सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

‘समस्या वयस्कले सिर्जना गर्ने, समाधान बालबालिकाबाट खोज्ने !

विद्यार्थीलाई बोझमाथि बोझ

सोमबार, २६ फागुन २०८१, १४ : ०३
सोमबार, २६ फागुन २०८१

आजभोलि कुनै विकृति–विसंगति रोक्न सकिएन भने त्यसको उपायको रूपमा साना विद्यार्थीलाई प्रयोग गर्ने प्रवृत्ति बढेको छ । 

उदाहरणका लागि — जरिवानाको दर बढाइयो, प्रहरीको संख्या थपियो, सार्वजनिक सचेतना गरियो र प्रविधि यन्त्र उपकरणको प्रयोग पनि बढाइयो तर ट्राफिक नियमको पालना गराउन सकिएन । 

त्यस्तै सबै उपाय लागु गर्दा पनि लागुऔषध प्रयोग, फोहोरमैला, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन । यस्तो अवस्थामा स्कुले विद्यार्थीको पाठ्यक्रममा यी विषय राखेपछि समाधान हुन्छ भन्ने सोचाइ व्याप्त भएको छ ।

अरु पनि थुप्रै उदाहरण छन् । भाषा, संस्कृति लोप हुन लाग्यो; त्यसैले कक्षा १ देखि भाषा–संस्कृति पढाउनुपर्छ । सेयर बजारमा मानिसको रुचि जगाउनुपर्छ, त्यसैले स्कुलको कोर्समा सेयर शिक्षा राख्नुपर्छ । सहकारी ठगी बढ्यो, स्कुलबाटै सहकारी शिक्षा दिनुपर्छ । सामाजिक सद्भाव बिथोलियो, स्कुलको कोर्समा समेट्नुपर्छ । यावत् समस्याको समाधानका लागि विद्यार्थीमा निर्भर हुने प्रवृत्ति बढ्दो छ ।

समस्या वयस्कले सिर्जना गर्ने, अनि समाधान बालबालिकाबाट खोज्ने गरिन्छ । यो कतिको सम्भव र व्यावहारिक काम हो ? शासक र विज्ञ सम्मिलित गोष्ठी, अन्तक्र्रिया र विचार–मन्थन कार्यक्रममा नेपालमा जता पनि विकृति, विसंगति र समस्या रहेको औँल्याइन्छ । यसलाई कानुन, संस्थागत संयन्त्र र प्रविधिले मात्र सुधार गर्न सम्भव भएन । सामाजिक रूपान्तरण प्राथमिक उपाय हो । ठुला मानिसलाई जति चेतना दिए पनि परिवर्तन हुँदैनन्, किनकि उनीहरूको संस्कार बनिसकेको हुन्छ । त्यसैले खाली दिमाग भएका कलिला बालबालिकाको दिमागमा यी कुरा भर्नुपर्छ भन्ने निष्कर्ष प्रायः गोष्ठीमा निकालिन्छ । 

भाषा, संस्कृति लोप हुन लाग्यो; त्यसैले कक्षा १ देखि भाषा–संस्कृति पढाउनुपर्छ । सेयर बजारमा मानिसको रुचि जगाउनुपर्छ, त्यसैले स्कुलको कोर्समा सेयर शिक्षा राख्नुपर्छ । सहकारी ठगी बढ्यो, स्कुलबाटै सहकारी शिक्षा दिनुपर्छ । सामाजिक सद्भाव बिथोलियो, स्कुलको कोर्समा समेट्नुपर्छ । यावत् समस्याको समाधानका लागि विद्यार्थीमा निर्भर हुने प्रवृत्ति बढ्दो छ ।

शिक्षा मन्त्रालय, पालिका, पाठ्यक्रम विकास केन्द्रमा यो विषय आधारभूत तहदेखि नै पढाउनुपर्‍यो भन्ने माग र सुझावको चाङ लाग्छ । अहिले पनि साना विद्यार्थीले ६–७ वटा पुस्तक र त्यति नै कापी बोकेर स्कुल जानुपर्छ । बजारमा आएका सुझाव अनुसार किताब र पाठ थप्ने हो भने किताबको संख्या र पाना कति बढ्लान् ? कक्षा ३ को पुस्तक स्कुल पुर्‍याउन तीनजना मान्छे चाहिन सक्छ ।
विभिन्न गैरसरकारी संस्था र पालिकाले अतिरिक्त क्रियाकलाप र सचेतनामूलक कार्यक्रमका नाममा निकै समय खपत गरेको पाइन्छ । दुव्र्यसनी, वैदेशिक रोजगार, घरेलुहिंसा, महिलाहिंसा, ट्राफिक नियम पालना, फोहोर व्यवस्थापन, वातावरण संरक्षण — अनेक नाममा स्कुलमा कार्यक्रमको चाप छ । ती कार्यक्रमको प्राथमिक उद्देश्य समाज रूपान्तरण हो कि बजेट खर्च र कमिसन भन्ने प्रश्न अलग्गै छ । जे भए पनि विद्यार्थीलाई भार परेकै छ । 

