प्रधानमन्त्री कप क्रिकेट : दीपक डुम्रेको अर्धशतकसँगै गण्डकीले कर्णाली प्रदेशलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा गण्डकी प्रदेशले जित हासिल गरेको छ । गण्डकी प्रदेशले दाङको लमही क्रिकेट रंगशालामा खेलिएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले २७.२ ओभरमै अलआउट हुनुअघि ९१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने २९.१ ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।
गण्डकी प्रदेशको जितमा दीपक डुम्रेले अर्धशतकीय योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ७८ बलको सामना गरी सातवटा चौकाको मद्दतले अविजित ५० रन बनाए । सोही योगदानका कारण उनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।
सुजन गौतमले पनि टोलीको जितमा अविजित २२ रनको योगदान गरे । उनले ४६ बलमा तीन चौका प्रहार गरे । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशका बलर दिवान पुनले तीन, दीपेन्द्र रावतले दुई र युनिष ठकुरीले एक विकेट लिए ।
त्यसअघि, कर्णाली प्रदेशका लागि विपिन शाहीले सर्वाधिक २० रन बनाएका थिए । अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमांशु शाहीले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णाली प्रदेशलाई सस्तैमा समेट्ने क्रममा गण्डकी प्रदेशका बलर चन्द्र पौडेल, सुवाष भण्डारी र विपिन खत्रीले दुई–दुई विकेट लिए । सन्दीप पराजुली र अमृत गुरुङले पनि एक–एक विकेट हात पारेका थिए ।
दुई खेलबाट दुई अंक जोडेको कर्णाली प्रदेश तालिकाको तेस्रो स्थानमा आसिन छ । समान खेलबाट समान अंक हात पारेको गण्डकी प्रदेश तालिकाको सातौँ स्थानमा छ । कर्णाली प्रदेशले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको थियो । गण्डकी प्रदेश भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल