सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी

तथ्याङ्कमा आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण

चम्किए न्युजिल्याण्डका खेलाडी, उपाधि कुम्ल्यायो भारतले
सोमबार, २६ फागुन २०८१, १४ : ००
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । भारतलाई च्याम्पियन्स बनाउँदै आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सकिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको फाइनल खेलमा न्युजिल्याण्डलाई चार विकेटले हराउँदै भारतीय टोलीले उपाधि हात पारेको हो । 

भारत तीनपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने पहिलो टोली पनि बनेको छ । पहिलो संस्करणदेखि नै च्याम्पियन्स ट्रफीमा सहभागी हुँदै आएको भारतले पहिलो पटक सन् २००२ मा आयोजित तेस्रो संस्करणको उपाधि चुमेको थियो । 

icc champions troply

त्यतिबेला आयोजक श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अर्को दिन फाइनल खेल राखिएको थियो । दोस्रो दिनको फाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो । 

च्याम्पियन्स ट्रफीको इतिहासमा दुईवटा राष्ट्रलाई संयुक्त रूपमा विजेता घोषित गरिएको यो पहिलो पटक थियो । च्याम्पियन्स ट्रफीमा भारतले पहिलो उपाधि चुम्दा सौरभ गांगुली कप्तान थिए । 

यसैगरी, सन् २०१३ मा भारतले दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । त्यतिबेला भारतले फाइनलमा आयोजक इंग्ल्याण्डलाई पाँच रनले हराउँदै उपाधि हात पारेको थियो । त्यतिबेला भारतीय टोलीका कप्तान थिए, महेन्द्रसिंह धोनी । 

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा कुल १५ खेल खेलियो । प्रतियोगिताका खेलहरू पाकिस्तानका तीन र संयुक्त अरब इमिरेट्सको एक स्टेडियममा खेलाइएको थियो । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

rohit sharma

समूह ‘ए’ बाट भारत पहिलो र न्युजिल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । भारतले पाँचवटै खेल जित्दै नवौँ संस्करणको उपाधि कुम्ल्याएको हो । समूह ‘बी’ बाट भने दक्षिण अफ्रिका पहिलो र अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । 

सेमिफाइनलमा भारतले दुईपटकको च्याम्पियन अस्ट्रेलियालाई चार विकेटले र न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले हराएका थिए । जारी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सम्पूर्ण खेल यूएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्यो ।

सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमणमा नगएपछि भारतीय टोलीले यस्तो अवसर पाएको थियो । नवौँ संस्करणमा भारतले सम्पूर्ण खेल एउटै स्टेडियममा खेल्ने अवसर पाएको भन्दै विभिन्न टोलीका वर्तमान र पूर्वखेलाडीले विरोध पनि गरेका थिए ।

अन्य सात टोलीले भने फरक चरित्र बोकेका फरक रंगशालामा खेल्नु परेको थियो । अन्य टोलीले एक खेलपछि अर्को खेल खेल्न विभिन्न सहरको यात्रा गर्नु परेको थियो । तर, भारतीय टोलीले भने एउटै स्टेडियममा खेल्न पाउँदा त्यहाँको पिचसँग अभ्यस्त हुने अवसर पाएको भन्दै विरोध भएको थियो । 

च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सम्पन्न भएपछि प्रतियोगिताको बारेमा संक्षेपमा यहाँ उल्लेख गर्न खोजिएको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान, विकेट लिने बलर, सबैभन्दा ठुलो स्कोर बनाउने टोलीलगायतका विषयमा यहाँ चर्चा गरिएको छ । 

  • सर्वाधिक रन बनाउने रचिन रवीन्द्र

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्र पहिलो स्थानमा रहे । उनले चार खेलमा कुल दुई सय ६३ रन बनाए । यस क्रममा उनले दुईवटा शतक पनि हिर्काए । एउटै खेलमा उनको उच्च स्कोर एक सय १२ रन रह्यो ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा भारतका श्रेयष ऐयर दोस्रो स्थानमा रहे । उनले पाँच खेलमा कुल दुई सय ४३ रन बनाए । उनले दुईवटा अर्धशतक प्रहार गरे । यो सूचिमा तेस्रो स्थानमा इंग्ल्याण्डका बेन डकेट रहे । उनले तीन खेलमा दुई सय २७ रन बनाए ।

यसैगरी, सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा आसिन इंग्ल्याण्डका जो रुटले तीन खेलमा कुद दुई सय २५ रन बनाए । भारतका विराट कोहली पाँच खेलमा कुल दुई सय १८ रन बनाउँदै पाँचौँ स्थानमा रहे । 

