मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

सोमबार, २६ फागुन २०८१, २१ : २२
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ ।

यसमार्फत हालसम्म तीनवटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन्  भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन्  भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुने नबिल बैंकले जनाएको छ ।  

कार्यक्रममा सहभागिताका लागि केबल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ ।

कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ ।

यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरु र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिने बैंकले जनाएको छ ।

नबिल एसएसईले सहभागीलाई उनीहरूको व्यवसाय विकास गर्न आवश्यक स्रोतहरू उपलब्ध गराउनुका साथै सम्बन्धित प्लेटफर्म र सञ्जालमा पहुँच स्थापित गर्न र वित्तीय पहुँचका लागि अवसरहरू खोज्न सहयोग गर्दै आएको छ ।

नबिल एसएसई सामाजिक परिवर्तनको संवाहकका रूपमा स्थापित भइसकेको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्ष देखि सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् ।

नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ । 

फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातैवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?