शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
कलाकार

जर्मनी टू नेपाल :  डेन्टल नर्सदेखि अभिनयसम्म समाको यात्रा

मङ्गलबार, २७ फागुन २०८१

समा पराजुली ‘होस्टल ३’ अभिनेत्री हुन् । उनको यो डेब्यु फिल्म हो । कोसर डान्सर, सौन्दर्य प्रतियोगिता हुँदै उनी फिल्ममा भित्रिएकी हुन् । ‘मिस सुप्रन्यासल नेपाल २०२३’की विजेता समेत रहेकी उनलाई यही प्रतियोगिताको कारणले फिल्मको अफर मिलेको हो । 

निर्माण युनिटले ‘मिस सुप्रानेसनल नेपाल’मा देखेर आफूलाई फिल्मको अफर गरेको उनी बताउँछिन् । पछिल्लो समय जर्मनी बस्दै आएकी उनी पेसाले डेन्टल नर्स हुन् । फिल्मका लागि जर्मनबाटै नेपाल आएकी हुन् । नेपाली फिल्मका अफर निरन्तर रहे नेपालमै बस्ने उनको इच्छा छ । पोखरमा हुर्केबढेकी उनका बुबाआमा लामो समयदेखि जर्मन बस्दै आएका छन् । उनी भने प्लसटु सकाएर त्यता लागेकी थिइन् । 

‘होस्टल ३’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । फिल्म अभिनयबाट आफूले राम्रो प्रतिक्रिया पाइरहेको उनी सुनाउँछन्। यसै फिल्म र आगामी योजनाको विषयमा अभिनेत्री पराजुलीसँग रातोपाटीले केही कुराकानी गरेको छ । 

  • ‘होस्टेल ३’ बाट प्रतिक्रिया कस्तो मिलिरहेको छ ?

– फिल्म हेर्ने दर्शकले रुचाएका छन् । राम्रो भनेका छन् । फिल्मको दर्शक प्रतिक्रिया बुझ्न हामी हल–हलमा पुगिरहेका छौँ । दर्शकले फिल्मको अलावा मेरो भूमिका पनि मन पराएका छन् । पहिलो फिल्म रिलिज हुँदै गर्दा मनमा के होला, कस्तो होला भन्ने डर थियो । दर्शकले दिएको राम्रो प्रतिक्रियाले एकदमै उत्साहित छु ।

  • विदेशमै रहँदा फिल्मको अफर कसरी मिल्यो ?

– म बिदाको मौका पारेर इन्डोनेसियाको बाली घुम्न गएको थिएँ । फिल्ममा रुचि छ, कि छैन भनेर खबर आयो । पेसाले डेन्टल नर्स भए पनि मेरो सानैदेखि कलाकारितामा रुचि थियो । कलाकारिताका लागि कोरस डान्सर भएर समेत काम गरिसकेको थिएँ । मेरो मनमा नेपाली फिल्मप्रति धेरै माया छ । एकदिन नेपाली फिल्म खेल्नुपर्छ भन्ने थियो । म २०२३ को ‘मिस सुप्रन्यासल नेपाल’ पनि भएको थिएँ । निर्माण युनिटले त्यही देखेर फिल्मको अफर गर्नुभएको रहेछ । फिल्मको नाम ‘होस्टल ३’ र भूमिका पनि मनपर्‍यो । अनि अभिनयमा होमिएँ ।

  • फिल्ममा कस्तो भूमिकामा देख्न सकिन्छ ?

– फिल्ममा होस्टल बस्ने एक बोल्ड केटीको भूमिकामा छु । 

  • यसअघि पनि फिल्मको अफर थियो कि ?

– केही फिल्मको अफर त थियो । कुनै खेल्ने इच्छा हुँदाहुँदै पनि समय मिलेन । कुनै मन नपरेर खेलिनँ ।

  • ‘होस्टल ३’मा के कुराले लोभ्यायो ?

– फिल्म खेल्ने मेरो १० वर्ष अगाडिदेखिको सपना पनि थियो । ‘होस्टल३’ दुई सिक्वेल हिट भइसकेको फिल्म थियो । यो फिल्म खेल्नुपर्छ । राम्रो हुन्छ भन्ने लाग्यो । 

actress-sama-prajuli--(2)

  • पहिलो फिल्म अभिनय कठिन त पक्कै भयो होला ?

–म धेरै कुरो गर्न रुचाउने खालकी केटी हुँ । यो पनि गरौँ, त्यो पनि गरौँ भन्ने लाग्छ । म डेन्टलको काम ५ दिन गरेर दुई दिन रेस्टुरेन्टमा पनि हेल्प गर्थेँ । किनभने मलाई हस्पिटालिटीमा पनि रुचि छ । त्यसको अलावा फोटोसुट, मोडलिङ पनि भ्याउँथेँ । धेरै कुरामा रुचि भएको मानिस भएकोले पनि अभिनय रोजेको हो । अभिनय गर्न पाउँदा रमाइलो लाग्यो । निर्माण युनिट राम्रो भएकोले पनि कठिन अनुभव भएन ।

  • अभिनय क्षेत्र कस्तो पाउनुभयो ?

