सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

अमेरिकी अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा छ : ट्रम्प

सोमबार, २६ फागुन २०८१, १४ : ०१
सोमबार, २६ फागुन २०८१

वासिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल बढाउने आफ्नो कदमको बचाउ गरेका छन् । केही निकट व्यापार साझेदारहरूमाथि अतिरिक्त महसुल थोपर्ने उनको नीतिका कारण अमेरिकी अर्थतन्त्रले मन्दीको सामना गरिरहेको वा महँगी आकाशिरहेको भन्दै ट्रम्प प्रशासनको चर्को आलोचना भइरहँदा ट्रम्पले यी भनाइहरू ठाडै अस्वीकार गरेका हुन् ।

यो वर्ष अमेरिकी अर्थतन्त्र मन्दीमा जाला त भनेर सोधिएको प्रश्नमा अहिले अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा रहेको जवाफ दिएका थिए ।  वाणिज्य मन्त्री होवार्ड लुटनिकले चाँहि केही वस्तुको सामान बढे पनि अमेरिकी अर्थतन्त्र नखुम्चिने जिकिर गरे । ट्रम्पले क्यानडा, मेक्सिको लगायत देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल बढाएलगत्तै अमेरिकी शेयर बजारमा पहिरो गएको थियो ।

यस्तैमा अर्थतन्त्र मन्दीमा जान सक्ने अफवाह फैलिएपछि ट्रम्प र लुटनिकले ती अफवाहको खण्डन गरेका हुन् । जस्तालाई त्यस्तै व्यवहार गर्दै सोमबारदेखि चीनले पनि अमेरिकाबाट आउने कृषिजन्य सामानमा अतिरिक्त भन्सार महसुल लगाएको छ । 

‘यस्तो कुराको प्रक्षेपण गर्न मलाई फिटिक्कै मन पर्दैन । सङ्क्रमणकालीन समय चलिरहेको छ, किनकि हामीले जे गरिरहेका छौँ त्यो निकै व्यापक छ । हामीले सम्पत्ति पुनः अमेरिका फिर्ता ल्याइरहेका छौँ । यो त निकै ठुलो कुरा हो ।’ बिहीबार फक्स न्युजमा रेकर्ड भएको तर आइतबार प्रसारणमा आएको एक अन्तरवार्तामा ट्रम्पले भनेका थिए । स्थिति साम्य हुने केही समय लाग्ने तर यो आफूहरूलाई लागि निकै राम्रो हुनेमा ट्रम्पले जोड दिए । 

गएको हप्ता अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको थियो । तर त्यसको दुई दिनपछि नै यीमध्ये कयौँ वस्तुमा लगाएको अतिरिक्त भन्सार महसुल रोकियो ।

चीनले प्रतिकारात्मक कर लगाएपछि ट्रम्पले चीनबाट आउने सामानमा लगाइएको अतिरिक्त भन्सार महसुल दोब्बर बनाएर २० प्रतिशत पुर्‍याएका छन् । सोमबारदेखि चीनमा कुखुरा, बिफ, पोर्क, गहुँ र भटमास लगायत अमेरिकाबाट आउने सामानमा १० देखि १५ प्रतिशत अतिरिक्त महसुल लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?