  • सर्वाधिक विकेट म्याट हेनरीको नाममा

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सर्वाधिक विकेट लिने बलर पनि न्युजिल्याण्डकै म्याट हेनरी हुन् । उनले चार खेलमा कुल १० विकेट लिए । घाइते भएका कारण उनले फाइनल भने खेल्न सकेनन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन भने ४२ रन खर्चिएर पाँच विकेट रह्यो । 

matt henry

सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा भारतका वरुण चक्रवर्ती रहे । उनले तीन खेलमा नौ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शन ४२ रन खर्चिएर पाँच विकेट हो । यो सूचिमा तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सामीले पनि पाँच खेलमा नौ विकेट लिए ।

यसैगरी, सर्वाधिक विकेट लिने बलरको चौथो स्थानमा न्युजिल्याण्डका मिचेल सान्टनर रहे । उनले पनि पाँच खेलमा कुल नौ विकेट हात पारे । यो सूचिमा न्युजिल्याण्डकै माइकल ब्रेसवेल पाँचौँ स्थानमा रहे । उनले पाँच खेलमा आठ विकेट हात पारे । उत्कृष्ट प्रदर्शन गर्ने माथिल्ला पाँच बलरमध्ये तीनजना न्युजिल्याण्डका रहे । 

  • सबैभन्दा ठुलो स्कोर बनाउने न्युजिल्याण्ड

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सबैभन्दा ठुलो स्कोर बनाउने टोली पनि न्युजिल्याण्ड नै रह्यो । किवी टोलीले दक्षिण अफ्रिकाविरुद्धको खेलमा केवल ६ विकेट गुमाएर तीन सय ६२ रन बनाएको थियो । 

kane williamson

दोस्रो ठुलो स्कोर बनाउने टोली अस्ट्रेलिया हो । अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो । तेस्रो ठुलो स्कोर इंग्ल्याण्डको नाममा रह्यो । इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्धको खेलमा आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । 

चौथो ठुलो स्कोर बनाउने टोली अफगानिस्तान हो । अफागानिस्तानले इंग्ल्याण्डविरुद्धको खेलमा सात विकेट गुमाएर तीन सय २५ रन बनाएको थियो । पाँचौँ ठुलो स्कोर न्युजिल्याण्डले बनायो । किवी टोलीले पाकिस्तानविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो । 

  • अधिकांश ठुला स्कोर गद्दाफी स्टेडियममा

च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा विभिन्न टोलीले आठपटक तीन सयभन्दा बढीको स्कोर बनाए । त्यसमध्ये अधिकांश ठुला स्कोर पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा बनेको हो । 

न्युजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ विकेट गुमाएर तीन सय ६२ रन बनाएको थियो । त्यो खेल गद्दाफी स्टेडियममै खेलिएको छ । अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध पाँच विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो । त्यो खेल पनि गद्दाफी स्टेडियममै खेलिएको थियो ।

इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । त्यो खेल पनि लाहोरमै खेलिएको थियो । अफागानिस्तानले इंग्ल्याण्डविरुद्ध सात विकेट गुमाएर तीन सय २५ रन बनाएको थियो । त्यो खेल पनि लाहोरमै खेलिएको थियो ।

glenn maxwell

न्युजिल्याण्डले पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो । त्यो खेल भने कराँचीस्थित नेशनल स्टेडियममा खेलिएको थियो । इंग्ल्याण्डले अफगानिस्तानविरुद्ध तीन सय १७ रन बनाएको थियो । त्यो खेल गद्दाफी स्टेडियममा खेलिएको थियो ।

यसैगरी, दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध ६ विकेट गुमाएर तीन सय १५ रन बनाएको खेल भने कराँचीमा खेलिएको थियो । दक्षिण अफ्रिकाले न्युजिल्याण्डविरुद्ध नौ विकेट गुमाएर तीन सय १२ रन बनाएको खेल भने लाहोरको गद्दाफी स्टेडियममा खेलिएको थियो ।

  • ठुलो अन्तरको जित दक्षिण अफ्रिकाको नाममा

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सबैभन्दा ठुलो अन्तरको जित दक्षिण अफ्रिकी टोलीको नाममा रह्यो । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई एक सय सात रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यो सबैभन्दा ठुलो रन अन्तरको जित थियो ।