– नेपाली फिल्म उद्योग मेरो लागि नौलो छ । बाहिरबाट नेपाली फिल्म उद्योगका राम्रा, नराम्रा कुरा सुनिन्छ । ‘होष्टल ३’को कामको अनुभव एकदमै राम्रो पाएकी छु । फिल्मको हिस्सा बन्न पाएको निर्माण युनिटप्रति हार्दिक आभार व्यक्त गर्छु ।

  • फिल्ममा तपाईंको जोडी आशीष घिमिरे छन् । जो बालकलाकारदेखि काम गर्दै आएका हुन् । उनीसँग जोडी बनेर अभिनय गर्न गाह्रो त भएन ?

– आशीष घिमिरे छ भन्दा डर लागेको थियो । किनभने उहाँ पहिलेदेखि नै अभिनय गर्दै आउनुभएको । मलाई उहाँसँग अभिनय गर्न डर लागेको थियो । जब सुटिङ अगाडि भेटेँ, कुराकानी गरेँ । उहाँले धेरै सहयोग गर्नुभयो । सिकाउनुभयो । फिल्ममा धेरै नयाँ कलाकार भएको कठिन भएन । 

  • तपाईंको लुक्सलाई धेरैले विभिन्न कलाकारसँग दाँजेका छन् नि ?

– हो, त्यो मलाई पनि थाहा छ । धेरैले प्रियंका चोपाडाजस्तो भन्छन् । खुसी लाग्छ । ‘होस्टल ३’को प्रचार हेरेर कतिले विदेशी सोचेको, नेपाली पो रहेछौ पनि भनेका छन् ।

  • बुबाआमाको इच्छा फिल्म थियो त ?

– आमाबुबा खुसी हुनुहुन्छ । किनभने मैले यो क्षेत्रमा एकपछि अर्को प्रगति गरिरहेकी छु । मैले फिल्म खेल्न लागेको सुनेर मेरो हजुरआमा एकदमै खुसी हुनुहुन्थ्यो । मलाई ठुला पर्दामा हेर्ने उहाँको सपना थियो । तर उहाँ बिमारी भएर अस्पतालमा हुनुहुन्छ ।

  • जर्मनी बस्दै आउनुभएको छ, किन ?

– मेरो बुबाआमा दुवै जर्मनीमा हुनुहुन्छ । उहाँसँगै बस्न र पढ्न प्लसटुपछि जर्मनी पुगेको थिएँ । त्यहाँ डेन्टल नर्स अध्ययन सकाएँ । अहिले त्यही पेसा गरिरहेको छु ।

  • पढ्नका लागि जर्मन गएँ भन्नुभयो, के छ त्यहाँ ?

– विद्यार्थीका लागि शिक्षा निःशुल्क छ । जति र जहिले पढे पनि । अर्को कुरा, त्यहाँ कामको अवसर छ । 

  • अब जर्मन बस्ने कि नेपाल ?

– मेरो काम जर्मनमा छ । नेपाली फिल्म उद्योगमा लगातार काम मिल्यो, नेपाली दर्शकले माया दिनुभयो भने म जर्मन छोड्न तयार छु । नेपालमा बस्ने मानिसले उता के छ भन्थे । म उता बस्ने भएकोले नेपाल नै राम्रो लाग्छ । पढ्न राम्रो हुन्छ भनेर म जर्मन गएको हो । मैले यहीँ काम पाउँछु, राम्रो गर्न सक्छु भने किन जर्मन फर्किने ?

  • जर्मनमा रहँदा नेपालको के के मिस गर्नुहुन्छ ?

– नेपालको सबै कुरो मिस गर्छु । पहिलो खानेकुरा मिस हुन्छ । किनभने यहाँको जस्तो खाना त्यहाँ पाइँदैन । आफन्त, साथीभाइ सबै मिस हुन्छन् ।

  • फिल्म कति र कस्ता हेर्नुहुन्छ ?

– सबै प्रकारका हेर्छु । विशेषगरी नेपाली फिल्म प्राथमिकतामा पर्छन् ।

  • अब कस्ता फिल्म अभिनय गर्न मन छ ?

–चरित्रप्रधान फिल्म गर्न मन छ । जसको कारण मानिसले मलाई चिनोस् ।

  • फिल्मबाहेक अन्य रुचि के–केमा छ ?

–नृत्य गर्न एकदमै मनपर्छ । ७, ८ वर्ष मैले नृत्य गरेको हो । बास्केटबलमा पनि एकदमै रुचि छ । 

  • मनपर्ने नेपाली कलाकार ?

प्रियंका कार्की । प्रियंकाबाट म प्रभावित पनि छु । 

  • फिल्म हेर्न बाँकी दर्शकलाई के भन्नुहुन्छ ?

–‘होस्टल ३’ राम्रो फिल्म बनेको छ । होस्टलमा बस्ने केटाकेटीको विषयमा बनेको फिल्मले सबै वर्गका दर्शकलाई मनोरञ्जन दिन्छ । फिल्म हेरेर हाम्रो अभिनय राम्रो, नराम्रो के छ कमेन्ट गर्दिनुस् । तपाईंले दिएको सुझावलाई आगामी दिनमा अभिनयमा अगाडि बढाउनेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया