बोरामा ३५ वर्षीया महिलाको शव : ६ जना मिलेर गरेका थिए व्यवस्थापन

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती नदीमा महिलाको शव भेटियो । फागुन २४ मा बोरामा प्याक गरेर खुट्टा बाँधेको अवस्थामा शव फेला परेको थियो ।
करिब ३५ वर्षीया मृतकको पहिचान अझै खुलेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले सोमबारसम्म हत्यामा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरेका छन् । तर, पक्राउ पर्नेहरूले हत्या नगरेको बयान दिएका छन् ।
पक्राउ पर्नेमा सर्लाही बागमती गाउँपालिका घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भएकी २० वर्षीया पूजा परियार र मकवानपुरको थाहा नगरपालिका घर भएका १९ वर्षीय पेम्बा लामा छन् । हत्यामा संलग्न आशंकामा एक जना नाबालकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
नदीको बिचमा डुबेको अवस्थामा भेटिएको शव ६ जना मिलेर व्यवस्थापन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । खुट्टा बाँधेको अवस्थामा शव भेटिएको थियो । बलात्कारपछि महिलाको हत्या गरेको प्रहरीको आशंका छ । त्यसबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान हुँदै छ ।’ महिलाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुँदै छ । पोस्टमार्टम रिपोर्ट आएपछि बलात्कार भएको वा नभएको यकिन हुने अनुसन्धान अधिकृतहरू बताउँछन् ।
फागुन २२ मा उनीहरूले महिलाको शव बोरामा प्याक गरेर नदीमा फालेका प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शव फालेको दुई दिनपछि नदीमा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । फागुन २० मा महिलाको मृत्यु भएको पाइएको छ ।
दुईदिन सम्म डेरामा शव
मृतक र आरोपीहरू एउटै समूहका हुन् । उनीहरू अधिकांश समय सडकमा बसेर प्लास्टिक संकलन गर्ने र मजदुरी गर्ने काम गर्छन् । फागुन २० मा उनीहरू गोठाटारस्थित ‘कालिदिदीको खाजा पसल’ मा थिए । दिनभर सँगै मदिरा सेवन गरेर पूजाको डेरामा गए ।
पूजाको डेरा शिवचोकभन्दा पारिपट्टि कार्कीडोलमा थियो । काठमाडौँमा डेरा भएका अर्का व्यक्ति हुन्, पेम्बा लामा । उनले माकलबारीमा डेरा लिएका छन् । अरू कृष्णमन्दिर नजिक गाइफार्मको टहरमा बस्दै आएका थिए ।
खाजा पसलमा मदिरा सेवन गरेर पानीको बोतलमा थप मदिरा लिएर ४ जना पूजाको कोठामा जान्छन् । सँगै जानेहरूमा सुरेश, कैलाश, पूजा र मृतक महिला थिए । दुई जना पुरुष राति नै पूजाको डेरा छाडेर हिँड्छन् । पूजाले प्रहरीसँग भनेकी छन्, ‘बिहान उठाउन खोज्दा शरीर चिसो भएपछि मैले अरूलाई खबर गरेकी हुँ ।’
महिलाको शव दुई दिनसम्म डेरामै राखेर शवको गन्ध फैलिन नदिन धुप बालेका काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
त्यसपछि आरोपीहरूले जोरपाटी चोकबाट बोरा किनेर लान्छन् । खुट्टा बाँधेर बोरामा प्याक गरेपछि झुण्ड्याउँदै नदीमा लगेर व्यवस्थापन गरेपछि उनीहरू फरार भएका हुन् ।
आफ्नो डेरामा महिलाको मृत्यु भएपछि पूजा सिन्धुपाल्चोकस्थित घर तिपिने पुग्छिन् । तिपिनेबाट फर्केर आएपछि उनलाई जडीबुटीबाट पक्राउ गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अन्य आरापीहरू गोठाटारस्थित कृष्ण मन्दिर र माकलबारी क्षेत्रबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका आरोपीहरूले दिउँसो सँगै मदिरा सेवन गरेको स्वीकार गरेका छन् । उनीहरूले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘सँगै रक्सी खाएका हौँ, हत्या गरेको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला