सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका

सोमबार, २६ फागुन २०८१, १२ : ५०
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो । 

पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको महासचिव देव गुरुङले रातोपाटीलाई बताए । 

‘गणतन्त्रलाई कमजोर बनाउन प्रतिगमनकारी शक्ति सलबलाएको देखिन्छ । यो गम्भीर विषय हो । राजावादी प्रतिगामीको जुलुसमा आदित्यनाथको फोटो बोकेर हिँडेको छ । बाह्य शक्तिको उक्साहटमा पूर्वराजा सक्रिय भएको हुनसक्छ’, उनले भने, ‘राष्ट्रियतालाई कमजोर पार्न र माओवादीले लडेर ल्याएको व्यवस्था उल्टाउन देशी विदेशी शक्तिहरूले खेल्न खोजेको देखिन्छ । केपी ओली सरकारको जनविरोधी गतिविधिका कारण राष्ट्रियता थप सङ्कटमा परेको छ । अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको हामीले निष्कर्ष निकालेका छैनौँ । तर राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन ।’

गुरुङले बैठकमा चैत ५ गते हुने स्ववियु निर्वाचन, तराई मधेस जागरण अभियानबारे समीक्षा भएको बताए । अभियान स्थगित राजावादीको सक्रियताका कारण नभई बैठक बस्नका लागि गरिएको उनले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?