नेपालमा स–साना स्कुले विद्यार्थीलाई दैनिक कापी–किताब स्कुल लैजाने र घर फिर्ता ल्याउनुपर्ने बाध्यता छ । स्कुलको मुख्य काम गृहकार्य दिने हुन्छ । ठुला मानिसले अफिसका फाइल बोकेर घर जान्छन् ? कतिपय कर्मचारीले कार्यालय समयपछि फोन त रिसिभ गर्दैनन् । विद्यार्थीलाई होमवर्क आफैँमा अनाश्यक बोझ भइसकेको छ । त्यसमाथि राज्यका विकृति–विसंगति र समस्या समाधानको बोझ पनि यिनलाई थप्दा कति न्याय होला ?

स्कुलमा पुस्तक सीमित हुनुपर्छ । प्राथमिक रूपमा विद्यार्थीले सिक्नुपर्ने भनेको गणित र एउटा भाषा हो । उमेर बढेसँगै विज्ञान विषय सिक्ने हो । नेपाली भाषा मात्र जानेर विश्वस्तरीय जनशक्ति बन्न नसकिने हुँदा अंग्रेजी भाषा समेत पढ्नुपर्ने बाध्यता छँदै छ । त्यसमाथि बाबुआमाले बिर्सिसकेको प्रयोग नहुने पुरानो जातीय भाषालाई स्कुलहरूले अनिवार्य गरेर तीनवटा भाषाका पुस्तक अनिवार्य पढाइरहेका छन् ।

स्थानीय भाषा उनीहरूका लागि आवश्यक हो, जसलाई नेपाली भाषा बोल्न आउँदैन । उदाहरणका लागि कतिपय मधेशी समुदायमा नेपाली भाषा कम प्रचलनमा छन् । त्यहाँ पनि विद्यार्थीलाई मैथिली भाषा अनिवार्य गर्ने होइन । त्यहाँका शिक्षकलाई चाहिँ मैथिली सिकाउनुपर्छ । गणित, विज्ञान पढाउने शिक्षकले पनि मैथिलीमा विद्यार्थीलाई बुझाउन सक्नुपर्छ ।

आध्यात्मिक प्रवचनमा वृद्धवृद्धा सहभागी हुने गरेको पाइन्छ । अब साना विद्यार्थीलाई नैतिक शिक्षा दिने कुरा हुँदै छ । दूराचार र भ्रष्टाचार वयस्कले गर्ने, नैतिक शिक्षा बालबालिका र वृद्धवृद्धाले लिएर समस्या समाधान हुन्छ ? विलासी जीवन र तडक–भडकलाई समाजले उच्च सम्मान र आदर गर्ने अनि साना बालबालिकालाई फलानो अंकल र आन्टीले यत्रो सम्पत्ति कहाँबाट कमाउनुभयो भनेर प्रश्न गर्न सिकाउने ?

समाज र विद्यार्थीबिच थोरै मात्र ग्याप राखेर पठनपाठन गरियो भने त्यसलाई पुर्न विद्यार्थीले भूमिका निर्वाह गर्न सक्छन् । ग्याप ठुलो भयो भने विद्यार्थी त्यही खाडलमा फस्ने जोखिम हुन्छ ।

समस्या जहाँ परेको हो, समाधान त्यहीँ खोज्नुपर्छ । पहिला बालबालिका सुध्रेपछि अरु सुध्रिन्छन् भन्ने सोचाइ व्यावहारिक र सम्भव देखिँदैन । विदेशमा अनुशासित र नैतिक संस्कारमा हुर्केका बालबालिका नेपालमा आए भने दैनिक जीवनयापन गर्न कठिन हुन्छ । उदाहरणका लागि — नियम अनुसार सडक क्रस गर्छु भनेर पर्खने हो भने घन्टौँसम्म बाटो वारी नै भइन्छ । यात्रा गर्दा शौचालयमै दिसा–पिसाब गर्छु भन्दा यात्राभरि नै च्यापेर बस्नुपर्ने हुन्छ । भएका शौचालयमध्ये एक प्रतिशत पनि बालमैत्री छैनन् ।

फोहोर जथाभावी फाल्दिनँ भन्ने हो भने फोहोरले गोजी भरिन्छ तर फाल्ने ठाउँ कहीँ भेटिँदैन । समाजको यथार्थ र कलिला विद्यार्थीमा धेरै ग्याप सिर्जना गरियो भने त्यसले अन्ततः झनै नकारात्मक असर गर्छ । अहिले नै पनि स्कुलको शिक्षा राम्ररी लिएर व्यवहार लागु गर्न खोज्ने बालबालिकालाई दैनिक सामाजिक जीवनयापन गर्न कठिन भएको देखिन्छ । स्कुलमा थप्ने भनिएका विषयवस्तुले यो समस्या अझ बढाउँछ ।

शिक्षाले ज्ञान, सीप र संस्कार तीनवटै कुरा सिकाउने हो । सानै उमेरदेखि असल संस्कार सिकाउने कुरा नराम्रो होइन तर संस्कार ठुला मानिसले व्यवहारमा अभ्यास गरेर देखाएर सिकाउने हो । विद्यार्थीलाई स्कुलमा पढाउने, परीक्षामा लेख्न लगाउने र व्यवहारमा गर्न लगाउने तर त्यो काम शिक्षक, अभिभावक, कर्मचारी आफूले नगर्ने भएपछि विद्यार्थीले प्रयत्न गरेर हुन्छ ?