396977

विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित पनि दक्षिण अफ्रिकी टोलीकै नाममा रह्यो । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई सात विकेटले हराएको थियो । विकेटका आधारमा त्यो नै सबैभन्दा ठुलो अन्तरको जित थियो । 

  • रचिनको दुईसहित कुल १४ शतक

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा १३ ब्याट्सम्यानले कुल १४ वटा शतक प्रहार गरे । न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्रले दुईवटा शतक बनाए । दुईवटा शतक बनाउने उनी एकमात्र ब्याट्सम्यान हुन् । 

rachin

रचिन आईसीसीद्वारा आयोजित दुई ठुला एकदिवसीय प्रतियोगिता विश्वकप र च्याम्पियन्स ट्रफीको ‘डेब्यू’ खेलमै शतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान पनि बने । उनले सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको ‘डेब्यू’ खेलमा शतक बनाएका थिए ।

त्यसपछि उनले च्याम्पियन्स ट्रफीको ‘डेब्यू’ खेलमा पनि शतक बनाए । यस्तो सफलता हात पार्ने उनी एकमात्र खेलाडी हुन् । रचिनको दुईसँगै च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा अस्ट्रेलियाका जस इङ्लिस, बंगलादेशका तोहिद हृदोय र इंग्ल्याण्डका बेन डकेटले पनि एक–एक शतक प्रहार गरे ।

यसैगरी, अफगानिस्तानका इब्राहिम जदरान, दक्षिण अफ्रिकाका डेभिड मिल्लर, दक्षिण अफ्रिकाकै रायन रिकल्टन, इंग्ल्याण्डका जो रुट, भारतका विराट कोहली, न्युजिल्याण्डका टम लाथम, भारतका शुभमत गिल, न्युजिल्याण्डका केन विलियम्सन र न्युजिल्याण्डकै विल योङले पनि एक–एक शतक बनाए । 

  • डुसेनको तीनसहित ३० अर्धशतक 

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा कुल ३० वटा अर्धशतक प्रहार भए । दक्षिण अफ्रिकी खेलाडी राशी भान डेर डुसेनले सर्वाधिक तीनवटा अर्धशतक बनाए । यसका अतिरिक्त भारतका श्रेयष ऐयर, अस्ट्रेलियाका एलेक्स केरी र दक्षिण अफ्रिकाका टेम्बा बाभुमाले दुई–दुई अर्धशतक बनाए । 

397715

यसका अतिरिक्त, जो रुट, विराट कोहली, टम लाथम, केन विलियम्सन, रोहित शर्मा, ग्लेन फिलिप्स, ड्यारल मिचेल, अजमतुल्लाह ओमरजाई, जाकेर अली, खुसदिल शाह र रहमत शाहले पनि एक–एक अर्धशतक हिर्काए । 

यसैगरी, सदिकुल्लाह अटल, ट्राभिस हेड, स्टिभन स्मिथ, बाबर आजम, एडेन मारक्रम, म्याथ्यू सर्ट, माइकल ब्रासवेल, नजमुल होसैन सान्तो, साउद सकिल र हेनरिक क्लासेनले पनि एक–एक अर्धशतक प्रहार गरे ।

  • उच्च स्कोर इब्राहिम जदरानको नाममा

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अफगानिस्तानका इब्राहिम जदरान हुन् । उनले लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिएको इंग्ल्याण्डविरुद्धको खेलमा एक सय ७७ रन बनाएका थिए । 

ibrahim zadran

यो सूचिमा दोस्रो स्थानमा इंग्ल्याण्डका बेन डकेट छन् । डकेटले लाहोरमा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा एक सय ६५ रन बनाएका थिए । तेस्रो स्थानमा रहेका अस्ट्रेलियाका जस इङ्लिसले लाहोरमै खेलिएको इंग्ल्याण्डविरुद्धको खेलमा अविजित एक सय २० रन बनाएका थिए ।

  • विराट र विलियम्सनले लिए सर्वाधिक क्याच

virat kohli

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सर्वाधिक क्याच लिने खेलाडी भारतका विराट कोहली र न्युजिल्याण्डका केन विलियम्सन हुन् । विराटले पाँच खेलमा सातवटा क्याच लिए । विलियम्सनले पनि पाँच खेलमा सातवटा क्याच लिएका थिए । न्युजिल्याण्डका रचिन रवीन्द्र र न्युजिल्याण्डकै ग्लेन फिलिप्सले पनि पाँच–पाँचवटा क्याच लिएका थिए ।  

