बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल

मङ्गलबार, २७ फागुन २०८१, १२ : ३६
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘यातायात मार्फत रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई संशोधन गरेका छन् । अमेरीकाको वासिङ्टन डिसीमा आयोजित ‘ट्रान्फर्मिङ् ट्रान्सपोर्टेसन’ कार्यक्रमलाई उनले संशोधन गरेका हुन् । कार्यक्रमलाई संशोधन गर्दै उनले नेपाल भौगोलिक रूपमा सानो भए पनि पर्यावरणीय दृष्टिकोणबाट विविधतायुक्त भएको बताए । 

नेपालको पर्यावरणीय विविधतालाई अनुकूलन हुने गरी सडक सञ्जाल तथा यातायात विस्तारमा सरकारले प्राथमिकता दिएको समेत बताए । 

‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी सडक सञ्जाललाई कृषिको व्यवसायीकरण, आधुनिकीकरण, पर्यटन प्रवर्द्धन समेत हुने गरी विकासलाई अघि बढाएका छौँ,’मन्त्री दाहालले भने । 

देशका ग्रामीण क्षेत्रहरूमा मूल आधारभूत सडक सेवा विस्तार गर्ने, पहिले नै निर्माण भइसकेको सडकलाई सवारी साधन सञ्चालन लागत न्यूनतम राख्न सकिने गरी कायम राख्ने, र सम्भाव्यता अध्ययनको आधारमा छोटा सडक सञ्जाल, स्तरोन्नति र विस्तार प्रदान गरेर अवस्थित सडक सञ्जाल अभिवृद्धि गर्ने तर्फ नेपाल सरकारले ध्यान दिएको मन्त्री दाहालको भनाइ थियो । 

देशको विविधतायुक्त भौगोलिक अवस्था र बसोबासको सन्दर्भमा, नेपालले मूलतः सडक सञ्जाल विकासको लागि सबै पालिका केन्द्रहरू, व्यवसाय र सेवा केन्द्रहरूलाई सडकको पहुँचमा ल्याउने, ग्रामीण पहुँच विकासको लागि स्थानीय प्रविधि र स्रोतहरू लागू गर्ने,  प्रकृतिमा आधारित बायोइन्जिनियरिङलाई प्रवर्द्धन तर्फ पनि नेपालको ध्यान गएको उनले उल्लेख गरे । यसका साथै सुरक्षित, भरपर्दो, किफायती, समावेशी, दिगो यातायात पूर्वाधार र सेवा विकास गर्न तर्फ सरकारको ध्यान जाने पनि उनले बताए ।

सडक सञ्जालको मर्मतसम्भारको सन्दर्भमा, नेपालले सक्रिय वा योजनाबद्ध मर्मतसम्भार दृष्टिकोण अपनाउँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले यसमा सम्पूर्ण सडक सञ्जालको मर्मतसम्भारको मूल्याङ्कन र प्राथमिकता निर्धारण गर्न स्वचालित प्रणाली विकास गरिएको र विश्व बैंकको सहयोगमा सडक सञ्जाल मर्मतसम्भार गर्न स्थानीय स्रोत साधनलाई प्राथमिकता दिने नीति लिइएको बताए ।  

मार्च १० देखि विश्व वैंकको आयोजनामा भएको ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोली अमेरिका गएको हो ।  मन्त्री दाहाल नेतृत्वको टोलीले उक्त कार्यक्रममा यातायात, रोजगारी, आर्थिक वृद्धि, खाद्यसुरक्षा, यातायात सञ्जाल लगायतका बारेमा हुने अन्य विविध छलफलमा भाग लिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?