पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियतालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गम्भीर समीक्षा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे समीक्षा भएको हो । पोखराबाट आइतबार काठमाडौँ फर्किएका ज्ञानेन्द्रलाई राजावादीहरूको समूहले त्रिभुवन विमानस्थलमा स्वागतमात्र गरेनन्, ¥यालीसहित निर्मल निवास पुर्याएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वमन्त्री केशरबहादुर विष्ट, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत कट्टर हिन्दुवादीहरू सहभागी थिए । माओवादी केन्द्रका बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिक निकै गम्भीर मोडमा गएकाले सडकमा राजावादीको सक्रियतालाई नजरअन्दाज गर्न नहुने बताएका थिए ।
उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न वामपन्थी शक्ति तथा गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने ब्रिफिङ गरेका थिए । अमेरिकामा अतिवादी डोनाल्ड ट्रम्प सत्तामा पुगेको, मध्यपूर्वमा द्वन्द्व बढ्दै गएको, रुस–युक्रेन युद्ध नयाँ मोडमा पुगेको, छिमेकी भारतमा कट्टर हिन्दुवादीको सरकार रहेका कारण नेपालका प्रतिगामी शक्तिहरू सलबलाउन थालेको प्रचण्डको निष्कर्ष थियो ।
‘केपी ओली नेतृत्व सरकारको नालायकीपनले सडकमा राजावादी शक्ति, प्रतिक्रियावादी तथा प्रतिगामी शक्तिहरू सलबलाउन थालेकोबारे बैठकमा गम्भीर समीक्षा भयो,’ बैठकमा सहभागी एक पदाधिकारीले रातोपाटीसँग भने ।
ती पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले विश्व शक्ति राष्ट्र अमेरिकामा अतिवादी डोनाल्ड ट्रम्पको पुनरोदयले रुस–युक्रेन युद्धले नयाँ मोड लिएकोबारे चर्चा गरेका थिए । ‘संसारभर अतिवादी शक्ति सत्तामा पुगेका छन् । भारतमा कट्टर हिन्दुवादी सत्ता रहेकाले नेपालका राजावादी शक्तिहरू, प्रतिगामी तथा प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेका छन्,’ बैठकमा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै ती नेताले भने, ‘यो निकै गम्भीर विषय हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन । प्रतिगामी शक्तिविरुद्ध हामीले पनि प्रतिरोध गर्नुपर्छ ।’
यसबारे पहिला समाजवादी मोर्चाका नेताहरूसँग छलफल गर्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘हामीले रगत बगाएर ल्याएको गणतन्त्र समाप्त हुने खतरा छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भने, ‘त्यसैले संयुक्त प्रतिरोध गर्नेबारे मोर्चाको बैठकमा छलफल गर्नुपर्छ ।’
प्रचण्डले राजावादीको जुलुसमा भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ र ज्ञानेन्द्रको तस्बिर बोकेको विषय निकै गम्भीर भएको बताएका थिए । यस्तै भारतका पूर्वजनरल डा. जीडी बक्सीले नेपालबारे आइतबार एक्समार्फत दिएको प्रतिक्रिया, नेपाली सेनाको निमन्त्रणामा भारतका पूर्वजनरल नेपाल आएको विषय र ओली सरकारको मौनताबारे प्रचण्डले गम्भीर चासो देखाएको ती नेताले बताए ।
‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा हिन्दराष्ट्र बनाउने विषयमा विभिन्न च्यानलमार्फत सक्रियता देखाएका छन् । भारतका पूर्वजनरल बक्सीले नेपालबारे दिएको अभिव्यक्ति निकै गम्भीर छ । ६ जना पूर्वसेनाध्यक्ष नेपाल आएको विषयले कतै न कतै खिचडी पाक्दैछ भन्ने आशंका उब्जिएको छ’, प्रचण्डले भनेका थिए ।
ओली सरकारले अहिलेसम्म राजावादीलाई मिनिमाइज गरेको देखिए पनि जुनसूकै बेला घुँडा टेक्न सक्नेबारे बैठकमा प्रचण्डले चर्चा गरेको अर्का एक नेताको भनाइ छ ।
‘विदेशी शक्तिको आड–भरोसा, भारतीय कट्टर हिन्दुवादी शक्तिको उक्साहटमा राजावादी र विभिन्न प्रतिगामी शक्ति सलबलाएको देखिन्छ । यद्यपि अहिलेसम्म ओली सरकारले राजावादीहरूलाई मिनिमाइज नै गरेको देखिन्छ,’ प्रचण्डले बैठकमा भनेका थिए ।
कांग्रेस–एमाले आफूलाई अप्ठ्यारो पर्दा अन्तिममा ज्ञानेन्द्रलाई धोका दिएर माओवादीसँग मिल्न आएको जिकिर गर्दै प्रचण्डले फेरि पनि ओली सरकारले राजालाई स्पेस दिने विषयमा घुँडा टेक्न सक्नेतर्फ बैठकमा सचेत गराएको ती नेताले जानकारी दिए ।
के लेखेका थिए बक्सीले ?
