कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू

काठमाडौँ । नेपाल शिक्षक महासंघले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन्।
फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।
पहिलो चरणको आन्दोलनको अन्तिम दिन शनिवार देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका थिए ।
पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन अन्तर्गत महासङ्घले फागुन २७ गते नेपाली कांग्रेसको कार्यालय घेराउ गरिने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
त्यस्तै फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत्र १ गते नेकपा माओवादी केन्द्रको कार्यालय र चैत्र २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय घेराउ गर्न लागेको अध्यक्ष सुवेदीले बताए ।
त्यस्तै चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गर्न लागेका हुन् ।
लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको भन्दै ऐन जारी गराउन दबाब दिन महासङ्घले माघ २० गतेदेखि आन्दोलन थालेको हो ।
विगतमा धेरैपटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएको महासङ्घले जनाएको छ । विगतमा भएका ती सबै सहमति सम्बोधन हुनेगरी नयाँ विद्यालय शिक्षा ऐन आउनुपर्नेमा त्यसका ढिलाइ भइरहेको महासङ्घले जनाएको छ ।
विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा जुन गति स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत छलफलमा छ । तर, उक्त विधेयक र प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा त्यो ढङ्गमा कसैबाट काम नभइरहेको महासङ्घले जनाएको छ । राज्यपक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा देखिएको महासङ्घको आरोप छ ।