विद्यार्थीलाई सिकाएपछि उनीहरूले अभिभावकलाई सिकाउँछन् भन्ने मान्यता छ । उदाहरणका लागि हर्न बजाउनु हुँदैन भन्ने विद्यार्थीलाई सिकाएपछि उसले बाबुआमाले मोटर चलाउँदा हर्न नबजाउन भन्छ । पटकपटक भनेपछि अभिभावकले सुधार गर्छन् भन्ने मान्यता राखिन्छ ।

वास्तवमा ट्राफिक नियम पालना गराउने सबैभन्दा उत्तम उपाय माथिको होइन । नियम पालना गराउने कर्तव्य सरकारको हो । सरकारी पदाधिकारी र कर्मचारीलाई कडाइका साथ नियमपालन गर्न लगाउँदा बढी नतिजा आउँछ । सुधार चाहनेले पहिले आफूबाट सुरु गर्नुपर्छ । माथिल्लो पदमा बस्नेले आफूले हर्न नबजाउने, आफू मातहतले बजाएमा विभागीय कारबाही गर्ने गरी नीति बनाउने र कार्यान्वयन गर्ने हो भने हर्न बजाउने सर्वसाधारणलाई सहजै नियन्त्रणमा लिन सकिन्छ ।

सुधारको प्रयत्न सबै तरिकाले गर्नुपर्छ । सुधारको नेतृत्व गर्ने दायित्व सरकारको हो । नेतृत्वले चाहेन भने नागरिक समाजले दबाब सिर्जना गरेर पनि सरकारलाई जिम्मेवार बन्न बाध्य पार्नुपर्छ । विद्यार्थी पनि समाज रूपान्तरणका वाहकका रूपमा विकास गर्नु राम्रो कुरा हो तर मुख्य बोझ बोक्ने दायित्व सरकारी पदमा बस्ने पदाधिकारीको हो । 
सरकारी संयन्त्रमा सुधार गर्न नसक्ने, समाजमा सुधार गर्न नसक्ने, विश्वविद्यालयका विद्यार्थीलाई प्रभावित पार्न नसक्ने अनि प्रतिरोध र प्रतिवाद गर्न नसक्ने साना स्कुले बालबालिकालाई पाठ्यक्रमको भार थप्ने विधि उचित होइन । समाज र विद्यार्थीबिच थोरै मात्र ग्याप राखेर पठनपाठन गरियो भने त्यसलाई पुर्न विद्यार्थीले भूमिका निर्वाह गर्न सक्छन् । ग्याप ठुलो भयो भने विद्यार्थी त्यही खाडलमा फस्ने जोखिम हुन्छ ।

कोर विषयहरू विद्यालयमा सिक्ने हो, जुन घर परिवार र समाजमा सिक्न सकिँदैन, जसका लागि विशेष गुरु र पाठ्यपुस्तक चाहिन्छ । सामाजिक, सांस्कारिक र नैतिकताका कुरा घर–परिवार र समाजले बालबालिकालाई सिकाउने हो । बालबालिकालाई इच्छा अनुसार गर्न स्वतन्त्र छाड्ने हो, उनीहरूलाई जिज्ञासु बन्ने अवसर दिने हो । उनका माग अरुले पूरा गर्ने हो । उल्टो उनीहरूमाथि नै अरुले आस र अपेक्षा गर्ने होइन ।

संस्कार सिकाउन पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ नै थप्नुपर्छ भन्ने छैन । भाषा, व्याकरण, हिसाब, विज्ञान विषयमै समाज उपयोगी पाठ र वाक्यहरू प्रयोग गर्नुपर्छ ताकि ज्ञान हासिल गर्दा स्वतः संस्कार निर्माणमा पनि सहयोग पुगोस् तर कोर विषयभन्दा सामाजिक सुधारका विषयको भार बढी पर्ने गरी साना विद्यार्थीलाई नियमित र अतिरिक्त क्रियाकलाप गराइनु हुन्न । स्कुलको शिक्षा र घरको वातावरणबिच ठुलो खाडल सिर्जना गर्नु हुँदैन । कलिला बालबालिकाको शारीरिक, मानसिक आवश्यकता र क्षमतालाई चिनेर उपयुक्त हुनेसम्मको मात्र ग्याप राख्नुपर्छ ।
(Photo credit: Getty Images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश घिमिरे
रमेश घिमिरे
लेखकबाट थप

छुटाउनुभयो कि ?