प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेश सभाको मंगलबार बस्ने बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । विपक्षी दल भने प्रधानमन्त्रीले आफ्नै शैलीमा छुद्र, असभ्य र अमर्यादित कुरा बोल्नसक्ने चिन्तामा छन् ।
विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेश सभा बैठकमा सहभागी हुने सम्भावना नै बढी छ । यद्यपि अझै बैठकमा जाने कि नजाने भन्ने विषयमा टुङ्गो नलागेको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।
उता, नेकपा (एकीकृत समाजवादी) दलका नेता राजेन्द्रकुमार राईले भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई रेस्पोन्स गरेको भन्दै बैठकमा सहभागी हुने बताए ।
माओवादी दलका नेता आङ्बोलाई पनि प्रदेश सभामा सहभागी हुन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन संवाद गर्ने प्रयास गरिरहेका छन् । आङ्बोले सोमबार आफू विराटनगर बाहिर पार्टी काममा रहेको भन्दै कुराकानीलाई टारेका छन् ।
‘फोन गरिरहनु भएको छ । आज बेलुकातिर कुरा गर्ने भनेको छु,’ आङ्बोले भने । यथास्थितिमा आफूहरू प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेश सभा बैठकमा नजाने उनले बताए । ‘अध्यक्ष प्रचण्ड कमरेडसँग पनि हाम्रो कुरा भयो । सरकारप्रति कुनै लचक नीति अपनाउन जरूरी छैन । त्यसकारण त्यही अनुसार गर्नु भन्नुभएको छ,’ उनले भने, ‘उहाँले प्रमुख प्रतिपक्षीलाई बेवास्ता गर्यो भने विरोध स्वरुप नजान पनि सकिन्छ र यो संसदीय मान्यताभित्रै पर्छ भन्नुभएको छ । हामी सोही अनुसार गर्छौं ।’
मुख्यमन्त्रीले के गरेपछि तपाईंहरू प्रदेश सभामा सहभागी हुनुहुन्छ त भन्ने प्रश्नमा आङ्बोले भने, ‘प्रधानमन्त्री केका निम्ति आउने हो ? आएर के भन्ने हो ? त्यो कुरा विपक्षीलाई थाहा हुनुपर्यो । प्रदेश सभालाई सम्बोधन गर्नुपर्ने आवश्यकता के हो ? त्यो पनि थाहा पाउनु पर्यो ।’
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्ने विषय औपचारिक रूपमा विपक्षी दललाई अहिलेसम्म थाहा नभएको आङ्बोले बताए ।
‘विपक्षी बोल्दा मुख्यमन्त्री आफैँ उपस्थित नहुने, विपक्षीले बोलेका कुराको सम्बोधन र जवाफ पनि नआउने अवस्था छ । त्यसकारण उहाँले कसलाई ल्याएर के सम्बोधन गराउनु हुन्छ ? हामी लुरुलुरु जानलाई सरकारको कारिन्दा हो र ?,’ आङ्बोले भने, ‘अन्टसन्ट बोल्नुभयो भने हामी नियमापत्ति गर्छौं, संसद् बहिष्कार गर्छौं । प्रधानमन्त्री आएको बेला नियमापत्ति गर्ने र सदन अवरुद्ध हुने कुरा राम्रो त होइन होला । त्यस विषयमा मुख्यमन्त्रीको धारणा के हो ?’
नेकपा (एकीकृत समाजवादी) दलका नेता राईले पनि प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिको टकरावपूर्ण अवस्थालाई प्रदेश सभामा आएर आरोप–प्रत्यारोप गरे विरोध हुने बताए । ‘उहाँ आउने भएपछि सभामुख र मुख्यमन्त्रीले सबै दलको नेताहरूलाई बोलाएर छलफल गरेर जानकारी दिनुपर्ने हो । त्यो उहाँहरूले नगरेर अपरिपक्वता देखाउनु भयो,’ राईले भने, ‘राष्ट्रिय राजनीति टकरावपूर्ण छ । त्यो भएको हुनाले यहाँ पनि आएर सबै पार्टीलाई छेडखानी गर्ने, घोचपेच गर्ने भयो भने त्यो राम्रो हुँदैन ।’
प्रधानमन्त्रीले कुरा राख्दा शिष्ट, मर्यादित र संस्कारयुक्त कुरा राख्नुपर्ने राईले बताए । ‘अनावश्यक छेडखानी हुने र अमर्यादित कुराहरू गर्ने भयो भने ठिक हुँदैन,’ उनले भने ।
मुख्यमन्त्री कार्कीसँग आफ्नो कुराकानी भएको राईले बताए । ‘मुख्यमन्त्रीले मलाई फोन गर्नुभयो । हामीले प्रधानमन्त्री आएर मर्यादित ढंगले बोल्नु पर्यो, तितो पोख्ने काम यहाँ गर्नुभएन भनेका छौँ । त्यो कुरा सम्प्रेषण गरेर आश्वस्त पार्नुपर्यो भनेका छौँ । यो विषय प्रधानमन्त्रीलाई जानकारी दिन्छु भन्नुभएको छ,’ उनले भने ।
कांग्रेस–एमालेको ह्विप
उता, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकले मंगलबारको प्रदेश सभा बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको दलका प्रमुख सचेतक विदुर लिङ्थेपले जानकारी दिए ।
नेपाली कांग्रेसले पनि सबैलाई बैठकमा सहभागी हुन निर्देशन दिएको प्रमुख सचेतक गोपाल तामाङले बताए । दलहरूले सरकार निर्माण र महत्त्वपूर्ण मतदानको समयमा सांसदहरूलाई ह्विप लगाउने गरेका छन् । तर, प्रधानमन्त्रीको सम्बोधनकै लागि ह्विप जारी गरिएको घटना भने नौलो हो ।
प्रदेश सभाको बैठक मंगलबार २ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीले गर्ने सम्बोधनका लागि सबै तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना