समय नहुँदै फुले आँप र लिची, यो वर्ष कम फल्ने अनुमान

काठमाडौँ । आँप र लिची फुल्न थालेका छन् । यो वर्ष समयअघि नै आँप लिचीलगायत गर्मी मौसममा हुने फल फुल्न लागेका हुन् ।
यसपालि गर्मीयाम छिट्टै सुरु भएकाले पनि फागुनको पहिलो सातादेखि नै आँप र लिचीमा मजुर (फूल) लाग्न थालिसकेका जानकारहरू बताउँछन् ।
पाँच वर्षअघि चैत अन्तिमतिर मात्र लिची र आँप फुल्ने गरे पनि यसपालि फागुनको पहिलो सातादेखि नै फुल्न थालेको मधेस प्रदेशअन्तर्गत कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र बाराका कृषि अर्थ विज्ञ गणेश महरा बताउँछन् ।
उनका अनुसार मौसम परिवर्तनले यस्तो देखिएको हो । ‘छिटो गर्मी हुने भएकाले आँप लिची छिटो फुले,’ उनले भने, ‘पहिला चैत वैशाखसम्म अलि अलि चिसो नै हुन्थ्यो । अहिले चैत अन्तिमसम्म लिची र आँपमा स–साना दाना लागिसके ।’
- ‘यस वर्ष कम आँप फल्छ’
साथै यो वर्ष आँप कम फल्ने पनि महराले बताए । ‘आँप एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम फल्ने हुन्छ,’ उनले भने, ‘यस्तो नेपाली स्थानीय जातका आँपमा हुने गर्छ ।’ एक वर्ष फल्ने अर्को नफल्ने जातका कारण, खाद्य तत्त्वका कारण यस्ता समस्या देखा पर्ने उनको भनाइ छ ।
तर पछिल्लो समय बर्सेनि फल्ने खालका आँपका खेती भने भइरहेका उनले बताए । ‘पहिला आँपमा ट्रेडिसनल जातहरू लगाइन्थ्यो । एक वर्ष अत्यधिक फल्ने, अर्को वर्ष नफल्ने हुन्थ्यो,’ महराले भने, ‘अहिले बजारमा रेगुलर बेयरिङ्ग जातका प्रशस्त आँप छन् ।’
धनुषा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रदीप कुमार यादवले पनि यो वर्ष कम फल लाग्ने वर्ष भएकाले बिरुवामा पर्याप्त फूल आउन नसकेको बताए । ‘जति फूल आइसक्नुपर्ने हो, त्यति आएको छैन,’ उनले भने, ‘गत वर्ष धेरै फलेको थियो । यो वर्ष थोरै फल्छ ।’
- आँप उत्पादन कति ?
नेपालमा करिब ५० हजारभन्दा बढी हेक्टरमा आँपखेती हुने गरेको छ । जहाँ करिब ४० हजार हेक्टरबाट मात्र उत्पादन आएको देखिने गरेको छ । उक्त क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टन हाराहारीमा स्वदेशी आँप उत्पादन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।
नेपालमा हरेक सिजन भारतबाट आँप आयात भइरहेको छ । नेपाली उत्पादन र आयातित आँप गरी देशभर करिब ५ लाख मेट्रिन टन खपत भएको देखिन्छ ।
भारतीय उत्पादनले नेपाली आँप प्रभावित
नेपालमा सिजनमा भारतबाट आउने आँपले नेपाली बजार प्रभावित पार्ने गरेको छ । सिमानामा निगरानी हुन नसक्दा लुकीचोरी भारतबाट आँप भित्रिरहेको छ । भारतमा कृषि उत्पादन लागतमा सरकारको सहुलियतले उत्पादन लागत कम हुँदा उपभोक्ता मूल्य पनि कम हुने अवस्था छ । भारतमा करिब ९० प्रतिशतसम्म आँप उत्पादनमा सरकारले सहुलियत दिने गरेको पाइन्छ । जसका कारण भारतबाट आउने आँपसँग नेपाली बजारले प्रतिस्पर्धा गर्न सकेको देखिँदैन ।
‘यहाँ उत्पादनमा सहुलियत दिइएको छैन । तर दिए पनि केही मात्रामा मात्रै छ मलमा पनि त्यस्तै छ,’ महरा भन्छन्, ‘नेपाली उत्पादन लागत बढी हुन्छ । त्यहाँको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन ।’
नेपालमा दशहरी, बम्बै, मालदह, जर्दा, निलम, अम्रपाली, कलत्तियालगायत जातका आँपको खेती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न
-
राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव