रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित
सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे आज कुनै निर्णय नगरेको एक मन्त्रीले बताए ।
२. अनुचित लेनदेन जाँचबुझ आयोग गठन
मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको बैठकले उक्त आयोग गठन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
. गणतन्त्रको जग हल्लिएछ !
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको निर्णय गरेपछि गणतन्त्रको जग हल्लिएको प्रतिक्रिया दिएका छन् । सोमबार राति अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् ।
४. पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएका अभिव्यक्ति र आइतबार उनको स्वागतमा सडकमा निस्किएका राजावादीको जुलुसले राजनीतिमा तरङ्ग ल्याएको छ । माओवादीसहितका दल यस्ता गतिविधिको प्रतिकारात्मक कदम चाल्नुपर्ने बताउन थालेका छन् ।
५. सत्ता गठबन्धन बेवास्ता गर्दै स्ववियु चुनावमा होमिए विद्यार्थी संगठनहरू
केन्द्रको सत्ता गठबन्धनलाई बेवास्ता गर्दै स्ववियु चुनावमा विद्यार्थी संगठनहरूले विभिन्न कलेजमा आफ्नै ढंगले तालमेल गरेका छन् । सबैभन्दा रोचक त काभ्रे जिल्लामा भएको छ । यहाँ नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले भागवण्डा मिलाएर उम्मेदवारी दिने भएका छन् ।
६. नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने जनमत पार्टीको निर्णय
जनमत पार्टीको दुई दिने केन्द्रीय समिति बैठकले नागरिक उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्ने निर्णय गरेको छ । महोत्तरीमा सोमबार सम्पन्न बैठकले विभिन्न १३ बुँदामा निर्णय गरेको पार्टी प्रवक्ता शरद् सिंह यादवले जानकारी दिए ।
७. काठमाडौँ महानगरलाई राप्रपाले तिर्यो एक लाख रुपैयाँ जरिबाना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिबाना रकम तिरेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा सहभागी भएको राप्रपालाई काठमाडौँ महानगरपालिकाले सहरमा फोहोर गरेको भन्दै एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको थियो । यसअघि राप्रपाले जरिबाना नतिर्ने बताए पनि अन्ततः तिर्ने निर्णयमा पुगेको हो ।
८. बोरामा पोको पारिएको शव व्यवस्थापनमा संलग्न ६ जना पक्राउ
यही फागुन २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती नदी किनारमा फेला परेको महिलाको शव व्यवस्थापनमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले हत्यामा आफ्नो संलग्नता नरहेको प्रारम्भिक बयान दिएको प्रहरीको भनाइ छ ।
९.प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि कोशीका विपक्षीलाई चिन्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएपछि विपक्षी दलहरूलाई चिन्ता थपिएको छ । प्रधानमन्त्री ओलीले आफूहरूप्रति छुद्र टिप्पणी गर्ने हुन् कि भन्ने चिन्ता विपक्षीहरूलाई परेको हो ।
१०. म बोल्ने समय नजिकै आउँदैछ, रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने समय नजिकै आउँदै गरेको भन्दै अहिले कुनै प्रतिक्रिया व्यक्त नगर्ने बताएका छन् । सोमबार सहकारी ठगी सम्बन्धी मुद्दाका सिलसिलामा बुटवल पुगेका उनले चाँडै नै आफूले बोल्ने समय आउने बताएका हुन्
११. आन्दोलित शिक्षकहरूले पार्टीका कार्यालय घेराउ गर्ने
नेपाल शिक्षक महासंघले मंगलबारदेखि राजनीतिक दलका कार्यालय घेराउ गर्ने भएको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत पार्टीका कार्यालय घेराउ गर्ने महासंघले जनाएको हो ।
१२. काठमाडौँका विभिन्न स्थानमा दुई महिनासम्म निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड