सर्त राखेर परमाणु कार्यक्रममाथि अमेरिकासँग वार्ता गर्न तयार भयो इरान

तेहरान । इरानले आइतबार अमेरिकासँग वार्ताका लागि आफ्ना सर्तहरू स्पष्ट पारेको छ । अमेरिकासँगको वार्ताको उद्देश्य केवल आफ्नो आणविक कार्यक्रमको सैन्यीकरण सम्बन्धी चिन्ता हटाउनु हो भने उसले यसलाई स्वीकार गर्ने बारेमा विचार गर्ने बताइएको छ ।
परमाणु कार्यक्रमलाई सैन्यीकरण गरिएला कि भन्ने चिन्ता समाधान गर्ने उद्देश्यले वार्ता गरिने हो भने यसको लागि तयार रहेको इरानको संयुक्त राष्ट्रसङ्घीय मिसनले एक विज्ञप्तिमा भनेको छ ।
तर अमेरिकाले यसलाई अन्त्यै गर्न चाहेको हो भने यस विषयमा कुनै वार्ता नहुने बताइएको छ । बयान जारी हुनु एक दिन अघि इरानका सर्वोच्च नेता अली खामेनीले अमेरिकासँगको वार्ता अस्वीकार गरेका थिए ।
अमेरिकी मागहरू इरानको क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय प्रभाव सीमित गर्न सम्बन्धित हुने र यो इरानलाई स्वीकार्य नभएको खामेनीले भनेका थिए । तर, आइतबार जारी गरिएको आफ्नो विज्ञप्तिमा इरानले वार्ताबारेमा स्पष्ट पारेको छ ।
वार्ताको उद्देश्य इरानको आणविक कार्यक्रमलाई शान्तिपूर्ण राख्ने चिन्तालाई सम्बोधन गर्नु हो भने त्यसलाई विचार गर्न सकिने विज्ञप्तिमा भनिएको थियो ।
वार्ता इरानको शान्तिपूर्ण आणविक कार्यक्रमलाई समाप्त पार्ने उद्देश्यले भयो भने यस्तो वार्ता कहिले पनि नहुने पनि स्पष्ट बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि इरानको परमाणु कार्यक्रम रोक्ने नयाँ सम्झौताको माग गरेका थिए ।