम्रै कुरा गरेर अमृत नै बाँड्छु भने पनि ‘जहर बाँडे’ भन्छन् । त्यो अवस्थामा नागरिक आक्रोशित छन् ।
त्यसैले नातिनातिनासँग बसेर खेल्ने, आफूले गरेका राम्रा, खराब कार्यहरूको बारेमा पुस्तक लेख्ने, अनि छेउछाउमा जंगल छ भने त्यहाँ गएर तपस्या गर्दा पनि हुन्छ । घरको बरन्डामा बसेर आफूले जीवनमा गरेका अनुभव छरछिमेकीलाई सुनाउने गरे हुन्छ ।
मूख्य कुरा, अब यिनीहरूले आफ्नो अनुहार देखाएर अगाडि बढे भने यिनीहरूलाई नागरिकले पत्याउँदैनन् । अहिलेलाई आशा के गरौँ भने यी पुराना पार्टीहरूमा हामीलाई अब पद पुग्यो भनेर आफ्नो पार्टी सुधार गरेर त्यसपछि राष्ट्र सुधारको कल्पना गरे हुन्थ्यो होला ।
प्रतिक्रिया