राजावादीहरूको काठमाडौँमा गरेको प्रदर्शनसँग सम्बन्धित एउटा समाचारको लिङ्क आफ्नो ‘एक्स’मा शेयर गर्दै बक्सीले पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा चार लाखभन्दा बढी नेपाली जनताले स्वागत गरेको दाबी गरेका छन् ।
कांग्रेसको नेतृत्वमा भारतले नेपालका माओवादीहरूलाई सत्तामा आउन र विश्वको एकमात्र हिन्दु राज्य अन्त्य गर्न मद्दत गरेर ठुलो स्वार्थ पूरा गरेको उनको भनाइ छ । उनले नेपालका जनता अब धूर्त र सबैभन्दा भ्रष्ट साबित भएका ‘चालबाजी’बाट वाक्क भइसकेकाले विष्णुका प्रतीक राजालाई पुनर्स्थापना गर्न आतुर रहेको लेखेका थिए ।
‘कांग्रेसको नेतृत्वमा भारतले नेपालमा माओवादीहरूलाई सत्तामा आउन र विश्वको एकमात्र हिन्दु राज्यको अन्त्य गर्न मद्दत गरेर ठुलो स्वार्थ पूरा गरेको थियो । नेपालका जनता अब माओवादीहरूको धूर्त र सबैभन्दा भ्रष्ट साबित भएका चालबाजीबाट वाक्क भइसकेका छन् । तिनीहरू राजाको पुनरागमनको लागि आतुर छन् । जुनसुकै रूपमा, संवैधानिक राजा, सांस्कृतिक प्रमुख, राजनीतिक दलको संरक्षक– जेसुकै । उहाँ जनताको लागि विष्णुको प्रतीक हुनुहुन्छ र नेपालमा हिन्दु राज्य पुनर्स्थापित गर्ने प्रमुख तत्व हुनुहुन्छ । अन्ततः नेपालका जनता माओवादी र कम्युनिस्टहरू विरुद्ध उठेका देखिन्छन्, जसको वफादारी नेपालसँग भन्दा चीनसँग बढी देखिन्छ । नेपालमा योगी आदित्यनाथका पोस्टरहरू ¥यालीहरूमा देखा परेका छन् । म लामो समयदेखि पीडित नेपाली जनताको मुक्ति र हिन्दु राज्यको पुनर्स्थापनाको लागि प्रार्थना गर्दछु । जनताको इच्छा प्रबल होस् । जनताको आवाज नै ईश्वरको आवाज हो’, बक्सीले लेखेका छन् ।
भारतका पूर्वसेनाध्यक्षको भ्रमणबारे चासो
यसैगरी प्रचण्डले नेपाली सेनाको निमन्त्रणामा केही दिनअघि नेपाल आएका ६ जना भारतका पूर्वसेनाध्यक्षको विषयमा पनि गम्भीर चासो राखेका छन् । महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरू फागुन १३ गते काठमाडौँ आएका थिए ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतीय पूर्वस्थल सेनाध्यक्षहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, डा. विजय कुमार सिंह, दलवीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे र मनोज पाण्डे नेपाल आएका थिए ।
पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित एक महिने ‘जनतासँग माओवादी तराइ–मधेस जागरण अभियान’ स्थगित गरेर आइतबार नै माओवादी काठमाडौँ फर्किएको थियो । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्र जोगाउनका लागि आफूलाई साथ दिन सार्वजनिक आह्वान गरेका थिए । उनको आह्वानबाट राजावादी शक्तिहरू निकै उत्साहित भएका छन् ।
प्रतिगामी शक्तिविरुद्ध माओवादी एक्लैले प्रतिरोध गर्ने कि अन्य वामपन्थी शक्तिसँग मिलेर संयुक्त गर्ने विषयमा छलफल गर्न समाजवादी मोर्चाका नेताहरूसँग छलफल गरेर निर्णय लिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले ओली सरकारको नालायकीले प्रतिगामी शक्तिहरू आशावादी देखिएको तर गणतन्त्रको असली हिमायती माओवादीमा लागेका लाखौँ कार्यकर्ता समाजवाद ल्याउन लामबद्ध भइसकेको दाबी गरे ।
बैठकपछि सापकोटाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले पनि शान्त चित्तपूर्वक सोचे हुन्छ । हिजो आफूले शासन गर्दा कुन स्थिति थियो ? अहिले उहाँलाई बोल्न गणतन्त्रले छुट दिएको छ । संविधान अनुसार बोल्न सबैलाई छुट छ तर विरुद्धमा जान कसैलाई छुट छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट