बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीको तिलोत्तमा नगरपालिका असल अभ्यास अवार्ड सूचीमा

मङ्गलबार, २७ फागुन २०८१, ०९ : ४४
मङ्गलबार, २७ फागुन २०८१

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरूबिचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले गर्ने २४औँ संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगरप्रमुख रामकृष्ण खाणले रातोपाटीलाई बताए । 

उनले  अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको  खुलाए ।

ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको हो ।

छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबिच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङ्कनको ५० अंकको आधारमा मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआइडीपीको वेबसाइटमा उल्लेख छ । तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई  नगरपालिका  आग्रह गरेको छ।

ओआइडीपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । उनका अनुसार अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआइडीपीको वेबसाइटमै गएर मत दिन सकिने छ ।तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान आठौँ वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औँ शृङ्खला सम्पन्न भएको  खाँणले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?