  • सर्वाधिक सफल विकेटकिपर केएल राहुल

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा भारतका केएल राहुल सबैभन्दा सफल विकेटकिपर बने । उनले पाँच पालीमा विभिन्न टोलीका ६ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । उनले पाँचवटा क्याच लिएका थिए भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका थिए । यो सूचिमा दोस्रो स्थानमा रहेका न्युजिल्याण्डका टम लाथमले चार ब्याट्सम्यानलाई पेभेलियन फर्काए । 

omarzai

  • सर्वाधिक छक्का ओमरजाईको नाममा

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी अफगानिस्तानका अजमतुल्लाह ओमरजाई हुन् । उनले तीन खेलमा कुल आठवटा छक्का हिर्काए । दोस्रो स्थानमा रहेका न्युजिल्याण्डका ग्लेन फिलिप्सले पनि पाँच खेलमा आठवटा छक्का प्रहार गरे । अफगानिस्तानका इब्राहिम जदरान र दक्षिण अफ्रिका रासी भान डर डुसेनले सात–सातवटा चौका हिर्काए ।

  • सर्वाधिक चौका प्रहार गर्ने रचिन रवीन्द्र

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी न्युजिल्याण्डका रचिन रवीन्द्र हुन् । रचिनले आफूले खेलेको चार खेलमा कुल २९ वटा चौका प्रहार गरेका थिए । यो सूचिमा दोस्रो स्थानमा इंग्ल्याण्डका बेन डकेट रहेका छन् । डकेटले तीन खेलमा २५ वटा चौका प्रहार गरे । तेस्रो स्थानमा रहेका भारतका रोहित शर्माले पाँच खेलमा २१ वटा चौका हिर्काए ।

kane rachin

  • रचिन र विलियम्सनबिच सबैभन्दा ठुलो साझेदारी

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सबैभन्दा ठुलो साझेदारी गर्ने ब्याट्सम्यान न्युजिल्याण्डका रचिन रवीन्द्र र केन विलियम्सन हुन् । यी दुई ब्याट्सम्यानले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दोस्रो विकेटका लागि एक सय ६४ रनको साझेदारी गरेका थिए । यो सूचिमा दोस्रो स्थानमा इंग्ल्याण्डका ब्याट्सम्यान जो रुट र बेन डकेट छन् । यी दुई ब्याट्सम्यानले अस्ट्रेलियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि एक सय ५८ रनको साझेदारी गरेका थिए । 

  • यो खराब कीर्तिमान अस्ट्रेलियाको नाममा

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करणमा एउटै पालीमा सर्वाधिक अतिरिक्त रन दिने खराब कीर्तिमान भने अस्ट्रेलियाको नाममा लेखिन पुग्यो । अस्ट्रेलियाका बलरहरूले अफगानिस्तान विरुद्धको खेलका क्रममा अतिरिक्त रूपमा ३७ रन दिएका थिए । 

  • विधागत पुरस्कारमा न्युजिल्याण्डको दबदबा

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको उपाधि भारतले जिते पनि विधागत पुरस्कारमा भने न्युजिल्याण्डका खेलाडीहरूको दबदबा रह्यो । नवौँ संस्करणमा ‘गोल्डेन ब्याट’ र ‘गोल्डेन बल’ दुवै पुरस्कार न्युजिल्याण्डका खेलाडीको पोल्टामा पर्‍यो । 

प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ‘गोल्डेन ब्याट’ र सर्वाधिक विकेट लिने बलरलाई ‘गोल्डेन बल’ प्रदान गरिन्छ । न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अग्रस्थानमा रहे । त्यसैले उनले ‘गोल्डेन ब्याट’ पुरस्कार हात पारे । 

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि न्युजिल्याण्डकै म्याट हेनरी पहिलो स्थानमा रहे । त्यसैले उनले ‘गोल्डेन बल’ पुरस्कार पाए । म्याट हेनरीले चार खेलमा कुल १० विकेट लिए । उनले फाइनलअघि नै १० विकेट लिइसकेका थिए । फाइनलमा उनी टोलीमा थिएनन् । 

नवौँ संस्करणको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि न्युजिल्याण्डका रचिन रवीन्द्रले नै हात पारे । उनले प्रतियोगिता अवधिभरमा चार खेल खेल्दै कुल दुई सय ६३ रन बनाए भने तीन विकेट पनि लिए । उनले पाँचवटा क्याच पनि लिएका थिए ।

ICC Champions Trophy, 2025 ICC Champions Trophy, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?