आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार खेलिएको खेलमा आर्मी क्लबले बागमती प्रदेशलाई एक सय ३४ रनको फराकिलो अन्तरले हरायो ।
जारी प्रतियोगितामा बागमती प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि आइतबार खेलिएको खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई एक सय रनको फराकिलो अन्तरले हराएको थियो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २७ ओभरमै अलआउट हुनुअघि एक सय २८ रनमात्र बनाउन सक्यो ।
आर्मी क्लबको जितमा ओपनर सन्तोष कार्कीले ७६ रनको योगदान गरे । कप्तान विनोद भण्डारीले पनि अविजित ४७ रन बनाए । ओपनर तृतराज दासले ३६ र विवेक यादवले ३० रन बटुले ।
कुशल मल्लले पनि टोलीको खातामा २६ रन थपे । बागमती प्रदेशका बलर रिजन ढकाल, प्रतिश जीसी र इशान पाण्डेले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको बागमती प्रदेशका लागि विवेक मगरले ५१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । आर्मी क्लबका बलर साहब आलमले चार विकेट लिए । आकाश चन्दले पनि तीन विकेट हात पारे । सोमपाल कार्मी, नरेन साउद र बसिर अहमदले एक–एक विकेट कुम्ल्याए ।
यसैगरी, सोमबार नै खेलिएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । दुई खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो पहिलो जित हो । यसअघि आइतबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशसँग ७९ रनले पराजित भएको थियो ।
सोमबारको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले आठ विकेट गुमाएर दुई सय २० रन बनायो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ ओभरमा चार विकेट गुमाएर दुई सय २२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
सुदूरपश्चिम प्रदेशको जितमा किरण ठगुन्नाले उत्कृष्ट शतकीय पाली खेले । उनले अविजित एक सय २१ रन बनाए । उनले एक सय एक बलको सामना गरी ६ छक्का र नौवटा चौका प्रहार गरे । कप्तान नारायण जोशीले पनि अविजित ३८ रनको योगदान गरे ।
त्यसअघि गण्डकी प्रदेशका लागि अर्जुन कुमाल (५७ रन) र दिपक डुम्रे (६० रन) ले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले तीन र नारायण जोशीले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु